काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित विशेष समारोहबीच पदभार ग्रहण गरेका छन्। गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेकोमा उनले आज पदभार ग्रहण गरेका हुन्।
तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।
रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरीवेक्षण गर्छन्।
उनले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ प्रदान हुने बताए।
'रेग्मी ग्लोबल आईएमई बैंकको शुरूदेखि नै यस बैंकमा हुन्नुहुन्छ। लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो। उहाँले यस ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,' उनले भने।
पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए।
उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्ने बताए। लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिवद्धता उनको छ।