काठमाडौं । अध्ययन सकिएका सुरुङ निर्माणमा चासो नदिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले थप नयाँ ठाउँमा अध्ययनको योजना अघि सारिरहेका छन्। विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका अनुसार सम्भाव्यता अध्ययन सकिएका १२ वटा सुरुङ छन्। ३ वटा अध्ययन चरणमा छन् भने थप ३ वटाको भविष्यमै अध्ययन सुरु हुनेछ।
सडक विभागसँग आर्थिक वर्ष २०७६/७७ मा सम्भाव्यता अध्ययन सम्पन्न सुरुङ अहिलेसम्म निर्माण सुरु भएका छैनन्। तर, विभागले सम्भाव्यता अध्ययनको क्रमलाई निरन्तरता दिइरहेको छ।
गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सीडीई) प्रदीप भण्डारीका अनुसार आव २०८०/८१ मा मात्रै ७ वटा सुरुङको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। त्यसबाहेक विगतका वर्षमा अध्ययन भएका तर अहिलेसम्म निर्माण नभएका ५ गरी कुल १२ सुरुङको अध्ययन सकिएको छ। अध्ययन सकिएसँगै ती सुरुङ निर्माणको लागि ठेक्का आह्वान गर्न मिल्ने अवस्थामा छन्।
आव २०८०/८१ मा अध्ययन भएका सुरुङ
केन्द्रले बागलुङ नरेठाटी सुरुङ, प्रबास–जोर्ते (पाल्पा) सडक सुरुङ, रारा राजर्मागको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला ईमिलचा खोला टनेल (सुरुङ मार्ग)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो।
त्यस्तै ताथली–रविओपी सुरुङ, बबई–छिन्च सुरुङ, इलामको सुनमाई राजदुबोल सुरुङ र मझिम्तार–शक्तिखोर सुरुङको पनि अध्ययन गत आवमा सम्पन्न भएको छ। यससँगै यी सुरुङ निर्माणका लागि ठेक्का आह्वान गर्न मिल्ने भएको हो।
विगतमा अध्ययन सकिएका सुरुङ
केन्द्रले नै आव २०७८/७९ मा सुनसरीको धरान लेउती सुरुङमार्ग, कैलाली र डोटीमा पर्ने खुटिया–बिपी नगर–दिपायल सुरुङमार्ग आव २०७९/८० मा केन्द्रले अध्ययन सम्पन्न गरिसकेको छ। सोही वर्ष ललितपुर–काभ्रेपलान्चोक जोड्ने गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्ग र आव २०७६/७७ मा मकवानपुरको कुलेखानी भीमफेदीको सम्भाव्यता अध्ययन गरेको थियो। त्यस्तै आव २०७६/७७ मा जापनिज सहयोग नियोग (जाइका)ले सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङको अध्ययन गरेको पनि सडक विभागले जनाएको छ। तर, ती सुरुङहरू निर्माण गर्ने ठोस योजना विभागले बनाएको छैन।
अध्ययन भइरहेका सुरुङ
अहिले अध्ययनको चरणमा ३ वटा सुरुङ रहेको विकास केन्द्रले जनाएको छ। जसअनुसार हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्ग, दुम्कीबास–बर्दघाट सुरुङ र फुश्रेखोला छोरेपाटन (पोखरादेखि स्यांग्जा) गुडीकोला सुरुङ हुन्। २०८० वैशाखबाट एकसाथ ३ वटै सुरुङ अध्ययन सुरु भएका हुन्। अध्ययन कम्पनीहरूले प्रारम्भिक चरणको रिपोर्ट केन्द्रलाई बुझाइ सकेका छन्।
अध्ययनको तयारी
लम्जुङको बेसिसहर नाल्मबेशी, लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम र पांडीनी गाउँपालिकादेखि दुर्गाफाँटासम्म सुरुङको सम्भाव्यता अध्ययन गराउने तयारी केन्द्रले गरेको सिडिई भण्डारी बताउँछन्।
‘हामीले गत वर्ष नै अध्ययन गर्ने सोचेका थियौं तर, आन्तरिक तयारी पुरा नभएकाले ठेक्का आह्वान भएको छैन अब छिट्टै काम अघि बढ्छ,’ उनले भने। यसबाहेक केन्द्रले नै पाल्पामा सिद्धबाबा सुरुङमार्ग बनाइ रहेको छ। चाइनिज कम्पनीसँग ठेक्का सम्झौता गरी निर्माणाधीन सुरुङको काम १६ प्रतिशत सकिएको सिडिई भण्डारीको भनाइ छ।
किन धेरै सुरुङ अध्ययन?
सम्भाव्यता अध्ययन सम्पन्न भएका १२ सुरुङ निर्माण नगरी थप अध्ययनमा विभागले किन जोड् दिइरहेको छ? जवाफमा विभागका महानिर्देशक रामहरि पोखरेल भन्छन्, ‘सडक निर्माण जस्तो छिट्टै सुरुङ बनाउन सकिँदैन। कोही लगानीकर्ता आए वा सरकारले अगाडि बढाउन चाहेको अवस्थामा आयोजना दिनको लागि विभागले तयारी गर्नुपर्छ। त्यसैले अध्ययन भइरहन्छ।’
छोटो दूरीका सुरुङ नेपालले आफ्नै लगानीमा बनाउन सके पनि लामो दूरीका सुरुङको खर्च धेरै हुने भएकाले अन्तर्राष्ट्रिय सहयोग एवं अनुदान आवश्यक पर्ने महानिर्देशक पोखरेलले बताए।