काठमाडौं । असार १६ मा २०३७.०९ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३ कारोबार दिनमा ९६३.७२ अंकले बढेर साउन ३१ गते बिहीबार ३०००.८१ बिन्दुमा पुगेको छ। यसअघि २०७८ भदौ १३ गते ३०४५ विन्दुमा रहेको नेप्से ३५ महिनापछि ३००० बिन्दुमा पुगेको हो।
३३ कारोबार दिनमध्ये ७ दिन सूचक सामान्यदेखि उच्च अंकसम्म घटे पनि २६ दिन बढ्दो क्रममा मात्रै देखिएन दैनिक कारोबार रकमसमेत एकपछि अर्को रेकर्ड कायम गर्दै अघि बढिरहेको छ। नेप्से सूचक २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९९.०३ (त्यसदिन ३२२६ सम्म)को रेकर्ड ‘ब्रेक’ गर्न २०० बिन्दुु मात्रै बाँकी छ। तर, कारोबार रकमले भने यसअघिको रेकर्डलाई तोडेर नयाँ मानक बनिसकेको छ।
२०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ कारोबार गरेर त्यसअघिकै उच्च रेकर्डलाई २०८१ साउन १६ गते २१ अर्ब ७१ करोड रुपैयाँको सेयर किनबेच गरी भत्काएको थियो। त्यसयता साउन २२ मा २३ अर्ब ५० करोड, साउन २४ मा २५ अर्ब ३३ करोड, साउन २८ मा २६ अर्ब ८० करोड, साउन ३० मा २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएर नयाँ रेकर्ड बनेको छ।
गत साता एक दिन बजार घटेर ४ दिन बढ्दा नेप्सेमा २३४.४३ अंकले बढ्दा कारोबार रकम पनि अघिल्लो साताको ८२ अर्ब ७१ करोडको तुलनामा करिब ४३ अर्बले बढेर १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो साता ४ दिन कारोबार भएकोमा १ दिन सूचक घटेको थियो।
पछिल्लो समय बजार सूचक घट्दा कारोबार रकम घट्ने र सूचक बढ्दा कारोबार रकम पनि बढ्ने ट्रेन्ड समाएका कारण पुरानो उच्च अंकलाई छिटो माथ खुवाएर बढ्दो बजार (बुुल मार्केट) सुरु हुने अनुमान भइरहेका छन्।
सेयर लगानीकर्ता देव गुरागाईं कारोबार रकमले साथ दिएकाले बजार यसअघिको उच्च बिन्दु तोडेर अगाडि बढ्ने सम्भावना रहेको बताउँछन्। ‘केही महिनाअघि मात्रै करोडमा गणना हुने कारोबार रकम अहिले दैनिक करिब ३० अर्ब रुपैयाँ पुगेको छ। हाल सेयर बजारलाई कारोबार रकमले एकदमै साथ दिएको छ। कारोबार रकमले साथ दिएसम्म बजारले उकालो गति (अपट्रेन्ड) समाउँछ,’ गुरागाईं भन्छन्, ‘सेयर कारोबार र सूचकले अहिलेकै गति समाए नेप्सेले पुरानो रेकर्ड तोडेर ‘बुलिस’ यात्रा समाउँछ। यो समयमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आएको भए बजार अझै तीव्र गतिमा माथि जाने र कारोबार रकम थप बढ्ने सम्भावना थियो।’ तर, बजार अहिले अत्यधिक सेन्टिमेन्टमा चलेकाले स–सानो नीतिगत कठिनाइ वा अन्य अवरोधले पनि सूचक र कारोबार रकममा अकल्पनीय गिरावट आउने सम्भावना रहेको भनाई गुरागाईको छ।
सेयर बजार सकारात्मक रूपले अघि बढेसँगै सामाजिक सञ्जाल, सञ्चारमाध्यम र विभिन्न क्षेत्रको चासो बढ्दै गएको छ। साउन २४ गते मात्रै संसद्को अर्थ समितिले पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न निर्देशन दिएको छ। यद्यपि अध्यक्ष नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ।
यता, बोर्डले पनि साउन ३२ गते सामाजिक सञ्जालमार्फत निश्चित कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने हल्ला चलाएर खरिद वा बिक्री गर्न उक्साउनेहरुलाई कारबाही गर्ने जनाएको छ। बोर्डले सार्वजनिक सूचनामार्फत सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लब हाउसजस्ता सामाजिक सञ्जालबाट अनधिकृत अन्तर्वार्ता वा अभिव्यक्ति दिई बजारलाई प्रभावित बनाउन खोजिएका उजुरी आएकाले त्यसतर्फ कोही पनि नलाग्न निर्देशन दिएको छ।
त्यसो त धितोपत्रसम्बन्धी ऐन, २०६३ ले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको मात्रै छैन उक्साउने कामलाई धितोपत्र कारोबार सम्बन्धी कसुर मानेको छ।
त्यसो त तीव्र बढ्दो वा घट्दो बजारमा अन्य व्यक्ति र संस्थाले प्रभावमा पार्ने सम्भावना रहने भएकाले लगानीकर्ता स्वयं सचेत रहनुपर्ने हुन्छ। अहिले पनि अत्यन्तै कमजोर वित्तीय विवरण भएका कम्पनीको सेयर मूल्य उच्च रहेको चर्चा भइरहेको छ। सीमित स्वार्थ समूहले न्यून पुँजी भएका कम्पनीहरूलाई कर्नरिङ गरेर उच्च मूल्यमा राख्ने काम भइरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले कस्तो व्यवहार प्रस्तुत गर्छन् भन्ने आधारमा सूचक र कारोबार रकम घट्बढ् हुन सक्छ। सामाजिक सञ्जालमा व्यापक चर्चा हुँदा पनि त्यसको नकारात्मक असर सेयर बजारमा पर्न सक्छ।
साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी दैनिक कारोबार तथा मूल्यमा देखिएका अस्वाभाविक गतिविधिलाई नियामकले समयमै निरुत्साहित गर्नुपर्ने बताउँछन्। ‘बजार बढेसँगै सामाजिक सञ्जालमा प्रभाव पारेर तथा लगानीकर्तालाई उक्साएर निश्चित कम्पनीको सेयर मूल्य अस्वाभाविक तलमाथि गर्ने काम भइरहेको छ,’ जिसी भन्छन्, ‘यसमा लगानीकर्ता र नियामक दुवैले विचार पुर्याउनुपर्छ।’
३ वर्षअघि घट्न थालेको सेयर बजार करिब २ वर्ष १८५०–२१५० बिन्दुमा बस्यो। यो समयमा आफूले खोजेको भाउमा सेयर किन्न सकिन्थ्यो। तर, कतिपय लगानीकर्ताहरू अझै घटेर १२०० मा झर्छ भन्नेहरू अहिले सेयर किन्न तछाडमछाड गरिरहेको लगानीकर्ता केशव कोइराला बताउँछन्।
‘लगानीकर्ताले अति लोभ र अति त्रासलाई नियन्त्रण गरेर अगाडि बढ्ने क्षमता हुनुपर्छ। लोभ र त्रासलाई काबुमा राखेर लहैलहैको पछि नलागी आफ्नो निर्णय गर्ने लगानीकर्ताहरूले सेयर बजारबाट राम्रो कमाउने गर्छन्’ लगानीकर्ता कोइराला भन्छन्, ‘‘तीन वर्ष अघि सूचक ३२०० तर्फ लाग्दै गर्दा कतिपयले ४५००–५००० अंकसम्म नेप्से पुग्छ भन्थे भने कतिपयले २५०० पनि पुग्दैन भन्थे। तर, सेयर बजार कसैले अनुमान गरेको ठाउँमा बसेन। अहिले पनि केही मानिसहरू १० हजार अंक पुग्छ भनेर हल्ला चलाइरहेका छन्।’ आफ्नो भागमा निश्चित नाफा आएपछि पुग्यो भनेर बजार निस्कने र अफवाहको पछि नलाग्ने लगानीकर्ताले कालान्तरमा कमाउने कोइरालाको दाबी छ।