काठमाडौं। चिनियाँ ब्रान्ड बिवाइडीको एटो थ्री नेपाली बजारमा पछिल्लो समय लोकप्रियता कमाएको गाडी हो। करिब आधा करोड मूल्य सेग्मेन्टमा एटो थ्री धेरैको रोजाइमा पर्ने गर्दछ। आगामी दिनमा एटो थ्रीको रोचक प्रतिस्पर्धा अर्को चिनियाँ ब्रान्ड डिपल एल जेरो सेभेनसँग हुने देखिन्छ। मूल्य र फिचरका हिसाबमा लगभग समान भएकाले यी गाडीबीचको प्रतिस्पर्धाले आगामी दिनमा बजारमा देख्न सकिनेछ।
नेपालको ईभी सेग्मेन्टमा बिवाइडी सबैभन्दा धेरै भित्रिने र बिक्री हुने ब्रान्ड हो भने डिपल पनि ग्राहकले उच्च रुचि देखाइरहेको ब्रान्ड हो।बिवाइडी र डिपल दुवै गाडीमा बाहिरी डिजाइन निकै आकर्षक र लोभलाग्दो छ। यसमा कटिङ एज प्रविधियुक्त, स्टाइलिस बाहिरी डिजाइनसँगै आन्तरिक डिजाइन पनि भिन्न छ। नेपालमा बिवाइडी साइमेक्स इंकले बिक्री वितरण गर्दै आएको छ भने डिपल एमएडब्लु वृद्धि अटोकर्पले बिक्री गर्दै आएको छ।
बिवाइडी एटो थ्री एडभान्स र सुपेरियर गरी दुई भेरियन्टमा उपलब्ध छ। बिवाइडीको सुपेरियर भेरियन्ट र डिपल एल जेरोमा करिब समान मूल्य र फिचर रहेका छन्। एमएडब्लु वृद्धिले आगामी नाडा अटो शोमा डिपल एल जेरो सेभेन प्रदर्शनका लागि राख्नेछ। बजेटअघि बिवाइडी एटो थ्री एडभान्सकको मूल्य ५५ लाख ९९ हजार र सुपेरियर भेरियन्टको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ थियो।
सरकारले बजेटमार्फत ईभीमा करको दर वृद्धि गरेपछि साइमेक्स इंकले बिवाइडीको मूल्य बढाएको हो। मूल्य बढाएपछि बिवाइडी एटो थ्री एडभान्सको मूल्य ५६ लाख ९० हजार र एटो थ्री सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ। डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले यसअघि भन्सार प्रयोजनका लागि उक्त गाडी ६७ लाख रुपैयाँमा नेपाल ल्याएको थियो। कम्पनीले केही दिनअघि नयाँ मूल्य सार्वजनिक गर्दै यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम गरेको हो।
ब्याट्री र मोटर क्षमता
यी दुई ब्रान्डबीच ब्याट्री र मोटर क्षमतामा भने खासै फरक देखिँदैन। बिवाइडी सुपेरियर भेरियन्टमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ। यसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको मोटरले ३१० न्यूटन मिटरको टर्क जेनेरेट गर्दछ। यसको ब्याट्रीमा ८ वर्ष १ लाख ६० हजार किलो मिटर वारेन्टी दिइएको छ। कम्पनीले यो गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ।
डिपल एल जेरो सेभेनमा ६६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। डिपलमा जडान गरिएको ९९ किलोवाट मोटरले ३२० न्युटन मिटरको टर्क जेनेरेट गर्दछ।
रेन्ज
यी दुई ब्रान्डबीच रेन्जमा भने धेरै फरक देखिन्छ। बिवाईडीलाई एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ। डिपलको एल जेरो सेभेनले एक पटकको फूल चार्जमा ५४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
चार्जिङ समय
बिवाइडी एटो थ्री ८० किलोवाट चार्जरको मद्दतमा ४५ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो गाडी ७.३ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्छ। डिपल एल जेरो सेभेन ३ किलोवाटको एसि चार्जरले २४ घण्टामा १०० प्रतिसत चार्ज गर्न सकिन्छ भने ७ किलोवाटको एसी चार्जरले १० घण्टामा १०० प्रतिशत चार्ज गर्न सकिनेछ।
त्यस्तै यसको डिसी फास्ट चार्जरले भने ३५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ। यो गाडीको टप स्पिड १६० किलोमिटर प्रतिघन्टा रहेको छ।
ग्राउन्ड क्लियरेन्स
बिवाइडी एटो थ्रीमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। डिपलमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ।
आकार
बिवाइडी एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाई १८७५ एमएम, उचाइ १६१५ एमएम छ। यसको ह्वीलबेस २७२० एमएम दिएको छ।
डिपलको लम्बाइ ४८२० एमएम, चौडाइ १८९० एमएम र उचाइ १४८० एमएम रहेको छ। यसको ह्वीलबेस २९०० एमएम दिएको छ।
क्याबिन फिचर
बिवाइडी गाडीमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ भने फ्लोटिङ डिस्प्ले पाउन सकिन्छ। यसमा सुरक्षाका लागि ७ वटा एयरब्याग लिइएको छ। यसलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ।
त्यस्तै, गाडीमा विद्युतीय पार्किङ ब्रेक प्रविधि, एन्टी–लक ब्रेकिङ प्रविधि, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्सन, डोर ओपन वार्निङ, ३६० डिग्री भ्यू मिररलगायत विशेषता पाउन सकिन्छ।
डिपल एल जेरो सेभेन ६ वटा यएर ब्याग पाउन सकिन्छ। १४.६ इन्चको सन फ्लावर टचस्क्रिन रहेको छ। यसमा ४ वटा ड्राइभिङ मोड दिएको छ। १४ वटा स्पिकर, ४० किलोवाटको वायरलेस चार्जर, इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट एडास २.५, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम, सेफ डिस्टेन्स वार्निङ, ट्रान्सपेरेन्ट च्यासिस, ३६० डिग्री क्यामेरा, ड्राइभ भिडियो रेकर्डर, डिस्ट्रयाक्स वार्निङलगायत फिचर छन्।