सपना देखेर मात्र हुँदैन। त्यसलाई पूरा गर्न मिहिनेत र लगनशीलता जरुरी हुन्छ। त्यसपछि मात्रै आफूले देखेका र बुनेका सबै सपना एक दिन अवश्य पूरा हुन्छन्। सपनाले डोर्याएको काममा दत्तचित्त भएर लाग्नेमध्येमा पर्छिन्, इच्छा पोखरेल।
सानैदेखि फेसनप्रति चासो राख्ने पोखरेलले स्कुले पढाइ सकेपछिको उच्च शिक्षा भने नर्सिङको गरिन्। भारतको बैंग्लोरमा नर्सिङ अध्ययन गरेकी पोखरेलले लामो समय काम गरिनन्। नर्सिङ पेसामा रमाउन नसकेपछि उनको मन फेसन डिजाइनतर्फ मोडियो।
फेसन हुटहुटीकै कारण पोखरेलले २०१६ मा आईसी कलेजबाट फेसन डिजाइनङको कोर्स सकाइन्। फेसन डिजाइनमा लगाव भएर डिजाइनरको कोर्स गरे पनि बच्चा साना हुँदा उनको फेसन डिजाइनिङमा ब्रेक लाग्यो।
फेसन डिजाइन कोर्स गरेर ४–५ वर्ष ग्याप भए पनि बुटिक नै गर्छु भन्ने सोच उनमा थियो। तर, यस बीचमा काठमाडौंमा धेरै बुटिक खुल्ने र बन्द हुने क्रम जारी रह्यो। उनलाई पनि भविष्यमा यो राम्रो हुन्छ भन्ने लागेन। फेसन डिजाइनिङ सँगै गरेका साथीहरु सबैले बुटिकै खोलेका थिए। अतः सबैले बुटिक नै खोलेका र उस्तै डिजाइन गर्ने हुँदा केही नयाँ अवधारणाको काम गरौं भन्ने सोचसहित उनले गौरङ सारीज् सुरु गरिन्।
‘म एकदम धेरै कुर्ता, सारी लगाउनेमा पर्छु। नेपाली बजारमा अहिले पनि शुद्ध जर्जेट, सिफन पाउने पसल थोरै छन्। त्यो पनि एकदमै महँगा,’ पोखरेल भन्छिन्, ‘तर, एउटै फलोरमा सबै कुरा मौलिक र वास्तविकता पाउन सकिने फ्यासलिटिज भारतमा छ। अझै धेरै नेपालीलाई कति भेराइटिजका सिल्क हुन्छन् भन्ने थाहै छैन।’
नेपाली बुटिकभन्दा फरक ‘गौरङ सारीज्’
नेपाली बजारमा सामान्य शुद्ध सारी किन्न कहाँ जाने? नेपाली बुटिक पसलमा अरु केही सामानै पाइँदैन। त्यसमा साधारण सारी मात्र पाइन्छन्। सामान किन्न भारत नै जानुपर्ने, हरेकपल्ट भारत गएर सामान ल्याउँदा सम्भव नहुने देखेपछि उनले ग्राहकलाई सबै सुविधा दिने उद्देश्यले गौरङ सारीज् खोलिन्।
भारतमा फन्ट्रियास मल्लीका धेरै पसल छन्, जहाँ विविध प्रकारका सामान पाइन्छन्। एउटै फ्लोरमा लेहेंगा सारी इन्डोभेस्टनदेखि लिएर हेभी बेल्ड, ब्राइडल बेल्ड सबै एकै ठाउँ पाइन्छन्। त्यो सबै गौरङमा पाउन सकिन्छ। कारखाना हैदरवादमा भएकाले यहाँ जति पनि ह्यान्डओभर राखिएको छ, त्यो सबै हैदरावादबाट आउने गरेको छ।
बुटिकमा जाँदा आफैंले डिजाइन लिएर जानुपर्ने हुन्छ। ग्राहकले आफ्नो डिजाइन आफैं छान्नुपर्छ। तर, गौरङमा २ हजार पिसको डिजाइन राखिएका छन्। धेरै डिजाइन देखेपछि ग्राहकको सोच पनि परिवर्तन हुन सक्छ।
गौरङ सारीज्मा हालका लागि २ वटा फ्लोरमा मात्र सामान राखिएको छ, जसमा ५०० देखि ५ लाखसम्मको सारी किन्न सकिन्छ। एउटा तलामा साधारण ५००–१००० देखि ५ हजारसम्मको सामान छ। त्यहाँ बजारमा भएजति सबै चीज पाउन सकिन्छ। अर्काे तलामा लक्जरी कलेक्सन छ, जहाँ ह्यान्डपिक सारी मात्र राखिएको छ। शुद्ध टस्सर, सिल्क, बनारसी, कतान, जर्जेट, टिसु, फेन्चनट, चिकेन कारी, पतानसिल्क, कटवर्क, बनारसी, कञ्जीवरमलगायत ब्रान्डेड सारी राखिएको छ। यी सामान नेपाली बुटिक र बजारमा पाइने सम्भावना निकै कम छ।
गौरङ सारीज्मा मेन्स कलेक्सन पुरुष र बच्चाका सामग्रीका साथै कुर्थाका विभिन्न भेराइटिज् थप गर्न अर्को तलामा पनि सामान थप्ने योजना गौरङले बनाएको छ। त्यहाँ ५ सयदेखि १०–१५ हजारसम्मको कुर्था पाउन सकिनेछ।
गौरङमा राखिएका सामान भारतका विभिन्न ठाउँबाट आउने गरेको छ। जुन ठाउँमा जे चीज प्रसिद्ध मानिन्छ, त्यो सामान त्यही ठाउँबाट ल्याइने गरेको छ। तामिनलाटोको कञ्जीवरम, बनारसी सारी भारतमा ख्यातिप्राप्त मानिन्छ।
गौरङ सारीज्मा सबै भेराइटीका शुद्ध सिल्क शुद्ध पाइन्छन्। सिल्क सामान कोहिम्बुटुरबाट आउँछ। त्यो सिल्कमा केही काम गर्नुपरे हैदरावादमा लगेर काम गरेपछि मात्रै नेपाल आउने भएकाले त्यो सिल्कलाई विशेष रुपमा लिइन्छ।
हाल गौरङमा दुबईको पनि स्यान्ट लेस आउने गरेको छ। दुबईबाट ल्याइएका थोरै फ्याब्रिक हैदरावाद पठाएर ट्याचवर्क र डिजाइन गरेर मात्र नेपालमा आउँछ।
गौरङमा गरिएको डिजाइन सजावटका कारण कतिपय खरिदकर्ता महँगो होला भन्ने सोच्छन्। तर, हाइफाई देखे पनि त्योअनुसारको मूल्य नभएको पोखरेल सुनाउँछिन्। यहाँ इच्छाअनुसार र गोजीको पैसाका आधारमा ५००–१००० रुपैयाँ जतिमा पनि सामान किन्न सकिन्छ।
गौरङमा भारतमा पाइने मूल्यमै सारी किन्न सकिने सुविधा छ। नेपालबाट भारत जाँदा त्यहाँका होटलबास, आउजाउ र सपिङ गर्ने खर्चको तुलनामा नेपालमै सारी बिक्री हुने गरेको छ। भारतमा भन्दा धेरै महँगो पर्न जाँदैन। त्यसमा डिजाइन फरक भएकाले बजारमा भएको डिजाइनसँग जुध्दैन।
बुटिकमा जाँदा आफैंले डिजाइन लिएर जानुपर्ने हुन्छ। ग्राहकले आफ्नो डिजाइन आफैं छान्नुपर्छ। तर, गौरङमा २ हजार पिसको डिजाइन राखिएका छन्। धेरै डिजाइन देखेपछि ग्राहकको सोच पनि परिवर्तन हुन सक्छ।
सबै चीजका लागि भारत र चीनको भर
नेपालमा केही उत्पादन नहुने भएकाले हरेक सामग्रीका लागि चीन र भारतको भर पर्नुपर्ने अवस्था छ। धागो, कपडा हरेक चीज भारत र चीनबाट आयात हुँदै आएको छ। नेपालमा उत्पादन भएर यहीँ नै डिजाइन गर्न सके लागत खर्च मात्रै पर्न जान्छ। तर, यहाँ सामग्री पाउन सकिँदैन।
नेपालमा सञ्चालनमा रहेका धेरैजसो बुटिकमा फ्याब्रिकलगायत सामग्री बाहिरी मुलुकबाटै आउँछ। नेपालमा सामान मात्र नभएर धेरै कारिगर पनि भारतबाट ल्याइने गरेको छ। सामग्री र कारिगर उत्पादन नेपालमा छैनन्। त्यसले गर्दा पनि उत्पादन पूरै बनेर आइसक्दा महँगो पर्न जान्छ।
छिमेकी भारतमा सबै उत्पादन हुन्छ। तर, नेपालमा धागोदेखि लिएर सारीमा राखिने सानो कट दानाको सियोसम्म हरेक चीज भारत र चीनबाटै ल्याउनुपर्ने बाध्यता छ। भारतमा सामान किन्दा त्यसको भन्सार तिरेर (जीएसटी) कुरियर चार्ज नेपालसम्म ल्याउँदा महँगो पर्न जान्छ। ती चीज नेपालमै उत्पादन गर्न सकिए यहाँ सस्तोमा सामान पाउन सकिन्थ्यो।
नेपालमा कारिगर भारतबाटै ल्याइने गरिएको छ। एउटा कटिङ मास्टरको मात्र एक–डेढ लाख र सिलाउने मान्छेको ५० हजार रुपैयाँ बढी पर्न जान्छ। कटिङ मास्टर, सिलाउने मान्छे, सारीमा मोती भर्नेलगायत काम छुट्टाछुट्टै व्यक्तिले गर्छन्। कटिङ मास्टर र सिलाउने भनेको महँगा सारी, जुन विवाहको सिजनमा मात्र चल्छ। ६–७ जनाको टिममा हरेकलाई एक–डेढ लाख रुपैयाँको तलब छ। उनीहरुलाई काममा राखिँदा खाना, बस्ने सबै दिँदा धेरै लागत लाग्छ। ‘६ महिनासम्म व्यापार चल्छ, ६ महिनासम्म व्यापार नहुने भएकाले काम नगरीकनै पैसा दिनुपर्छ। नेपालमा सबै कुरा उपलब्ध भए अलि सहज हुन्थ्यो। भारत जाने, सामान ल्याउने। यो सब झन्झट हरेक कुराबाट मुक्त हुन सकिन्थ्यो’, पोखरेल भन्छिन्।
अहिले सिजन नभएकाले जति पनि भारतबाट कारिगर आएका थिए, उनीहरु सबै फर्किइसकेका छन्। त्यसैले अहिले सिलाइ मास्टरको खाँचो भइरहेको छ। नेपालमा बुटिक तथा सिलाइ पसलले प्रतिपिसको हिसाबले सिलाउने मान्छेलाई पैसा दिँदै आएका छन्।
अधिकांश डिजाइनर बाहिरिँदा मुलुकमै रम्ने प्रयास
गौरङ सारीज्मा कालिगरबाहेक १० जनाले काम गरिरहेका छन्। नेपालको बजार सानो छ। त्यसमा पनि पैसा खर्च गर्न सक्ने र डिजाइनर कपडा लगाउने ठूलो जनसंख्या बाहिर गइसकेको छ।
नेपालमा बुटिक खोलेर बसेका धेरै डिजाइनर व्यापार नचलेर लगानी उठ्न कठिन भएपछि बिदेसिइसकेका छन्। जति पनि नेपालमा व्यापार गरिहरहेका छन्, सबैले विदेशबाटै सामान ल्याउने गर्छन्।
गौरङले उपभोक्तालाई कम मूल्यमा सामान बिक्री गर्न बाहिरबाटै बनाएर ल्याउने गरेको छ।
२०१६ को सपना २०२४ मा साकार
पोखरेलले लगाएको लुगा साथीहरुले धेरै मन पराउने र गिफ्ट दिँदा पनि रुचिमा पर्न थालेपछि फेसनप्रति उनको लगाव बढेको होे। फेसनमा मन जोडिएपछि डिजाइन गर्ने सोच उनमा आयो। त्यसपछि पोखरेलले डिजाइनको कोर्स गरिन्। उनले डिजाइन सिकेको केही समयपछि कोरोना महामारी सुरु भयो। कोभिडका कारण फेसन डिजाइनको व्यापार ठप्पजस्तो भयो। उनको फेसन डिजाइनमा ब्रेक लाग्यो। विस्तारै कोभिड हट्दै जाँदा फेरि फेसन डिजाइनको ट्रेन्ड आएपछि डिजाइनिङ सिकेका कारण घरमा यसै किन बस्नु भन्ने लाग्यो। त्यसपछि गौरङ सारीज् नाम राखेर २–३ वर्ष उनले अनलाइनबाट काम गरिन्।
अनलाइनबाट विश्वासिलो ग्राहकलाई सामान पठाए पनि अरु ग्राहकले आँखैअगाडि सामान हेर्न खोजेपछि उनको दिमागमा ट्रिगर बन्यो– अनलाइन मात्र होइन, पसलै खोल्नुपर्ने रहेछ। त्यसपछि उनी भारतका विभिन्न बजार घुम्न थालिन्। ग्राहकले मौलिक माग गर्न थालेसँगै नेपालमा पनि बजार रहेछ भन्ने बुझिन्।
अनलाइन ग्राहकले पसल खोले, जहाँ खोलिएको छ, त्यहीँ ठाउँमा गएर हेर्न सजिलो हुने सुझाका कारण सप खोल्ने सोच उनमा आयो। ‘मैले ८० प्रतिशत ग्राहक सामान हेर्न भारत जाने गरेको अनलाइनबाट थाहा पाएँ,’ पोखरेल भन्छिन्, ‘मानिसले बुटिक सारी गिफ्ट गर्न र लगाउन छाडिसकेका थिए। उनीहरुका लागि नेपालमै प्रत्यक्ष हेर्ने ठाउँ चाहिएको रहेछ।’
अनलाइनबाट राम्रो प्रतिक्रिया आउन थालेपछि सप खोल्दा झन् व्यापार राम्रो हुने सोच उनमा पलायो। अन्ततः उनले सप खाल्ने निर्णय गरिन्। उनको फेसन डिजाइनर बन्ने २०१६ को सपना २०२४ मा आएर पूरा भयो। जस्तो सोचाइ थियो, त्यसरी नै पूरा भयो।
ग्राहकलाई दिन चाहेको सेवामा सघाउन श्रीमान् दीपक पोखरेलको साथ र सहयोग पाइरहिन्। जति कुरा फेसन डिजाइन पढेर सिकेको अनुभव छ, त्योभन्दा धेरै कुरा काम गरेर सिकेको अनुभव सुनाउँछिन्, पोखरेल। उनका श्रीमान पोखरेल सौर्य एयरलाइन्स, ओमसाई अस्पताल, ओमसाई नर्सिङ कलेज, रुद्र केशरी होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।
‘फेसन डिजाइनर पढिरहँदा ‘टप’ डिजाइनर बन्छु भन्ने सोच थियो। मैले डिजाइन गरेका लुगा टप स्टारले लगाओस्, लोकप्रिय बनूँ भन्ने रहर हुन्थ्यो,’ पोखरेल भन्छिन्, ‘तर, अहिले सबै सोचै बदलियो। धेरै अध्ययन गरेर विभिन्न ठाउँमा गएर कसैले ल्याउन नसक्ने चीज ल्याए त्यो आमनागरिकले पनि लगाउन् भन्ने लाग्छ।’
दार्जिलिङमा हुर्किएको बाल्यकाल
इच्छा पोखरेल धुलाबारीमा जन्मिए पनि बालापन भने दार्जिलिङमा बित्यो। दार्जिलिङमा कलेजसकेपछि उनी बीएसी नर्सिङ पढ्न बैंगलोर गइन्। नर्सिङ सकिन् तर त्यो क्षेत्रमा काम गर्ने मन बनाइनन्।
(साउन अंकको क्यापिटल बिजनेस म्यागजिनबाट)