काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई भेटेर अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिवद्धता जनाएका छन्। आज बिहान बालुवाटारमा खेलाडीहरूलाई भेटेर प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका हुन्।
प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्नेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख दिने निर्णय गरिसकेको जानकारी गराएका थिए। उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प थिए।
‘तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’
मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताएका थिए। प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए।