काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जाल दुरुपयोग हुँदा बैंकिङ प्रणालीमा असर पुगेको बताएका छन्।
शुक्रबार अर्थ समितिको कार्यालय सिंहदरबारमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा राखिएका प्रावधानबारे छलफलका लागि बोलाइएका गभर्नर अधिकारीले विधेयक पारित गर्दा सञ्जालको दुरुपयोग गरेर बैंकिङ प्रणालीमाथि असर पुर्याउने व्यक्तिालई कानुनी कारबाहीको व्यवस्था गर्न सुझाव दिएका हुन्।
ऐनमै व्यवस्था गरेर बैंकिङ क्षेत्रमा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने कसुरलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ।
‘एक व्यक्तिका पछाडि लाखौं फलोअर्स हुन्छन्। त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, यसले यसो गर्यो, उसो गर्यो, बैंकको पैसा तिर्नुपर्दैन, मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली कोल्याप्स हुने अवस्था छ। यस्ता गतिविधि नियन्त्रण गर्न कानुनमै प्रष्ट गरिनुपर्छ’, गभर्नर अधिकारीले भने।
ऋण लिएर छुट दिइरहने हो भने बैंक तथा वित्तीय समस्यामा पर्न धेरै समय नलाग्ने उनको भनाइ छ।
‘ऋण छुटकै कारण अहिले नेपालको बैकिङ प्रणालीमा समस्या परिरहेको पनि गभर्नर अधिकारीले औंल्याए। ‘केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक/डेढ वर्षदेखि रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन्। उनीहरुलाई हामीले केही गर्न सक्दैनौं किनकि कानुन छैन। तिरेनौं भने हामीले थप लोन किन दिने, फेरि फस्ला भनेर बैंकक डराइरहेका छन्। यसबारे समितिमा छलफल हुन जरुरी छ’, उनले भने।
बैंकिङ प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभई समग्र प्रणालीमा असर गर्ने हुँदा नकारात्मक प्रचारमाथि कसुर तोकिनुपर्ने सुझाव उनले दिए।
चेक अनादरले सर्वसाधारणको निक्षेप दुरुपयोग हुने, वित्तीय दायित्वलाई खलल पार्ने र समग्र आर्थिक प्रणालीलाई नै असर पार्ने हुँदा यसलाई कसुर मानिनुपर्छ भनेर २०६४ को ऐन कार्यान्वयन भइरहेकाले चेक अनादरका विषयमा विधेयकमा प्रस्ट्याइनुपर्ने उनको धारणा छ।
छलफलमा सहभागी महान्यायाधिवक्ता रमेश बडालले प्रस्तावित विधेयकको दफा ४ मा अनधिकृत रुपमा कर्जा लिन÷दिन हुँदैन भन्ने कुरामा सावाँब्याज हर्जना सबै तिर्छ भने यो विषयमा मुद्दा चलाउने कि नचलाउने भन्ने प्रश्न रहेकाले यसबारे गभर्नर अधिकारीसँग जिज्ञासा राखेका थिए।