काठमाडौं। सेयर बजारमा ३४ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४७ अंकले घटेर २९६६.३३ बिन्दुमा बन्द भएको हो।
आइतबार कारोबारको सुरुवाती चरणमा उकालो लागेको बजार मध्यसमयबाट भने घट्दै गएको हो। कारोबार खुलेको एक घण्टामै ४६.२३ अंक अर्थात् १.५४ प्रतिशतले बढेर ३०४७.०५ बिन्दुमा पुगेको नेप्से त्यसबाट घट्दै गएर २९६६.३३ बिन्दुमा सीमित भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ४३.०५ अंकले बढेर ३००१.८१ बिन्दुमा बन्द भएको थियो। नेप्से सूचक घट्दा कारोबार रकम पनि संकुचनमा आएको छ। आइतबार नेप्सेमा कुल २८ अर्ब २७ करोडको कारोबार भएको छ।
आइतबार सुरुवाती चरणमा उच्च लय समाएको कारोबार रकम मध्यसमयबाट भने सुस्ताउँदै गएको हो। अन्यथा, कारोबार खुलेको एक घण्टामै नेप्सेमा ९ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको थियो। उक्त लय कायम नरहँदा आइतबारको कारोबार २८ अर्ब २७ करोडमै सीमित भयो।
अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदै सेयर कारोबारले नयाँ किर्तिमान बनाएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ। राष्ट्रिय बिमा कम्पनी, जीवन बिमा कर्पोरेसन (नेपाल), मल्टीपर्पोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ।
नेपाल फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ८.५२ प्रतिशतले घटेको छ। आइतबार बैंकिङ समूहको सेयर मूल्य ०.८४ प्रतिशत, जीवन बिमा समूह ०.०१ प्रतिशत, निर्जीवन बिमा समूह ०.४६ प्रतिशत र म्युचल फन्ड समूह ०.३८ प्रतिशतले घटेको छ।
होटल तथा पर्यटन समूहको सेयर मूल्य ४.४९ प्रतिशतले घट्दा जलविद्युत समूहको सेयर मूल्य ३.७४ प्रतिशतले घटेको छ। यस्तै, विकास बैंक समूहको सेयर मूल्य २.२५ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य २.५८ प्रतिशतले घटेको छ।
याे पनि पढ्नुहाेस्