काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीको सेयर खरिद–बिक्रीबारे प्रचार गरे कारबाही गरिने बताएको छ।
सेबोनले शुक्रबार निकालेको सूचनामा मूल्य बढ्ने वा घट्ने भन्दै खरिदबिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गर्ने चेतावनी दिइएको हो।
बोर्डले सञ्चार माध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिएर बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरी प्राप्त भएको उल्लेख गरेको छ।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ,’ बोर्डले भनेको छ, ‘त्यसो गरे धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिनेछ।’
सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयर खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न÷नगराउन र त्यस्ता कार्य अविलम्ब रोक्न पनि बोर्डले सचेत गराएको छ।
बोर्डले कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि आग्रह गरेको छ।