काठमाडौं । निरन्तर उकालो लागेसँगै सेयर बजारको चर्चाले सामाजिक सञ्जाल भरिभराउ भएका छन्। फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, भाइबर, टेलिग्राम र क्लब हाउसमा विभिन्न टिप्पणी गर्ने, ग्रुप तयार गर्ने तथा अन्य ग्रुपमा सेयर गर्ने कार्य व्यापक मात्रामा बढेको छ। असार १६ मा २०५३.३८ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगातार बढेर अन्तिम कारोबार दिन बिहीबार ३००० बिन्दुसम्मको यात्रा तय गर्दा म्यानुपुलेसनको मात्रा ह्वात्तै बढेर गएको छ।
निश्चित कम्पनीको बारेमा, नेप्से इन्डेक्सका बारेमा र कम्पनीको मूल्यका विषयमा फरक-फरक किसिमको टिप्पणी राखेर लगानीकर्तालाई म्यानुपुलेट गर्ने कार्य उच्च मात्रामा भइरहेको छ। खासगरी बजार उकालो लागेसँगै यस्तो किसिमको कार्य व्यापक मात्रामा बढेको छ। बजार बढिरहेको समयमा नै नयाँ लगानीकर्ता प्रवेशको मात्रा पनि बढेको छ। यस्तो अवस्थामा कतिपय व्यक्तिहरू विभिन्न ढंगमा निश्चित कम्पनीको सेयर मूल्य घटाउन, बढाउन, खरिद गराउन तथा बिक्री गराउनका लागि सक्रिय भएका छन्।
यसले लगानीकर्तामा जोखिम बढेर गएको छ। सेयर लगानीकर्ता देव गुरागाईं नेपाली लगानीकर्ताले बढी मात्रामा सामाजिक सञ्जाल र विभिन्न ग्रुपमा हुने चर्चाको आधारमा निर्णय लिने गरेको बताउँछन्। ‘लगानीकर्ताले अरूको कुरा सुन्ने हेर्ने तर, निर्णय भने आफ्नो लिनुपर्ने हुन्छ। तर, हाम्रोमा अन्य व्यक्तिले भनेको कुरामा प्रभाव परेर निर्णय लिने काम बढी हुन्छ,’ गुरागाईं भन्छन्, ‘धेरैले धेरै थरीका कुरा गर्ने भएकाले यस्ता कुराको पछाडि लाग्दा लगानीकर्ता सही निर्णय लिनबाट चुक्छन्।’
लगानीकर्ता सामाजिक सञ्जाल र अन्य व्यक्तिको भनाइको पछाडि दौडने भएकाले असंख्य सेयर ग्रुप बनेका छन्। दिनहुँ एकै व्यक्तिले दर्जनौं पोस्ट गर्ने, समूहगत र कम्पनीगतरुपमा टिप्पणी गर्ने काम हुन्छ। धेरै व्यक्ति आफूलाई कुनै न कुनै ढंगबाट फाइदा हुने तरिकाले यस्ता स्थानमा टिप्पणी गर्ने गर्दछन्।
१६०० लगानीकर्ता जोडिएको सकार ट्रेडर नामक टेलिग्राम ग्रुपमा पनि लगानीकर्तालाई प्रभावित पार्ने ढंगमा विभिन्न गतिविधि भइरहेका छ।
प्रीति लामा नामक फेसबुक आइडीबाट मंगलबार एउटा फेसबुक पोस्टमा लेखिएको थियो, ‘एसपिएल, एपिएचएल, टिएसएचएल, युएसएचएल जस्ता कम्पनी १५०० नपुग्ला भन्न सकिएन।’ यो पोस्टबाट उक्त उल्लेखित नाम गरेका कम्पनीको सेयर मूल्य १५०० सम्म पुग्ने भनेर लगानीकर्तालाई आकर्षण गराउने र खरिद गराउने प्रयत्न गरेको देखिन्छ। साथै, सो पोस्टमा प्रतिक्रिया जनाउनेहरूले पनि आफूलाई फाइदा हुने ढंगमा विभिन्न कुरा उल्लेख गरेको देखिन्छ।
स्मार्ट ट्रेडर नामक भाइबर ग्रुपमा पनि कम्पनीको नामै तोकेर किन्न र बिक्री गर्नका लागि उत्साहित गर्ने कार्य भइरहेको छ। १४ हजार बढी जोडिएको उक्त भाइबर ग्रुपमा कुन कम्पनी बढ्ने, कुन घट्ने, कुन खरिद गर्ने कुन बिक्री गर्ने भनेर भन्ने र लगानीकर्ता उक्साउने काम भइरहेको देखिन्छ। बुधबार नेपाल बुल नामक फेसबुक पेजले पनि यस्तै एउटा पोस्ट गरेको छ। त्यसमा लेखिएको छ, ‘फाइनान्सहरू सबै १५००–२००० को बाटोमा।’
अर्का व्यक्ति नारायण सापकोटाले बैंकमा लगानीकर्ता आकर्षण गर्ने ढंगमा यस्तै किसिमको पोस्ट गरेका छन्। ‘३०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका वाणिज्य बैंकहरू केबिएल, एनआईएमबी, एलएसएस, प्रभु, सिजेडबीआईएल, जिबिआईएमई, एमबीएल, एनएमबी, एचबीचल, एनबिएल र पिसीबीएल’ सापकोटाले लेखका छन्।
१६०० लगानीकर्ता जोडिएको सकार ट्रेडर नामक टेलिग्राम ग्रुपमा पनि लगानीकर्तालाई प्रभावित पार्ने ढंगमा विभिन्न गतिविधि भइरहेका छ। उक्त ग्रुपमा पनि कम्पनीको मूल्य यति पुग्ने, यति घट्ने भन्ने ढंगमा चर्चा गरिन्छ। साथै, कारोबार दिनमा कुन कम्पनीको सर्किट लाग्ने भनेर पनि यस ग्रुपमा तोकिएको देखिन्छ।
‘यो बुलको लिडर कुन कम्पनी होला? भन्नेलाई अभिनन्दन गरिन्थ्यो’ भन्दै पोस्ट लेखेका माधव खनालले अन्य थुप्रै ग्रुपमा यसलाई सेयर गरेको देखिन्छ। उक्त पोस्टमा धेरैले आएर विभिन्न कम्पनीको नाम उल्लेख गर्दै कमेन्ट गरेका छन्। अर्को व्यक्ति राजकुमार शाक्यले पनि ‘बैंक छाडेर जलविद्युत र फाइनान्सतर्फ आकर्षण’ लेखेर लगानीकर्ताको मनोबलमाथि खेलेको देखिन्छ।
हरेक सामाजिक सञ्जालमा गरिने यस्ता किसिमका टिप्पणी तथा गतिविधिले लगानीकर्तालाई कुनै कम्पनीको सेयर खरिद गर्न तथा बिक्री गर्नका लागि उक्साउने गर्दछ। यसरी, म्यानुपुलेसन गरेर नै धेरै व्यक्तिले फाइदा उठाउने गर्दछन्। नयाँ लगानीकर्ताहरू यही हल्ला र चर्चाको पछाडि दौडिने भएकाले जोखिम अझै बढी रहेको पाइन्छ।
केही कम्पनीको सेयर मूल्य हेर्दा अस्वाभाविक ढंगमा बजार चलेको देखिन्छ। सेयर खरिदबिक्री गर्न पाउनु सबैको अधिकार हो।
सामाजिक सञ्जालमा यसरी विभिन्न कुरा फैलाउँदा लगानीकर्तामा त्यसको असर पर्छ। आफ्नो निर्णय भन्दा पनि अन्य व्यक्तिले भनेको कुराका आधारमा लगानीकर्ता सेयर कारोबार गर्ने बाटोमा मोडिन्छन्। लगानीकर्ताले यस्तो अवस्थामा आफ्नो इमोसनलाई नियन्त्रणमा राख्न सक्दैनन्। लगानीकर्तामा परेको मनोवैज्ञानिक असरको फाइदा केही सीमित व्यक्तिले उठाउँछन्।
अर्कोतर्फ हाल वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर मूल्य अस्वाभाविक भएको विषय पनि उठिरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले सामाजिक सञ्जालमा भएका चर्चा तथा कुराकानीको आधारमा निर्णय लिनु हुँदैन। यस्तो किसिमको म्यानुपुलेसनबाट बच्ने उत्तम विकल्प भनेको यस्ता ग्रुप तथा समूहबाट स्वयम् व्यक्ति अलग रहनु हो। यसका अलावा केही सञ्चार माध्यमलेसमेत् व्यक्तिको नाम तोकेर बजार प्रवेश गरेको र लगानी गरेको उल्लेख गर्ने गर्छन्।
लगानीकर्ताले समग्र बजारको प्रवृत्तिलाई हेरेर मात्रै लगानी गर्नुहुँदैन। आफूले लगानी गर्न लागेको कम्पनीले विगतमा आर्जन गरेको नाफा, लाभांश दिने अवस्था र अभ्यास, संस्थागत सुशासन र पारदर्शिता हेर्नुपर्छ। सेयर बजारबारे आधारभूत जानकारी बिना कसैको भनाइको लगानीकर्ता लाग्नु हुँदैन। बजारको प्राविधिक विश्लेषण जानियो भने बजार कुन दिशामा कसरी अघि बढिरहेको छ भन्ने थाहा हुन्छ त्यसका लागि विभिन्न सूचकहरूबारे बुझ्न र जान्न आवश्यक छ।
साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी सामाजिक सञ्जालमा प्रभाव पारेर तथा लगानीकर्तालाई उक्साएर नै केही कम्पनीको सेयर मूल्य अस्वाभाविक भएको हुनसक्ने बताउँछन्। ‘केही कम्पनीको सेयर मूल्य हेर्दा अस्वाभाविक ढंगमा बजार चलेको देखिन्छ। सेयर खरिदबिक्री गर्न पाउनु सबैको अधिकार हो,’ जिसी भन्छन्, ‘तर, वित्तीय विवरण र अन्य सूचकको तुलनामा केही कम्पनीको मूल्य निकै अस्वाभाविक छ। यसलाई नियामकले पनि नजिकबाट नियाल्न आवश्यक छ।’
जिसीले दैनिक कारोबारमा तथा मूल्यमा देखिएका अस्वाभाविक गतिविधिलाई नियामकले सूक्ष्म ढंगमा हेर्नुपर्ने बताए। हुनतः लगानीकर्ता आफैँ सचेत भएर कम्पनीको ब्यालेन्स सिट (वासलात) हेर्ने, नाफा र घाटाको अवस्था विश्लेषण गर्ने, कम्पनीको लगानी र आर्जनका माध्यमहरू हेर्ने, सेयर संरचना र प्रतिसेयर आम्दानी हेर्ने गर्नुपर्छ। यसका अलावा सकार, मौद्रिक नीति, नीतिगत व्यवस्था र परिवर्तन, आफ्नो उद्देश्य यी सबै कुरालाई पनि लगानीकर्ताले हेरेर अगाडि बढ्नुपर्ने हुन्छ।