काठमाडौं । एक वर्षको अवधिमा महंगी ३.८७ प्रतिशत बिन्दुले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७.४४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको असार मसान्तसम्म ३.५७ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने २.३ प्रतिशत बिन्दुले घटेको छ। अघिल्लो आर्थिक वर्ष ७.७४ प्रतिशत रहेको औषत उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको असार मसान्तसम्म ५.४४ प्रतिशतमा सीमित भएको हो।
केन्द्रीय बैंकद्वारा जारी गत आर्थिक वर्ष २०८०/८१ को १२ महिनाको मुलुकको वर्तमान आर्थिकम तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार उक्त अवधिमा सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशतले घटेको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको .२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप–समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेकोछ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ।