दक्षिण एसियाली मुलुकभित्र सबैभन्दा पहिला वेलनेसको सुरुआत भारतको केरलाबाट भएको मानिन्छ। केरला आयुर्वेदिक क्षेत्रमा समृद्ध भएकाले प्राकृतिक रुपमा जडीबुटीमार्फत उपचार त्यहाँबाट सुरुआत भएको हो। केरलामा धेरै स्वदेशी एवं विदेशीहरु प्राकृतिक उपचारका लागि पुग्ने गर्छन्। यसलाई पछि गएर वेलनेस टुरिजम भन्न थालियो।
नेपालमा पनि वेलनेस टुरिजमको अवधारणा विस्तारै बढ्न थालेको छ। तर, भारतसहित अन्य मुलुकमा जसरी फैलिएको छ, त्यसरी हुन भने सकेको छैन। नेपालमा २०/२२ वर्षअघि गोकर्ण फरेस्ट रिसोर्टले पहिलो पटक आधिकारिक रुपमा स्पा सेन्टरको स्थापना गरेको थियो। सहरको भीडभाडबाट केही टाढा जंगलको बीचमा रहेको रिसोर्टमा प्राकृतिक रुपमा थेरापी र उपचार गराउने उद्देश्यले गोकर्णले पहिलो पटक स्पा सेन्टर सञ्चालन गरेको थियो।
लेबनानी एक महिला नेपाल आएर रिसोर्टमा स्पा सुरुआत गरेकी थिइन्। त्यसपछि द्वारिकाज होटल र रिसोर्टले स्पासँगै वेलनेस सुरुआत गरेको हो। पछिल्लो समय नेपालमा खुलेका अधिकांश तारे होटल तथा रिसोर्टमा स्पासँगै वेलनेस सेन्टर सञ्चालन हुन थालेका छन्।
धुलिखेलको द्वारिकाज रिसोर्ट, मुस्ताङमा रहेको शिन्तामणि, नगरकोटको काव्या र धुलिखेलकै दुषितथानीमा वेलनेस सञ्चालन भइरहेको छ। ती रिसोर्टमा पर्यटक न्यूनतम १५ दिनका लागि आउने गरेका छन्।
...
वेलनेसको माध्यमबाट विश्वका धनाढ्य पर्यटकको रोजाइ नेपालमा परिरहेको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्य बताउँछन्। ‘विश्वभर खर्बौं रुपैयाँको व्यापार गरिरहेको वेलनेस क्षेत्रले नेपालमा विस्तारै प्रवेश पाइरहेको छ’, प्रमुख कार्यकारी अधिकृत अमात्यले भने, ‘सोही कारण पर्यटकको बसाइ अवधि र खर्चिने रेसियोसमेत बढिरहेको छ, जुन पर्यटनका लागि फाइदाजनक हो।’
धार्मिक एवं सांस्कृतिक हिसाबले समेत समृद्ध नेपालमा प्राकृतिक तरिकाले गरिने उपचार पद्धति र सेवा सत्कारले सबैको मन तान्ने गरेको छ।
स्पा र वेलनेस भनेपछि उसले तीन वटा विषयलाई ग्यारेन्टी गर्नुपर्छ। पहिलो तौल घटाउने, मानसिक रुपमा मजबुत बनाउने र तन्दुरुस्त बनाउनुपर्छ। त्यसका लागि योगा र मेडिटेसन गरिन्छ।
अहिले विश्वभर वेलनेसको आकर्षण बढ्नुमा मानिसमा बढ्दो स्ट्रेसनै हो। ‘अधिकांश मानिस केही न केही तनावमा छन्। उनीहरु त्यो तनावबाट केही समय भए पनि मुक्त हुन चाहन्छन्। तिनको गन्तव्य नेपाल परिरहेको छ’, होटल एसोसिएसन अफ नेपाल(हान)का पूर्वअध्यक्ष योगेन्द्र शाक्यले भने। नेपाल आफैं खुला योग केन्द्रको रुपमा विश्वभर चर्चित रहेको उनको धारणा छ। ध्यान र योगासँगै प्राकृतिक उपचारका लागि नेपाल आउनेहरुको संख्या पछिल्लो समय झनै बढ्दै गएको अमात्य बताउँछन्।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी वेलनेस टुरिजम पर्यटकका लागि मात्र हैन, नयाँ लगानीकर्ताका लागि ठूलो सम्भावना भएको क्षेत्र भएको ठान्छन्। ‘भौगोलिक दृष्टिकोणले वेलनेस टुरिजमका लागि उपयुक्त गन्तव्य नेपाल हो,’ जोशीले भने, ‘पश्चिममा खप्तडदेखि पूर्वको इलामसम्मकै भूभागमा यसको अधिक सम्भावना छ।’
धार्मिक एवं सांस्कृतिक हिसाबले समेत समृद्ध नेपालमा प्राकृतिक तरिकाले गरिने उपचार पद्धति र सेवा सत्कारले सबैको मन तान्ने गरेको छ।
नेपाल पहिलेदेखि नै पावन तपोभूमिको रुपमा रहेकाले अहिले पनि मनशान्तिका लागि योगा–पर्यटन नै मुलुकका लागि उपयुक्त हुने जोशीको बुझाइ छ।
सामान्यतया प्राकृतिक चिकित्सालाई पर्यटनको हिसाबले धेरै मुलुकले विकास गरिसकेका छैनन्। छिमेकी भारतसहित श्रीलंकाले पनि वेलनेस टुरिजमको विकास गरिसकेको छ। यसबाहेक फिलिपिन्सलगायतका मुलुकले प्राकृतिक चिकित्सालाई पर्यटनको रुपमा विकास गरेको पाइन्छ।
पछिल्लो समय नेपालमा खुलेका अधिकांश तारे होटल तथा रिसोर्टमा स्पासँगै वेलनेस सेन्टर सञ्चालन हुन थालेका छन्।
प्राकृतिक चिकित्सा पर्यटन सहरी भेगमा सञ्चालन गर्न सम्भव छैन। यसलाई चाहिने आधारभूत वस्तु जस्तो, तरकारी होस् या अन्य वातावरण। सबै अग्र्यानिक हुनुपर्ने सुस्वास्थ्य अस्पतालका अध्यक्ष एवं अकुपञ्चरिस्ट सुदर्शन बस्नेत बताउँछन्।
‘स्वास्थ्य पर्यटनको हिसाबले नेपाल पर्याप्त सम्भावना बोकेको मुलुक हो। स्वास्थ्य पर्यटनमध्ये प्राकृतिक चिकित्साका लागि झनै सम्भावनायुक्त क्षेत्र हो,’ अध्यक्ष बस्नेतले भने, ‘आयुर्वेदिक वा जडीबुटी पर्यटनका हिसाबले नेपालमा ठूलो सम्भावना छ। वातावरणको हिसाबले पर्याप्त सम्भावना बोकेको ठाउँ भए पनि राज्यले चासो नदिँदा यसलाई अघि बढाउन सकिएको छैन।’
वेलनेसले पर्यटनमा के फाइदा?
बिरामी नभए पनि बिरामी हुनबाट जोगिन गरिने भ्रमणलाई वेलनेस पर्यटन भनिन्छ। यसमा योग, मेडिटेसन, स्पालागत आयुर्वेद पद्धति प्रमुख हुन्। कुनै रोग लागिसकेपछि यसको उपचारका लागि गरिने भ्रमण नै स्वास्थ्य पर्यटन हो।
वेलनेसका लागि नेपाल आउने पर्यटक लामो समय बस्छन्। उनीहरु न्यूनतम २ सातादेखि १ महिनासम्म बस्छन्। जसको तौल घटाउनुपर्ने हुन्छ, ती व्यक्ति एक महिनाभन्दा बढी समय बस्न रुचाउँछन्। धेरै वेलनेस गर्नेहरुले डाइटको तालिका(सेड्युलसमेत दिएका हुन्छन्। उनीहरुले दैनिक कति खाने र कस्तो खाना खाने आदि विवरणसहितको तालिका दिइएको हुन्छ। सोहीअनुसार वेलनेस गर्नेहरुले प्रयोग गर्छन्।
यसको मुख्य आकर्षण भनेको होटलमा आउने ग्राहकलाई धेरैभन्दा धेरै समय राख्ने भन्ने हो। यो सेवा सञ्चालन गरेका होटलको लक्ष्यचाहिँ ग्राहकलाई पूर्ण सन्तुष्टि र तन्दुरुस्त बनाउनु रहेको हुन्छ।
पर्यटक न्यूनतम १० दिन बस्छन्। राम्रो पैसा तिरेर लामो समय बस्दा होटललाई फाइदा हुने भएकाले पछिल्लो समय वेलनेसप्रति धेरैको रुचि बढेको देखिन्छ। अक्टोबरदेखि खुम्बु क्षेत्रमा कुण्ड नामक वेलनेस सेन्टर सञ्चालनमा आउँदै छ। कुण्ड ३ हजार ५ सय मिटरको उचाइमा रहनेछ। त्यहाँ एउटा पर्यटकले दैनिक ६ सयदेखि १२ सय अमेरिकी डलरसम्म खर्च गर्छन्।
खुल्दै वेलनेस रिसोर्ट
अहिले वेलनेसकै लागि विभिन्न रिसोर्ट खुल्न थालेका छन्। तीमध्ये नवलपुरको देवचुलीमा रहेको मिराया पनि एक हो। यहाँ वाटर ट्रिटमेन्ट, एयर ट्रिटमेन्टलगायत धेरै विधि र पद्धतिबाट उपचार गरिन्छ।
मिराया पछिल्लो समय नेपालका धनाढ्यको पहिलो रोजाइमा पर्न थालेको छ। सहरको होहल्लाबाट मुक्त हुँदै तनाव कम गराउने सोचका साथ काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायत क्षेत्रबाट धेरै पर्यटक वेलनेसका लागि आउने गरेको महाप्रबन्धक अरुण झा बताउँछन्। उनका अनुसार वेलनेसका लागि नेपालीहरु कम्तीमा एक साताका लागि आउने गर्छन्।
द्वारिकाज होटलका सिनियर मार्केटिङ एक्जुकेटिभ जागृति श्रेष्ठ वेलनेसका लागि विभिन्न प्याकेज दिइँदै आएको सुनाउँछिन्। योगादेखि तौल घटाउन समय–तालिका फरक–फरक हुने गरेको उनी बताउँछिन्। तौल घटाउन ८ रात ९ दिन अनिवार्य गराइएको छ। यस्तै, स्ट्रेस म्यानेजमेन्टदेखि अन्य योगा वा प्राकृतिक उपचारका लागि न्यूनतम एक साताको प्याकेज अनिवार्य रहेको र धेरै विदेशीले यो खाले प्याकेज रुचाइरहेको उनले बताइन्।
धुलिखेलमै रहेको दुषितथानीले थाइल्यान्डमा जुन खाले विधि र पद्धतिअनुसार वेलनेस हुन्छ, सोही खाले सेवा दिँदै आएको छ।
बूढानीलकण्ठमा रहेको मिराकी पनि वेलनेसका लागि उत्कृष्ठ गन्तव्य हो। यी गन्तव्य वेलनेसकै लागि बनाइएका हुन्। अथाह सम्भावना देखेरै अहिले हरेक होटलमा वेलनेस सेन्टर राख्न थालिएको छ। सञ्चालन तयारीमा रहेको हिल्टन होटलमा समेत सुविधासम्पन्न वेलनेस राखिएको छ। करोडौं रुपैयाँ लगानी गरिएको वेलनेस महँगा पर्यटक ल्याएर लामो समय बसाउन सकिने गतिलो माध्यमको रुपमा विस्तार हुन सक्ने सम्भावना अधिक छ।
पछिल्लो दशक सञ्चालनमा आएका लक्जरी रिसोर्ट मुस्ताङको शिन्तामणि, नगरकोटको काव्या, धुलिखेलको द्वारिकाज रिसोर्ट, दुषितथानी, चितवनको मेघौली सेराई एवं बाराही, ललितपुरको टेरेस र काठमाडौंको हिल्टेन होटलमा वेलनेस तथा स्पा सेन्टर राख्न राखिएका छन्।
खासगरी बस्तीभन्दा पर जंगलको बीचमा सञ्चालनमा रहेका रिसोर्टले वेलनेस सञ्चालन गरेका छन्। प्रकृतिसँगको सामिप्यमा रमाउँदै ध्यान, योगा गर्न चाहनेलाई लक्षित गरी वेलनेस क्षेत्रमा अर्बौं लगानी गरिँदै आएको छ। चितवनमा नोभेम्बरदेखि सुरु हुने पोस्टकोर्ड लक्जरी रिसोर्टमा सुविधासम्पन्न वेलनेस सञ्चालन तयारी छ।
विदेशीले वेलनेसका लागि नेपाल रोज्नुको कारण
नेपाल भन्नेबित्तिकै विदेशीको मनमा उब्जिने भनेकै शान्त मुलुक भन्ने हुन्छ। यहाँको प्राकृतिक सुन्दरतासँग रम्दै वेलनेसमा मस्त हुन चाहनेहरु अन्य मुलुक छाडेर नेपाल आउने गरेका छन्। यहाँका हिमाल, झर्ना, प्राकति वैभव र हरियाली वातावरणमा ध्यान एवं योगा गर्न वार्षिक रुपमा हजारौं विदेशी नेपाल आइरहेका छन्।
धुलिखेलको द्वारिकाज रिसोर्ट, मुस्ताङमा रहेको शिन्तामणि, नगरकोटको काव्या र धुलिखेलकै दुषितथानीमा वेलनेस सञ्चालन भइरहेको छ।
जो आफ्नो उद्योग, व्यापारले तनावमा पारेको हुन्छ वा व्यस्त तालिकाबाट केही समय मुक्त भएर शान्त वातावरणमा रमाउन चाहन्छन्। त्यस्ता व्यक्तिको रोजाइ नेपाल परिरहेको हुन्छ। १० देखि २५ दिनसम्म एकै ठाउँ बस्ने र कुनै किसिमको तनाव नलिने पर्यटक बढ्न थालेका छन्।
विदेशीको तुलनामा नेपालीले दिने आतिथ्य राम्रो हुने भएकाले पनि धेरै विदेशीको घुम्ने वा बिदा मनाउने प्रमुख गन्तव्यको रुपमा नेपाललाई बनाइरहेका हुन्छन्।
वेलनेसका लागि नेपाल आउने विदेशीमा सबैभन्दा बढी अमेरिका, युरोप र अस्ट्रेलियाली हुने गरेका छन्। यस्तै, जापानलगायतका मुलुकबाट पनि वेलनेसका लागि नेपाल आउनेको संख्या ठूलो छ।
अफ सिजनलाई ‘अपसेट’ गर्न वेलनेस विकल्प
नेपालमा जेठ, असार, साउन, भदौ महिनालाई विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशीका लागिसमेत अफ सिजनको सयम मानिने गरेको छ। यतिबेला बर्खाको मौसम हुने हुँदा पहिरो खस्दा सडक यात्रा राम्रो नहुने भएकाले घुमफिरमा निस्कनेहरुको संख्या न्यून हुन्छ। सोहीअनुसार अहिलेसम्म विदेशमा प्याकेज बेच्ने टुर एन्ड ट्राभलले पनि यो महिनाका लागि खासै प्रचार गरेको पाइँदैन।
तर, पछिल्लो समय लोकप्रिय बन्दै गएको वेलनेस कल्चर नेपालका लागि बाह्रैमास उपयुक्त हुने व्यवसायीको भनाइ छ। अझ पानी परेको मौसममा हरियालीमा रमाउँदै योगा र ध्यान गर्नेहरुलाई राम्रो वातावरण हुने बताइन्छ।
छैन वेलनेस मापदण्ड
वेलनेस सेन्टरको मापदण्ड कस्तो हुने भन्ने सरकारी मापदण्ड हालसम्म तोकिएको छैन। जुन–जुन होटलले वेलनेस सेवा दिँदै गएका छन्, ती होटलले एकआपसमा राम्रो राख्ने प्रतिस्पर्धा चलाइरहेका छन्। सरकारले हालसम्म वेलनेसका लागि आवश्यक कुनै मापदण्ड बनाएको छैन। संसारभरि नै व्यापार विस्तार हुँदै गएकाले व्यवसायीले नै प्रतिस्पर्धाका आधारमा मापदण्ड कायम राख्दै आएको देखिन्छ।
विशेषगरी धनी मानिसहरु वेलनेसमा लाखौं रुपैयाँ तिरेर खर्च गर्न तयार हुन्छन्। नेपालबाहेक भारत, थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकमा वेलनेसले राम्रो बजार पाइरहेको छ।
धनाढ्य आकर्षण गर्ने मुख्य माध्यम
दैनिक लाखौं रुपैयाँ तिरेर हप्तौंसम्म एकै ठाउँ बस्ने विदेशी एवं स्वदेशी पर्यटक आकर्षण गराउने मुख्य माध्यम नै वेलनेस सेन्टर बन्न थालेका छन्। सामान्यतया धेरै धनीलाई बढी तनाव हुने गर्छ। तनावबाट मुक्त हुन दैनिक हजारौं डलर तिरेर र नयाँ ठाउँ गएर शान्तमनले बस्न र स्वास्थ्यको हेरचाह गर्ने धनाढ्यको संख्या बढ्दै गएको छ। पछिल्लो समय नेपालमा पनि लक्जरी होटल तथा रिसोर्ट खुल्ने क्रम बढेसँगै विदेशी धनाढ्यको रोजाइमा पर्न थालेको पाइन्छ।
‘बाई आउट’ पर्यटक बढ्दै
नेपालमा जति धेरै संख्याका लक्जरी होटल तथा रिसोर्ट खुल्दै गएका छन्, त्यति नै धनाढ्य पर्यटक आगमन संख्या बढ्दै गएको छ। अहिले त यतिसम्म हुन थाल्यो, कुनै– कुनै पर्यटक सिंगो रिसोर्ट नै बुक गरेर एक्लै बस्न थालेका छन्। पछिल्लो समय मुस्ताङमा रहेको शिन्तामणि रिसोर्टमा यस्तो खाले प्रचलन सुरु भएको छ। ‘बाई आउट’ अर्थात् एकै व्यक्तिले रिसोर्टमा रहेका सबै कोठा बुक गर्ने र अरुलाई प्रवेश गर्न नदिने गरिएको छ। शिन्तामणिमा हाल २९ वटा कोठा छन्। शिन्तामणिमा दैनिक २ हजार अमेरिकी डलर तिर्नुपर्छ भने न्यूनतम ५ दिनको बसाइ हुनुपर्छ। त्यहाँ वेलनेसका लागि छुट्टै ठाउँ निर्धारण गरेको छ।
ट्रेकिङपछि मेडिकल टुरिजममा धेरै पर्यटक
विश्वभरका ट्रेकिङ पारखीले नेपाललाई विशेष गन्तव्यको रुपमा लिँदै आएका छन्। जसले ट्रेकिङ गर्छन्, तिनले नेपालमा गएका छैनन् भने यात्रा अधुरो भएको अनुभव गर्छन्। नेपाललाई ‘मका’को संज्ञासमेत दिँदै आएका छन्। अर्थात्, सबैभन्दा माथि भनेर नेपाललाई लिने गरेका छन्। त्यसैका लागि यहाँ आउँछन्। ट्रेकिङपछि सबैभन्दा बढी विदेशी वेलनेस टुरिजमको रुपमा आउने गरेका छन्।
‘लेजी’ पर्यटक बढ्दै
नेपाल घुमफिरमा कुनै–कुनै पर्यटक यस्ता पनि आउँछन्, जो दिनभरि एक ठाउँ बस्ने र खाने मात्र गर्छन्। अरु विषयको कुनै चासो नलिने र एक ठाउँ बसेर मात्र समय बिताउन चाहनेहरुको संख्या पछिल्लो समय बढिरहेको छ। अहिले नेपालमा आउने पर्यटक संख्याको १८ प्रतिशत एडभेन्चर, ८ प्रतिशत कर्पोरेट, बिजनेस र बाँकी ७४ प्रतिशत लेजी पर्यटक हुन्। लेजीभित्र मेडिल टुरिस्ट पनि पर्छन्, जसलाई समयको मतलबै हुँदैन। मन परेको ठाउँमा लामो समयसम्म रहेर आनन्द लिने पर्यटकको संख्या पनि बढ्दै गएको छ।
कुनै समय खाजा, खाना र घुम्ने समय निर्धारण गरिएको हुन्थ्यो। हतारहतार घुम्दै फर्किनुपर्ने बाध्यता हटेसँगै अहिले सिफ्ट भएर ‘लेजी’ पर्यटनमा रुपान्तरण हुँदै गएको छ।
दात र आँखा उपचारका लागि आउँछन् विदेशी
वेलनेसका लागि मात्र हैन, दाँत र आँखा उपचारका लागिसमेत विदेशीहरु नेपाल आउने गरेका छन्। तथ्यांकमा कति विदेशीले सेवा लिए भन्ने उल्लेख नभए पनि विदेशमा दाँत र आँखा उपचार महँगो हुने भएकाले नेपाल आउने गरेको बताइन्छ। आफ्नो देशमा खर्च गर्ने पैसाले यहाँ आएर उपचार गरेर फर्किन सकिने हुँदा पनि धेरैको रोजाइमा नेपाल परेको बताइन्छ।
आँखा र दाँतको उपचार विदेशमा महँंगो भएकै गैरआवासीय नेपालीहरु पनि नेपालमै आउने गरेका छन्। अहिले आँखा उपचारका लागि तिलगंगा अस्पताललाई विश्वकै उत्कृष्ट सूचीमा राखिएको छ। पछिल्लो समय तराईका अधिकांश जिल्लामा आँखा उपचारका लागि अस्पताल खोलिएका छन्। दैनिक सयौंको संख्यामा भारतीय नागरिक आँखा उपचारका लागि तराईका जिल्लामा सञ्चालित अस्पताल आउने गरेको झापास्थित ओमसाई पाथीभरा अस्पतालका अध्यक्ष दीपक पोखरेल बताउँछन्। तराई क्षेत्रमा भारतको युपी र बिहार प्रदेशका नागरिक उपचारका लागि आउने गरेका छन्।
(साउन अंकको क्यापिटल बिजनेस म्यागजिनबाट)