काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ।
मन्त्री पाण्डेलाई बधाइ तथा शुभकामना दिन सिंहदरबार पुगेका समिति पदाधिकारीले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सीधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याउन जोड दिए।
यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ।
परिसंघका तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघ उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानी सम्भावना बढी भएका क्षेत्र हुँदा यसको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए।
छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घन्टाबाट बढाएर १६ घन्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राती १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरे।
उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि नेपालको हवाई टिकट मूल्य महँगो भएकाले त्यसअनुरुप पाहुना भित्र्याउन हुने बताए। हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरवलोकन गर्न आग्रह गरे।
समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्न जरुरी रहेको बताए।
छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। २०८३ भदौसम्म पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए।
सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले मन्त्रीलाई सुझाव तथा बधाइ दिएका थिए।