काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको पछिल्लो विवरण सार्वजनिक गरेको छ।
देशभर करिब १४ लाख हेक्टर जमिन धान खेतीका लागि उपयुक्त रहेकामा १३ लाख ७२ हजार हेक्टरमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको हो।
गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म ८ प्रतिशतले बढेको हो।
यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँको क्षेत्रफल र प्रतिशत दुवै बढेको बताइएको छ। सोही कारण धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ भएको छ भने कोसीमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ भएको तथ्यांक छ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेसमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष २०७९÷८० मा ३५ अर्ब ९० करोडको आयात गरिएको तथ्यांक मन्त्रालयको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब १३ अर्बले आयात घटेको हो।
यस वर्ष करिब ६ प्रतिशतले धान उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए।