काठमाडौं। शिवराज पन्तको नाम सुन्ने वित्तिकै नेपालको निजी क्षेत्र नराम्ररी तर्सन्छ। राजस्व अनुुसन्धानमा बसेर उनले चलाएको गैरकानुनी हर्कतबाट निजी क्षेत्र त्रसित मात्रै छैन्, आजित बनेको छ।
सम्पत्ति शुद्धीकरण, आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यलयमा बसेका पन्त बारम्बार राजस्व अनुसन्धान जान लालायीत हुन्छन्। उनको लालायितको प्रमुख कारण त्यहाँ गएर असुली धन्दा चलाउने नै हो।
सम्पत्ति शुद्धीकरणमा बस्दा पनि उनले व्यवसायीलाई बोलाउने, धम्क्याउने र असुली गर्ने गर्थे। आन्तरिक राजस्व कार्यालय कलंकीमा पनि बसेर पनि उनले आफ्नो हर्कतलाई झन व्यापक बनाए।
कलंकी कर कार्यालयको क्षेत्राधिकार कम भएको र उनको असुली धन्दाले व्यापकता पाउन नसकेपछि शक्तिकेन्द्र रिझाएर राजस्व अनुसन्धान पुगेको उनले अहिले दिल खोलेर पिरौती उठाइरहेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन्।
राजस्व अनुसन्धानको मूल्यांकन शाखाको ल्यान्डलाइन नम्बरबाट व्यवसायीलाई फोन गर्ने, उनीहरुको खातापाता माग्ने र होटलमा बोलाएर लेनदेन गर्ने कार्यले सीमा नाघेँको कर्मचारीहरु बताउँछन्।
पन्त राजस्वको क्याडर हुन्। उनका अनैतिक र गैरकानुनी क्रियाकलापबाट त्यहाँ भएका इमान्दार अफिसरको समेत शिर निहुरिएको बताउँछन्।
‘उनी राजस्व अनुसन्धानमा पुग्न जुन मिहिनेत गरेका छन्, त्यसैबाट उनको स्वार्थ झल्किन्छ’ राजस्व अनुसन्धानका एक अधिकृतले भने, ‘गैरकानुनी तवरबाट व्यवसायीमा फाइल माग्ने, त्यो फाइलमा केही नभेटिए अन्य कम्पनीका खातापाता माग्ने र ब्ल्याकमेल गर्ने गरिरहेका छन्।’
यस अघि राजस्व अनुुसन्धान विभागका महानिर्देशक बनिसकेको प्रशासकका अनुसार पन्तकै कारण धेरै राजस्वका क्याडरको बदनाम भइरहेको बताउँछन्। कतिपय प्रशासकले आफू विभागमा पुग्ने वित्तिकै पन्तलाई हटाएका पनि थिए। तर, कतिपय प्रशासकले उनलाई विभाग भित्रन रोकेका हुन्।
तर, नवराज ढुंगाना विभाग पुगेपछि उनैले पन्तलाई त्यहाँ भित्र्याएका थिए। ढुंगानाको कार्यकाल विवादित बनेपछि उनलाई हटाएर चक्र बुढालाई त्यहाँ लगिएको थियो। चक्रका पनि पन्त प्यारा बने। महानिर्देशककै आडमा उनले विभागमा बसेर असुलीधन्दा चलाइरहेका छन्।
पन्तले प्रधानमन्त्री कार्यालयबाट तपाईको फाइलमाथि अनुसन्धान गर्न आदेश आएको भन्दै फाइल मगाउने र बार्गेनिङ गर्ने गरेका छन्। पन्तको असुलीधन्दाबारे सरकार सञ्चालक राम्रोसँग जानकार हुँदा पनि कुनै पनि सरकारले केही गर्न सकेको छैन।
गैरकानुनी रुपमा खातापाता लैजाने र बार्गेनिङ गर्ने
पन्तले विभागीय निर्णय बेगर व्यवसायीसँग खातापाता माग्छन्। एउटा व्यवसायीले सञ्चालन गरेका सबै कम्पनीमाथि गैरकानुनी रुपमा निगरानी राख्ने र ती सबै कम्पनीको खाता माग्ने गरेका छन्।
जबकी, कुनै पनि कम्पनीको अनुसन्धान गर्नुपर्ने भएमा विभागीय निर्णय गराएको पत्र बुझाएर कारोबार खाता लिनुपर्छ। तर, पन्तले खाली पेपरमा तपाईको यो यो कम्पनीको बिक्री खाता चाहियो भनेर माग्ने र बार्गेनिङ गर्ने गर्छन।
विभागमा एक महानिर्देशकका अनुसार, अनुसन्धान अधिकृत महानिर्देशकले तोक्ने हो। जुन कम्पनीमाथि अनुसन्धान गर्नुपर्ने हो, त्यसका लागि पनि विभागको आधिकारिक पत्र दिनुपर्छ। बाँकी कम्पनीको खातापाता लिन पनि कानुन अनुसार निर्णय गरेपछि मात्रै खातापाता लैजान सक्छन्। तर, पन्तले आफूखुसी खातापात लिएर राख्ने र फिरौती उठाउने गरिरहेको व्यवसायीहरुको भनाइ छ। केही महिनाअघि मात्रै पन्तले एक कम्पनीको फाइल गैरकानुनी रुपमा लिए। थप अनुसन्धान गरौ कि यही मिलाउने भनेर बार्गेनिङ गरे।
मालदार अड्डा बन्दै
विभागका कर्मचारी ‘असुली धन्दा’बाट आफूहरु आजित भएको व्यवसायीहरुले गुनासो गरेका छन्। मुलुकमा आर्थिक सुशासन कायम गर्ने मात्रै होइन, अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने दुई ठूला विभागले चलाएको ‘असुली धन्दा’बाट आफूहरुले दुःख पाइएको उनीहरुको गुनासो छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका नाममा व्यवसायीहरुलाई बोलाएर ‘धम्काउने’ र ‘बार्गेनिङ’ गर्ने गरेको व्यवसायीहरुले गुनासो गरेका हुन्।
केही महिना यता राजस्व अनुसन्धान विभागले आफूलाई दुःख दिएपछि माथिल्लो निकायमा निवेदनसमेत हालेको एक व्यवसायीको भनाइ छ। ‘अन्धाधुन्ध छापा मारेर कागजात लगे’ ती व्यवसायीले भने, ‘पछि यतिमा मिल्छ भने ठीक छ हैन भने यति जरिवाना यति कैद भनेपछि हाम्रो म्यानेजर साप आत्तिदै फर्किनु भयो।’
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राइ पन्तको गैरकानुनी धन्दाबारे राम्रोसँग जानकार छन्। पन्तमाथि अख्तियारमै उजुरी परेपछि राइले उनलाई सोधपुछ समेत गरेको बताइन्छ। तर, उनीमाथि अहिलेसम्म कुनै पनि कारबाही नभएको राजस्व क्याडरहरु अच्चम्ति छन्।
केही महिना अघि मात्रै उपत्यका बाहिरका केही जिल्लामा अनुगमनका लागि खटिएका हुनले मनलाग्दी दर्जनौ व्यवसायीहरुको फार्ममा छापा मारेर कागजात ल्याएको र छानविनका नाममा व्यवसायीलाई बोलाएर मिलाएका थिए।
पछिल्लो समय विभाग जान कर्मचारीहरुको ठूलो सोर्सफोर्स लाग्ने गरेको छ। अझ विभागीय नेतृत्वका लागि त निकै ठूलो शक्तिकेन्द्र भएन भने सम्भव नहुने घामजतिकै छर्लङ्ग छ। गफ सुशासनका हाक्ने कामजति कुशासन गर्न थालेपछि राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रियस्तरमासमेत नेपालको छवि धुमलिँदै गएको छ।