काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यभार सम्हालेको (असार ३०) आज ठ्याक्कै एक महिना पुगेको छ। एक महिनासम्म खासै देखिने प्रगति नगरेको सरकारले बाँकी ७० दिनभित्र गर्नुपर्ने कामबारे प्रशासनिक मुकाम सिंहदरबारमा प्रधानमन्त्रीले छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरिएको छलफलमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य–मुख्य कामबारे चर्चा भएको हो।
छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिव सहभागी रहे।
सरकारले १०० दिनभित्र गर्नुपर्ने काम, प्रधानमन्त्रीले मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादन सम्झौता गर्ने विषय छलफलमा उठेको मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०–८१ मा समग्रमा ६३ दशमलव ४७ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र १ हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएकोबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको बताए।
सरकारले ३० दिने अवधिको उपलब्धि दुर्गममा जोखिम अवस्थामा रहेका सुत्केरीको हवाई उद्धार, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सुरुआत, मल आपूर्तिमा सहज व्यवस्था गरिएकोलाई देखाएको छ।
छलफलमा बजेट र कार्यक्रम तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तरनिकाय समन्वय अभाव, निर्माण सामग्री अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटालगायत समस्याका कारण आयोजना समयमा नसकिकोबारे छलफल भएको श्रेष्ठले बताए।
यसअघि प्रधानमन्त्री ओलीले साउन १५ भित्र सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिता ल्याउन निर्देशन दिएका थिए।
छलफलमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयका सचिवहरुले चालू आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे मन्त्री र सचिवहरुलाई निर्देशनात्मक ब्रिफिङ गरे।