काठमाडौं। उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
हेटौंडा सिमेन्टको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याबारे सरकारलाई अवगत रहेको जनाए। उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उनले संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए।
हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिइकाइ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए।
समिति अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेसिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए। हेटौंडा सिमेन्टको साख उपभोक्तामाझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोग अपेक्षा रहेको अध्यक्ष भण्डारीको भनाइ छ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटका कारण पटक–पटक बन्द गर्नु परिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेसिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेसिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे।
मन्त्री भण्डारीले आजै हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ। कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिंदै उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए।
हेटौंडा उपमहानगर–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले अवलोकन गरे। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ।
मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक संगीता कुँवर, हेसिउली व्यवस्थापन समिति अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए।
मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य संघमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याबारे छलफल गरे। उपमहानगरले चालू आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शीर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो राखे।