क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइन साढे ६ हजार सर्किट किलोमिटर पुगेको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले साउन २९ मा सार्वजनिक गरेको विवरणमा ग्रिड सबस्टेसन क्षमता १३ हजार एमभीए पुगेको उल्लेख छ। जलविद्युत, सौर्यलगायत ऊर्जाका विभिन्न स्रोतबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्म ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय ७ सर्किट किलोमिटर पुगेको हो।
दूधकोसीमा आएको ठूलो बाढीका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका गरिएको छ। साउन ३२ मा दूधकोसीमा बाढी आउँदा पूरै थामे गाउँ डुबानमा परेको सोलुकी प्रजिअ देवी पाण्डे खत्रीले बताइन्। खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमताल फुटेको आशंकापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको छ। हिमपहिरो झरेको वा हिमपोखरी फुटेको यकिन नभए पनि बाढीले थामे क्षेत्रका करिब ७० घर डुबानमा परेका छन्।
शान्ति सम्झौताको १३ वर्षपछि प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयक सर्वसम्मत पारित भएको छ। साउन ३० मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’प्रतिनिधिसभाले पारित गरेको हो। प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा जानेछ भने त्यहाँबाट पारित भएर पुनः प्रतिनिधिसभामा फिर्ता हुनेछ। विधेयकलाई सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ। राष्ट्रपतिले प्रमणीकरण गरेपछि विधेयकले कानुनको रुप लिनेछ। सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। साउन ३० मा विश्वासको मतमाथि भएको मतदानमा ४५ सांसद उपस्थित थिए। शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो। तटस्थमा १ मत परेको थियो। ५३ सदस्यीय प्रदेशसभामा शाहलाई कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ प्रदेशसभा सदस्यले विश्वास मत दिएका हुन्।
मधेस प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिमण्डल गठन गरेपछि आलोचित हुँदै आएका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। जेठ २५ मा मुख्यमन्त्री नियुक्त सिंहले साउन २९ मा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
१ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित १४ जना प्रतिवादीलाई सफाइ दिएको छ। साउन ३० मा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितका प्रतिवादीलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ २१ मा गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई प्रतिवादी बनाउँदै पाँच वटा भ्रष्टाचारका मुद्दा दायर गरेको थियो।
यो साताको पाँच कारोबार दिनमा एक दिन घटेर चार कारोबार दिन बढ्दा सेयर बजारमा २३४.४३ अंकको वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन साउन २४ मा २७६६.३८ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको अन्तिम कारोबार दिन साउन ३१ मा ३०००.८१ बिन्दुमा रोकिएको छ। यो साताको पाँच कारोबार दिन नेप्सेमा १ खर्ब २५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता कुल ८२ अर्ब ६९ करोडको कारोबार भएको थियो। अन्तिम कारोबार साउन ३१ मा २९ अर्ब ३० करोडको कारोबार हुँदै दैनिक सेयर कारोबारमा नयाँ रेकर्ड बनेको छ।
सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। साउन ३१ को मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा गरेको हो। सहसचिव मदन दाहाल, यमुना प्रधान, गोपीकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुन्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ। कृष्णकुमारी क्षेष्ठ, सुमन दाहाल, चण्डी घिमिरे, यमलाल भुसाल प्रधानमन्त्री कार्यालय भित्रिएका छन् भने त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराई सरुवामा परेका छन्। परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा भएको छ।
पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले हवाई इन्धनमा विशेष छुट पाउने भएका छन्। साउन ३२ को नेपाल आयल निगम सञ्चालक समिति बैठकले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोलिटर १०० डलर छुट दिने निर्णय गरेको हो।