संसद्का दुई ठूला दल कांग्रेस–एमाले मिलेर सरकार बनाउने विषय बाहिरिएबाट बढ्न थालेको सेयर बजारले रोकिने छाँटकाँट देखाएको छैन। गत साउन १६ गतेसम्म करिब २ अर्बको दैनिक कारोबार हुने स्थितिबाट हाल एक दिनमै करिब ३० अर्बको कारोबार हुने स्थिति बनेको छ। असार १६ मा २०३७.०९ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३ कारोबार दिनमा ९६३ अंकले बढेर ३००० बिन्दुमा पुगेको छ।
कांग्रेस–एमालेको संयुक्त सरकार र त्यसमा पनि विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेपछि उचालिएको सेयर बजार मौद्रिक नीति लचिलो आएपछि झनै उचालिएर आएको हो। मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई सहज हुने र सेयर धितो कर्जाको संस्थागततर्फको २० करोडको सीमा खारेज गरेसँगै त्यसको सकारात्मक प्रभाव बजारमा परेको छ। विगतमा बजार सुधारका लागि भन्दै विविध माग राखेर नियामक तथा सरकारसमक्ष पुग्ने लगानीकर्ता बजार बढ्न थालेसँगै ती विषयमा मौन छन्। बजार उकालो लाग्दै गर्दा नयाँ लगानीकर्ताको प्रवेशले पनि व्यापकता पाएको छ।
बढ्दो बजारमा लगानीकर्तालाई उक्साउने, म्यानुपुलेट गर्ने काम व्यापकरुपमा बढेको छ। पुँजी बजार सबल बनाउने विषयमा कसैले पनि दीर्घकालीन नीति र योजना अगाडि सारेका छैनन्। वर्षौंदेखिका सर्टसेल, इन्ट्राडे जस्ता कुरा कार्यान्वयनमा आउन सकेका छैनन्। सेयर लगानीकर्ता केशव कोइराला नेपाली सेयर बजार सुधार कसैको प्राथमिकतामा नपरेको बताउँछन्। दोस्रो सेयर बजारमा डेढ दशक बिताएका कोइराला पुँजीबजारलाई नजिकबाट नियाल्ने र विश्लेषणगर्ने मध्यमा पर्छन्। उनै काइरालासँग नेपाली सेयर बजारको वर्तमान अवस्था, लगानी वातावरण, जोखिम, नीति र थिति तथा लगानीकर्ताले विचार पुर्याउनुपर्ने विषयमा केन्द्रीत रहेर क्यापिटल नेपालका दिलु कार्की र पदम भुजेलले गरेको कुराकानीको सम्पादीत अंशः
नीतिगत सुधार नभई सरकार परिवर्तन भएकै बहानामा उकालो लागेको सेयर बजार रोकिने छाँटकाँट देखिँदैन नि? यसलाई कसरी हेर्नुभएको छ?
बारम्बार सेयर बजारलाई नीतिले बिगारेको भनिन्छ। सेयर बजार सधैँ एउटा चक्रमा चल्छ। निश्चित बिन्दुम्म बजार बढ्दा तिनै नीतिले मलको काम गरिरहेका हुन्छन् र चक्र पूरा गरेर बियरिस ट्रेन्डमा गएपछि त्यही नीतिले बजारलाई ध्वस्त बनायो भन्छौं। पछिल्लो ४५ दिनमा नेप्से २००० बिन्दुबाट ३००० बिन्दुमा पुगेको छ। तर, सेयर बजारको नीतिमा कुनै परिवर्तन गरिएको छैन। अर्थमन्त्रालय, बजेट, धितोपत्र बोर्डले कुनै किसिमको नीतिगत परिवर्तन ल्याएका छैनन्। हरेक वर्ष सेबोनको नीति र बजेटका कुरा दोहोरिन्छन्।
सेयर बजारको नीति बनाउने वास्ताविक निकाय भनेको नेपाल धितोपत्र बोर्ड हो। बोर्डले हिजो बजार न्यून बिन्दुमा हुँदा पनि केही गरेको थिएन र अहिले बढेको समयमा पनि केही गरेको छैन। बोर्डले वर्षेनी र सधैँ गर्दै आएको साधारण तथा नियमित काम बाहेक केही गरेको छैन। यी समग्र विषयलाई हेर्दा हाम्रो बजारका लागि कुनै पनि किसिमको नीतिले केही गरेको देखिँदेन। बजार बढ्नका लागि चाहिने पैसा हो। बैंकबाट ऋण लिएर लगानी गर्ने वातावरण बाहेक अरु नीति यथास्थितिमा रहे पनि बजार चल्छ भन्ने पुष्टि पछिल्लो समय भइरहेको छ।
राष्ट्र बैंक सेयर बजार हेर्ने निकाय होइन। उसले हरेक नीति आफू अनुकुल बनाउँछ। उसले आफू अनुकुल नीति बनाउँदा त्यसको असर सेयर बजारमा देखिने मात्रै हो। राष्ट्र बैंकले कर्जा नीति तलमाथि गर्दा त्यसको प्रभाव सेयर बजारमा पर्छ। हाल पनि त्यसको प्रभाव बजारमा परेको देखिन्छ। अन्यथा, सेयर बजार नीति बनाउने निकायले हिजो नराम्रो नीति बनाएका पनि थिएनन् र आज सुधार गरेर धेरै राम्रो बनाएका पनि छैनन्। राष्ट्र बैंकले सेयर बजारमा पैसा छोड्ने नीति नै हाम्रो लागि प्रमुख भएको छ। सेयर बजारकै लागि भनेर हालसम्म त्यस्ता नीति बनेका छैनन् र बनेका नीति पनि लागू भएका छैनन्।
अहिले बजार सुधारका लागि भन्दै हिजो माग गर्नेहरू इन्साइडर सूचना कहाँ पाइन्छ? कर्नरिङ कसरी गर्ने, सर्कुलर ट्रडिङ कहाँ गर्ने? घाटामा डुबेको कम्पनीलाई कसको टाउकोमा लगेर थुपार्ने? भन्नेमा व्यस्त छन्।
नेपाली सेयर बजारमा हिजो पनि विकृति थिए र आज पनि छन्। फरक भनेको हिजो पुँजी बजारमा लगानी गर्ने पैसामा केन्द्रीय बैंकले कडाई गरेको थियो भने आज खुकुलो बनाइदिएको छ। यसलाई म सेयर बजारको नीति मान्दिनँ। कर्जा नीति भनेको बजारमा पैसा आउनेक्रमलाई बढाउने वा घटाउने नीति मात्रै हो। यो सरकार र धितोपत्र बोर्डको कसैको नीति होइन। लगानीकर्तामा पनि सेयर बजारमा लगाउनका लागि राष्ट्र बैंकले पैसा छोडिदेओस् भन्ने चाहना मात्रै बढी देखिन्छ। हाम्रोमा दैनिक इन्साइडर ट्रेडिङ, कर्नरीङ र सर्कुलर ट्रेडिङ हुन्छ। यस्ता कुरा रोक्नुपर्छ भनेर कसैले आवाज उठाएको छैन।
नीतिका कुरा गर्दा बजारका विकृति हटाउनेदेखि बजार सबल बनाउनुपर्ने विषय आउनुपर्ने हुन्। तर, यो कसैलाई चाहिएको छैन। आजको आजै बजार बढाउनका लागि राष्ट्र बैंकले ठूलो मात्रामा कर्जा लिनसक्ने बाटो खोलोस् भन्ने चाहना मात्रै लगानीकर्तामा देखिन्छ। कर्जाबाट पैसा लिएपछि एकपटक बजारमाथि पुर्याएर बिक्री गरेर निस्किने अल्पकालीन स्वार्थका विचार बढी छन्। बजारलाई दीर्घकालीन फाइदा दिने नीतिलाई हाम्रोमा नीति मानिएको छैन। बजार सुधारको आवाज उठाउँदा यस्ता विषय कहिले पनि प्राथमिकतामा परेका छैनन्।
बजार बढ्न थालेपछि खासगरी लगानीकर्ताले गर्ने बजार सुधारका सबै माग थाति बसेका छन्। सुधारको माग लिएर कोही कतै गएको देखिँदैन। सबै समस्या समाधान भएका हुन्?
हिजो नेप्से उकालो नलाग्दासम्म बजार सुधारका लागि भन्दै धाउनेको माग वास्तवमा बजार सुधारको होइन। उनीहरूको माग भनेको बजार बढाउनु मात्रै हो। बजार बढेपछि ती लगानीकर्ताको सबै माग पूरा हुन्छ। उनीहरूका नजरमा पुँजी बजारका सबै समस्या समाधान हुन्छन्। बजार एउटा बिन्दुमा पुगेर घट्न थालेपछि वा करेक्सनमा गएपछि ती लगानीकर्ता फेरि माग लिएर धाउन र कराउन थाल्छन्। वास्तवमा उनीहरूको माग भनेको बजार सुधारको माग होइन। उनीहरूका माग हात्तिको देखाउने र चपाउने दाँत जस्तै फरक हुन्।
अहिले बजार सुधारका लागि भन्दै हिजो माग गर्नेहरू इन्साइडर सूचना कहाँ पाइन्छ? कर्नरिङ कसरी गर्ने, सर्कुलर ट्रडिङ कहाँ गर्ने? घाटामा डुबेको कम्पनीलाई कसको टाउकोमा लगेर थुपार्ने? भन्नेमा व्यस्त छन्। वास्तविक बजार सुधारका कुरा उठाउने फुर्सद उनीहरूसँग छैन। यस्तो क्रियाकलापबाट साना लगानीकर्ता बढी मात्रामा मारमा पर्छन्। बजार कम बुझेका व्यक्तिले नै यस्ता प्रवृत्ति भएका लगानीकर्ताले टार्गेट गरेका हुन्छन्। सेयर कारोबार गर्न आएका मानिस आफ्नै फाइदाका लागि आएका हुन्छन्। समाजसेवा गर्छु भनेर कोही पनि आएका हुँदैनन्।
घटेको बजारमा आफूले बेहोरेको घाटा उठाउन सेयर बजार सुधारका माग राख्छन् र बढेपछि बिर्सन्छन्। बजार बढ्न थालेपछि अहिले कोही पनि व्यक्ति यो नीति भएन, यो चाहियो भनेर कतै गएका र बोलेका छैनन्। यस्ता बजारका लागि आवाज उठाउने धेरै व्यक्ति भोलीका लागि पुँजी बजार राम्रो बनाउने पक्षभन्दा पनि म्यानुपुलेसन गरेर आजै नाफा बढी कमाउँ भन्नेमा केन्द्रीत छन्।
विशेषगरी एमाले सरकारमा आउँदा र एमालेका पनि विष्णु पौडेल अर्थमन्त्री बन्दा अकारण बजार किन बढ्छ?
बजार ठ्याक्कै बढ्ने बेलामा अर्थात् नेप्से उकालो लाग्ने चक्र पूरा भएको समयमा विष्णु पौडेल अर्थमन्त्रीमा आइपुग्नुहुन्छ। यो एउटा संयोग हो। मसँग प्रमाण छैन। हाम्रो अर्थतन्त्रमा निष्पक्षता छैन। कम्पनीले घाटामा डुबिराखेको विवरण बुझाएर नाफा कमाइरहेका हुन्छन्। अन्य समयमा यो कालो धनबारे सोधिखोजी धेरै हुन्छ। सायद पौडेल अर्थमन्त्री भएपछि गैरकानुनी पैसा राख्ने मानिसलाई उहाँले छुट दिनुभएले त्यस्ता व्यक्तिले ढुक्क भएर लगानी गर्न सकेका होलान्। अन्यथा पौडेल अर्थमन्त्रीमा आउँदा बजार बढ्नुपर्ने त्यस्तो खासकारण केही छैन। मानिसले सबै खाले पैसा अर्थमन्त्रीमा पौडेल आएपछि बजारमा ल्याउन सहज ठान्छन्। यही कारण बजार उकालो लाग्ने गरेको हुनसक्छ।
पछिल्लो चरणको सेयर बजार वृद्धिमा मौद्रिक नीतिको भूमिका रहे पनि नीतिकै कारण बजार बढ्यो भन्न सक्ने अवस्था हो? मौद्रिक नीतिको कुन व्यवस्थाले हाल बजारलाई बढी सपोर्ट गरेको देख्नुहुन्छ?
हाम्रोमा कर्जा नीति खुकुलो गरिएको हो। कर्जा नीति खुकुलो गरेर पनि पछिल्लो एक महिनामा बैंकले कति ऋण प्रवाह गरे? अस्तिसम्म एकदु/ई अर्ब कारोबार हुने ठाउँमा अहिले २०/२५ अर्ब दैनिक कारोबार भइरहेको छ। यो बैंकबाट आएको ऋणको हकमा मात्रै होइन। लगानीकर्तामा एउटा आत्मविश्वास बढेको छ। अहिले गाउँगाउँबाट पैसा आएको छ। दिनकै सर्किट लागेको देखेकाले मानिसले अन्यबाट ऋण मागेर पनि लगानी गरेका छन्। कुखुरा बेचेर, भैंसी बेचेर मानिस सेयर किन्नुपर्छ भनेर लागि परेका छन्। मैले पटक-पटक आईपीओले बजार उठ्न दिएन भन्ने कुरा गर्थे।
राम्रो वित्तीय विवरण भएको र प्रतिफल दिने कम्पनीको मूल्य झनै घटेर जाने स्थिति बनेको छ। यो ट्रेडरहरूका कारणले भएको हो। उनीहरूमा म बिक्री गरेर भागिहाल्छु, डुबेनी अरु डुब्ने हुन् भन्ने किसिमको धारणा देखिन्छ।
यसअघिको बियरीस बजारमा त्यसले बजार उठ्न कठिनाई पैदा गरेको थियो। सेयर बजार सुरुमा उठ्न कठिन मान्छ। त्यसलाई बल गरेर उठाउनुपर्ने हुन्छ। यो बल लगाउने काममा राष्ट्र बैंकको ऋणसम्बन्धी नीतिले भूमिका खेल्छ। हाम्रो बजारको मेरुदण्ड भनेको बैंकबाट ऋण लिएर सेयर किन्ने पैसा भएको छ। विश्वमा यस्तो विरलै हुन्छ। कर्जा नीति खुकुलो भएसँगै ऋण एकदमै धेरै ल्याउने हुनाले बजार बुलिसमा जाँदा तिब्र गतिमा जान्छ र बियरिसमा जाँदा पनि सोही गतिमा घट्छ। हाम्रो सेयर बजार ऋण नीतिमा बढी निर्भर छ।
अर्कोतर्फ जोखिमभारले प्रभाव पार्ने कुरा पनि केही हदसम्म यससँग जोडिएको छ। बैंकलाई जोखिमभार कम भएको क्षेत्रमा लगानी गर्न केन्द्रीय बैंकले प्रोत्साहन गरेको हुन्छ। जोखिमभारको सीमा एक सय भनेको बैंकले ढुक्क भएर लगानी गर्ने वातावरण हो। अहिले जोखिमभारको सीमा सय नै कायम गरे पनि केही फरक पर्दैन। यद्यपि केही कम्पनीको मूल्य भने धेरै माथि गएको छ। अन्यथा, बजार १८०० देखि २००० हुँदासम्म कर्जाको जोखिमभार सय बनाइएको भए पनि केही हुने थिएन। यसले कुनै ठूलो नकारात्मक असर गर्ने थिएन।
एकाध कम्पनीबाहेक अधिकांशको प्रतिफल एकदमै न्यून छ। कतिपयले त वर्षौंदेखि कुनै प्रतिफल पनि दिएको देखिँदैन। तर, त्यस्तै कम्पनीको सेयर मूल्य एकदमै धेरै उच्च छ। यस्तो किन?
विशेषगरी २०७८ सालमा बुल आएर नेप्सेले २५०० बिन्दु नाघेपछि सेयर बजारमा ठूलो युवा जमाताको प्रवेश भयो। उनीहरू दीर्घकालीन लगानीमा विश्वास गर्दैनन्। यो जमात ७२ घन्टे लगानीकर्ता हुन् र त्यसैमा विश्वास गर्छन्। उनीहरूलाई ट्रेड बाहेक केही पनि थाहा छैन। बोनस, लाभांस, नाफा नोक्सानका विषयमा उनीहरूलाई कुनै सरोकार हुँदैन। आजका दिनमा जुन कम्पनीको वित्तीय विवरण खराब आएको छ, त्यही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाएर उठाउने काम गरिन्छ। यसकारण सेयर बजारमा विकृति पनि बढेको छ।
राम्रो वित्तीय विवरण भएको र प्रतिफल दिने कम्पनीको मूल्य झनै घटेर जाने स्थिति बनेको छ। यो ट्रेडरहरूका कारणले भएको हो। उनीहरूमा म बिक्री गरेर भागिहाल्छु, डुबेनी अरु डुब्ने हुन् भन्ने किसिमको धारणा देखिन्छ। यस्ता युवाले कमजोर कम्पनीमा जोखिम छ भनेर कहिल्यै सोच्दैनन्। बिक्री गरेर निस्किन्छु, डुबेनी अरु डुब्छन् भन्ने सोच राखेर भटाभट त्यसैमा लगानी गर्ने काम यो जमातबाट भएको छ। यस्ता कम्पनीमा लगानी गरेर अन्तिममा जो फस्छ त्यसपछि त्यो माइतिघरमा आन्दोलन गर्न पुग्छ।
कमजोर कम्पनीको सेयर पम्पिङले विशेषगरी नयाँ लगानीकर्तालाई त दुःख दिन्छ होला, होइन?
सेयर कारोबारको दोस्रो बजारमा छिरेको व्यक्तिले आफू नयाँ लगानीकर्ता हुँ भनेर भन्न पाउँदैन। ऊ दोस्रो बजारमा छिर्नु अगावै यसका बारेमा जानकारी लिएर मात्रै प्रवेश गर्नुपर्छ। सेयर किन्ने, दोस्रो बजारमा कारोबार गर्ने तर नयाँ हुँ भन्ने छुट कसैलाई हुँदैन। हुनत अहिले ध्यान दिएर लगानी गर्ने मानिसले पैसा कमाउन नसक्ने स्थिति बनेको छ। कम्पनीको नाफा, बोनस, लाभांस क्षमता, नेटवर्थ यी कुरा हेरेर लगानी गर्नुपर्ने हो। तर, यी सबै सूचकमा राम्रो भएका कम्पनी नै अहिले दोस्रो बजारमा कमजोर देखिएका छन्। नेपाली बजारमा जस्तोसुकै कम्पनीको सेयर मूल्यमा सर्किट लगाए पनि किन्नेको भिड लाग्ने गरेको छ।
सेयर बजार धनाड्य र सीमित व्यक्तिका लागि मात्रै हो भन्ने ढंगको कुरा लगानीकर्ता र विश्लेषकले गर्छन्। के साच्चै सामान्य मानिस सेयर बजारमा आउनु अनुपयुक्त हो?
नयाँ व्यक्ति हो भने अरबपति र करोडौं लगानीले पनि पैसा गुमाउँछ। पुरानो व्यक्ति लखपति मात्रै छ भने पनि त्यसले कमाउँछ। यसका लागि अनुभव हुन आवश्यक छ। अघिल्लो बुलमा २५०० बिन्दुमाथि प्रवेश गर्ने धेरै अर्बपतिले पैसा गुमाए। एक अर्ब लगानी गरेका व्यक्तिको ३० करोडमा झरेको कुरा हामीले नै सुनेका छौं। सेयर बजारमा अति लोभ, अति त्रासमाथि नियन्त्रण गर्नसक्ने व्यक्ति आउनु उपयुक्त मानिन्छ। निश्चित नाफा कमाएपछि यो कम्पनीबाट, यो समूहबाट वा बजारबाट भयो भनेर मन मार्नसक्ने व्यक्ति बजारका लागि उपयुक्त हुन्छ।
धेरै नाफा कमाउने उत्पादनमूलक कम्पनी हाम्रो देशमा छन्। कुनै पनि कम्पनीलाई आईपीओ जारी गर्न बाध्यकारी नीति बनेको छैन। नाफा कमाउन्जेल आफैँ मात्रै खाने र सर्वसाधारणमा बाँड्न नचाहने प्रवृत्ति छ।
अन्यथा लोभ मात्रै गरेको खण्डमा लोभको भाँडो कतै गए पनि भरिँदैन। तीन वर्ष अगाडि बजार ३२०० तर्फ उकालो चढ्दै गर्दा पाँच हजार पुग्छ भन्थे। तर, ३२०० भन्दामाथि गएन। केही मानिस २५०० भन्दामाथि पुग्दैन भन्थे। तर, त्यो भन्दामाथि पुग्यो। केही मानिस १० हजार पुग्छ भन्छन्। यस्ता किसिमका अफहवा फैलाउने धेरै छन्। यस्ता कुरा कति पत्याउने, नपत्याउने भन्ने गानीकर्तामा भरपर्छ। आफ्नो भागमा निश्चित नाफा आएपछि पुग्यो भनेर निस्कन सक्नुपर्छ। सेयर लगानीकर्ताले अति लोभमाथि नियन्त्रण गर्नसक्नुपर्छ। अर्कोतर्फ डरमाथि पनि सेयर लगानीकर्ताले नियन्त्रण गर्नसक्नुपर्छ।
१८०० बिन्दुमा सेयर किन्नका लागि बजारले दुई वर्ष समय दियो। कौडीको भाउमा सेयर किन्न सकिन्थ्यो। मैले २०८० वैशाखलाई लगानी वर्ष भन्दै ढुक्क भएर लगानी गर्नुस् भनेको थिए। १८०० बिन्दुमा नेप्से हुँदा आफूले भनेको मूल्यमा सेयर पाइन्थ्यो। न्यूनतम बिन्दुमा आएपछि अब घटेपनि घटोस् म खप्छु तर लगानी थप्छु भन्ने हिम्मत हुनुपर्छ। बजार १८०० हुँदा सेयर किन्नुको साटो मानिस अब १२०० मा झर्छ भन्ने गीत गाएर बसे। अहिले सेयर किन्न तछाडमछाड छ। यसर्थ लोभ र त्रासमाथि नियन्त्रण गर्नसक्ने व्यक्ति नै सेयर बजारमा लगानीकर्ताका लागि उत्तम मानिन्छ।
सेयर बजारमा सर्टसेल, इन्ट्राडे जस्ता कुरा ल्याउन केले रोकेको छ?
संसारभरी नै सप्लाई कम भएका, पुँजी कम भएका कम्पनीमा अलिअलि म्यानुपुलेसन हुन्छ। त्यसमा रोक लगाउने टुल भनेको इन्ट्राडे र सर्टसेलिङ हो। हाम्रो बजारमा नियामक निकम्मा छन्। राज्य निकम्मा छ। यो एउटा लुप हो। अहिलेको जमानामा पनि टि प्लस टूमा जाने काम उपयुक्त होइन। भारतमा आजको आजै बिक्री गरेर पैसा कमाउँछन्। हाम्रोमा भने चार दिनसम्म कुर्नुपर्ने हुन्छ। उक्त चार दिनसम्म कर्नरीङ गर्नेले कहाँ पुर्याइसकेको हुन्छ। त्यस्ता व्यक्ति पहिल्यै किनबेच गरेर भागिसकेका हुन्छन्। यसर्थ सर्टसेल र इन्ट्राडे एक वर्ष अगाडिदेखि नै लागू हुनुपर्ने हो। तर, विकृति रोक्छ भनेर यहाँ यसलाई आउन पनि दिइएको छैन।
समग्र पुँजीबजार सबल बनाउन र सुधार गर्नका लागि गर्नुपर्ने काम के-के हुन्? कसले केके गर्नुपर्छ?
नेपाली सेयर बजार स्वच्छ बनाउन नेप्से, धितोपत्र बोर्ड सबैले काम गर्नुपर्छ। यी निकायले बजारको नीति बनाउने काम गर्नुपर्छ। सेबोनले र नेप्सेले बजारका लागि आवश्यक कुरा परिवर्तन गर्नका लागि सरकार र अर्थमन्त्रालाई आग्रह गर्नुपर्ने हो। तर, यो बाटोमा कुनै पनि निकाय अगाडि बढ्न सकेका छैनन्। धितोपत्र बोर्डको काम कुनलाई स्वीकृति दिँदा आफूलाई फाइदा हुन्छ? कसरी गर्दा आम्दानी बढी हुन्छ भन्ने ढंगमा केन्द्रीत भएको देखिन्छ। अहिले कसैलाई पनि यो बजार सुधार गर्नु परेको छैन।
बोर्डको अध्यक्ष नै ठूलो रकम लिएर नियुक्ति हुन्छ। यसरी अध्यक्षमा आएको व्यक्ति काम गर्न छोडेर पैसा उठाउन थाल्छ। यस्तो अवस्थामा हाम्रो बजार कसरी सुधार हुन्छ? हुनत, अध्यक्ष नियुक्ती ठूलो विषय होइन। तर, कुन अध्यक्ष आएर स्टक एक्सचेञ्जको लाइसेन्स कसलाई दिने? कतिमा दिने? त्यो पैसा कसले लिने? भन्ने कुराले गर्दा विवाद सिर्जना भएको छ। स्टक एक्सचेञ्जमा २ देखि ४ अर्बको खेलो छ। दुईटा स्टक एक्सचेञ्ज भए राम्रो हुन्छ भनेर हामी भनिरहेका छौं। तर, दुईटालाई दिँदा राम्रो हुन्छ भनिएको पुनर्बिमा कम्पनी आज कमजोर अवस्थामा पुगेको छ। लाइसेन्स बेचेर पैसा खाने र पैसा उठाउने विकृतिको कारणले गर्दा बजार सहजै सुधार हुने छैन।
पुँजी बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनी भित्र्याउनुपर्ने कुरा उठेको छ। तर, बुक बिल्डिङबाट उत्पादनमूलक कम्पनी भित्र्याउन खोज्दा सुरुमै विवादमा परेको छ। यो विवादमा पर्नुको कारण के हो?
धेरै नाफा कमाउने उत्पादनमूलक कम्पनी हाम्रो देशमा छन्। कुनै पनि कम्पनीलाई आईपीओ जारी गर्न बाध्यकारी नीति बनेको छैन। नाफा कमाउन्जेल आफैँ मात्रै खाने र सर्वसाधारणमा बाँड्न नचाहने प्रवृत्ति छ। कतिपयले सरकारलाई घाटाको वित्तीय विवरण बुझाएर कालोधनको रुपमा नाफा खाने गर्छन्। यदि पब्लिक लिमिटेड भयो भने यो कुरा सबैले थाहाँ पाउँछन् र लुकाएर खान पनि कठिन हुन्छ। यही कारण उत्पादनमूलक क्षेत्रका कम्पनी धितोपत्रमा सूचीकृत हुन चाहँदैनन्। जब कम्पनी डुब्न लाग्छ र घाटामा जान थाल्छ त्यसपछि मात्रै हाम्रोमा आईपीओ जारी गर्ने प्रचलन छ।
घाटामा गएपछि झुटमुटको नाफा देखाएर, धितोपत्र बोर्डलाई मोलमोलाई गरेर, धेरै प्रिमियममा आईपीओ जारी गराएर, बुक बिल्डिङमा गएर आईपीओ जारी गर्ने काम हुने भएकाले यो किसिमको विवाद आएको हो। कुनै कम्पनी आईपीओ जारी गर्नु अगाडि नाफैंनाफामा रहेको देखिन्छ। आईपीओ जारी पछि भने घाटैघाटामा जान्छ। कम्पनी डुबेपछि मात्रै आईपीओ जारी गर्न आउने र बोर्डले पनि पैसा दिएपछि जस्तोलाई पनि स्वीकृति दिने भएकाले धेरै आइपीओका विषय विवाद परेका हुन्। पहिलाका निश्चित उत्पादनमूलक क्षेत्रका कम्पनी राम्रा छन्। तर, अहिले आएका भने घाटामा गएपछि मात्रै आईपीओमा जाने गरेको देखिन्छ। बुक विल्डिङमा मात्रै नभएर सबै किसिमको आईपीओ निष्कासन विधिमा यस्तो विवाद यहि कारण देखिएको हो।