काठमाडौं । पोखरा र भैरहवास्थिर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले हवाई इन्धनमा विशेष छुट दिइने भएको छ।
पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोलिटर १०० डलर छुट दिने निर्णय शुक्रबारको नेपाल आयल निगम सञ्चालक समितिले बैठकले गरेको हो।
दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामन्त्री केपी ओलीबाट प्राप्त निर्देशनअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय गरिएको आयल निगम सञ्चालक समिति अध्यक्ष मधुसूदन बुर्लाकोटीले जानकारी दिए।
‘सरकारी सहुलियतपछि यसले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा प्रोत्साहन गर्नेछ। हवाई इन्धनमा दिइएको छुटको लाभ विदेशी वायुसेवा कम्पनीले लिन सक्छन्’, बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमेत रहेका बुर्लाकोटीले भने।
निर्णयसँगै हाल प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन मूल्य पोखरा र भैरहवामा ९४२ डलर पर्नेछ।
यसअघि प्रधानमन्त्री ओलीले साउन १९ मा पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतासहित सञ्चालन ल्याउन सरकारले पहल सुरु गरिसकेको बताएका थिए। थाई एयर एसियाले साउन १९ देखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै उनले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताएका थिए।
सरकारले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न विभिन्न सहुलियत र छुट सुविधा घोषणा गर्दै मन्त्रिपरिषद्बाट कार्ययोजनासमेत पारित गरेको छ।