काठमाडौं। विश्वमा स्मार्ट बैंकिङ विस्तारले फड्को मारिसके पनि नेपालमा बल्ल नीति निर्माणको तयारी थालिएको छ। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बैंकिङमा प्रचलित अभ्यासमा रहेको कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगले नेपालमा पनि मान्यता पाउने गरी नीति निर्माण प्रकृया अघि बढाएको हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा एआई प्रयोगबारे मार्गनिर्देशन जारी गर्ने घोषणासँगै अहिले त्यसको आवश्यक तयारी सुरु गरिएको हो।
‘यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्र प्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधि प्रयोगलाई लक्षित गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता एआई सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुन सक्ने जोखिम पहिचानसँगै समाधान गरी कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।
एआईले प्रशासनिक खर्च कटौती गर्ने र संस्थाहरूकाे खर्च ठूलो मात्रामा बचत गर्न सहयोग हुने भएपछि अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा प्रयोग बढ्दो छ। अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा एआई प्रयोग त्यहाँका सरकार र केन्द्रीय बैंकको मार्गनिर्देशनअनुसार भइरहेको छ। नेपालका अधिकांश बैंकहरुमा पनि एआई प्रयोग भएको पाइन्छ। एआईका विभिन्न फिचरमध्ये ‘च्याटबट’ नेपालका बैंकहरुले प्रयोगमा ल्याएका छन्।
केही वर्षयता बैंकिङ क्षेत्रले प्रयोगमा ल्याएका एआई नियमन तथा निरीक्षणबारे भने नेपालकाे बैंकिङ नियामक राष्ट्र बैंकले हालसम्म कुनै नीति नियमन बनाएको छैन।
बैंकहरुले स्वःस्फूर्त रुपमा एआईको प्रयोग बढाउन थालेपछि त्यसलाई नियमनको दायरामा ल्याउन लागिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन्। केन्द्रीय बैंकले गत असारमा सञ्चार तथा सूचना मन्त्रालयले तयार गरेकोे नेपालमा एआईको प्रयोग एवं अभ्यासबारे अवधारणापत्रको आधारमा मार्गदशन तयार गरिरहेको छ।
उक्त अवधारणपत्रमा उल्लेखित वित्तीय क्षेत्रमा एआई उपयोगिताबारे उल्लेख गरिएको विषय समेटेरै मार्गदर्शन तयार गरिने पौडेलको भनाइ छ।
‘केही महिनाअघि सञ्चार मन्त्रालयले नेपालमा एआईको प्रयोग र अभ्यासबारे अध्ययन प्रतिवेदन तयार गरेको छ। त्यसैको आधारमा थप अन्तरार्ष्ट्रिय अभ्यासको अध्ययन गरेर मार्गदर्शन तयार गर्ने तयारीमा छौं,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख पौडेलले क्यापिटल नेपालसँग भने, ‘अहिले बैंकहरुले एआईमा च्याटबटलगायत अन्य केही फिचर प्रयोगमा ल्याएका छन्। मार्गदर्शनपछि त्यसमा निर्देशित भएर सिस्टममा एआई प्रयोग गर्नुपर्ने हुन्छ।’
बैंकिङ क्षेत्रमा एआईको अधिकतम प्रयोगलाई मार्गनिर्देशन गर्न राष्ट्र बैंकले आवश्यक प्रकृया चालू वर्षभित्रै सम्पन्न गर्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बैंकिङमा एआईको अभ्यास
विश्वका करिब ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाले एआईको प्रयोग गर्ने विश्व बैंकको ‘आर्टिफिसियल इन्टेलिजेन्स इन पब्लिक सेक्टर’ प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनमा सन् २०३० सम्म एआई उद्योगको अर्थतन्त्र १३ ट्रिलियनसम्म पुग्ने बताइएकाे छ।
कुनै पनि क्षेत्रका सेवामा एआईको प्रयोग बढ्नु भनेको त्यस क्षेत्रमा भौतिक उपस्थितिको सेवा कम हुँदै जानु हो। अटोमेसनमा सेवा प्रवाहका लागि प्रयाग भएका एआईले कर्मचारीले भन्दा छिटो तथा गुणस्तरिय सेवा दिने निक्र्योल गर्दै विश्व बजारमा एआईको प्रयोग बढ्दो छ। प्रविधिसँगै बढेको एआई प्रयोगले रोजगार प्रतिष्ठानकाे कर्मचारी र अन्य सञ्चालन खर्च जोगाएर यसको बचत सन् २०२५ सम्म १ ट्रिलियन पुग्ने युनिभर्सल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युनिभर्सिटीले गरेको एक अध्ययन रिपोर्टमा देखिएको छ।
नेपालको बैंकिङले एआई प्रयोगको आधिकारिता चालू वर्षमा मात्रै पाउने भए पनि विश्वका एक सय बढी देशका बैंकहरुले एआई प्रयोगमा ल्याइसकेका छन्। यी कम्पनीले एनालाइटिक, च्याबटबैंकिङ व्यवसायलाई विस्तार गर्न सहज बनाउने गरी एआई सेवा दिइरहेका छन्।
यसमध्ये सबैभन्दा बढी एआईमार्फत बैंकिङ सञ्चालन गर्नेमा अमेरिका, क्यानडा, म्याक्सिको, बेलायत, अष्ट्रेलिया, जर्मन, फ्रान्स, इटाली, टर्की, रसिया, युरोप, ब्रजिल, अफ्रिका, भेतनाम चीन, जापान, कोरिया, भारत, इन्डोनेसिया, थाइल्याण्डलगायत देश रहेका छन्।
विश्वमा सन् २०२३ सम्म बैंकिङ क्षेत्रमा ७३ सय ५४ मिलियन बराबरको एआई प्रयोग भइसकेको छ। यसको वृद्धि हरेक वर्ष २८.८ प्रतिशतको रहेको विभिन्न रिपोर्टले देखाउँछ। विश्वका देशहरुले प्रयोगमा ल्याएका एआई पहिले नै प्रयोगमा आइसकेका सफ्टवेयरमार्फत गरेको पाइन्छ। एआई कम्पनीले नै बैंकले प्रयोगमा ल्याएका हाडवेयर, सफ्टवेयर सेवाप्रदायक कम्पनीसँग समन्वय गरी बैंकहरुलाई एआई सेवा बिक्री गरिरहेका छन्।
अन्तर्राष्ट्रिय बैंकिङमा प्रचलित रहेका एआई कम्पनीमा माइक्रोसफ्ट, ओपन एआई, फेसबुक, एप्पल, अल्फाबेट, अमाजोन, वाइडु, आइबिएम, ब्लु फ्रक रोबटिक्स, आलिबाबा, हुवावे, इन्टेल, साएपी, क्यासिओ सिस्टम, नाभिडिए, टेकसेन्ट, युसिस टेक्नोलोजी, हेवलेट प्याकार्ड इन्टरप्राइजेसलगायत २ सय बढी कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले बैंकिङ व्यवसायलाई विस्तार गर्न एनालाइटिक्स, च्याटबट र रोबोटिक्स् प्रोसेस अटोमेसन (आरपिए) को विकास गरी आवश्यक सेवा बिक्री गर्छन्।
छिमेकी भारत र चीनमा त्यहाँको केन्द्रीय बैंकले धेरै पहिले मार्गदर्शन ल्याइसकेका छन्। भारतीय रिजर्ब बैंक (आरबिआई) ले त्यहाँका बैंकहरुलाई नन् बैंकिङ फाइनान्सियल कम्पनी (एनबिआईसी)को एआई प्रयोग गर्न निर्देशन दिएको छ। आरबिआईले बैंकिङ फर्ड रोक्न त्यहाँका बैंकहरुले एउटै कम्पनीको एकै प्रकारका एआई प्रयोग गर्न सुझाइसकेको छ।
नेपालका वित्तीय क्षेत्रमा एआई प्रयोगको सम्भावना
नेपालमा वित्तीय क्षेत्रसँगै अन्य क्षेत्रमा एआईको प्रयोग एवं अभ्यासबारे गत असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवधारणापत्र तयार गरेको थियो।
नेपालमा पहिलो पटक सरकारले तयार गरेको उक्त अवधारणापत्रमा नेपालमा एआईको क्षेत्रगत उपयोगितामा स्वास्थ्य सेवा, कृषि, शिक्षा, पयर्टन, स्मार्ट सहर, यातायात र पूर्वाधार विकास, वित्तीय क्षेत्र, सुशासन र सार्वजनिक सेवा रहेका छन्। साथै, वातावरणीय अनुगमन तथा विपद् व्यवस्थापन, सांस्कृतिक, कला र भाषा अनुवाद र प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा पनि एआईको उपयोग गर्न सकिने एआईको प्रयोग एवं अभ्याससम्बन्धी अवधारणापत्रमा उल्लेख छ।
उक्त प्रतिवेदनअनुसार बैंकिङमा एआई संचालित प्लेटफर्मले लगानी ऋण र अन्य प्रकारका जोखिम व्यवस्थापनबारेमा निर्णय गर्न विभिन्न स्रोतबाट ठूलो मात्रामा डाटा विश्लेषण गर्न सक्छन्। यसको नेपालका बैंकिङ, व्यापार र लगानी व्यवस्थापनजस्ता वित्तीय सेवामा समेत उपयोग भएको छ। नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाले ग्राहक सेवा स्वचालनका लागि एआई संचालित च्याटबट र भर्चुअल असिस्टेन्टको प्रयोग गर्न सुरु गरेको देखिन्छ।
कृत्रिम बुद्धिमत्ता प्रयोगले वित्तीय सेवामा लगानी सुझाव, आर्थिक कारोबारको निगरानी र संचालनमा मद्दत गर्छ। यसले लगानीकर्तालाई लगानी प्रवद्र्धनमा सहयोग प्रदान गर्दछ र वित्तीय निर्णयमा सुधार ल्याउँछ।
एआईमा आधारित फिनटेक समाधानले वित्तीय सेवामा पहुँच विस्तार गर्न, मोबाइल बैंकिङलाई सहज बनाउन, सेवा नपुगेका मानिसका लागि क्रेडिट स्कोरिङ प्रदान गर्न र जालसाजी गतिविधि पत्ता लगाउन प्रयोग गरी समग्र वित्तीय क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सकिने देखिन्छ।
बैंकिङमा एआई प्रयोग चुनौती
बैंकिङ सेवासम्बन्धी जानकारी र समस्या समाधानका उपायबारे ग्राहकलाई चौबीसै घण्टा आवश्यक पर्छ। तर, नेपालका बैंकहरुको कर्मचारीको कार्यालय समय निश्चित हुन्छ भने एटिएम सेवा बाहेक बैंकिङ सेवा ७ दिन २४ घण्टा गरिएको छैन। यसले गर्दा नेपाली बैंकिङ ग्राहकले समस्या समाधानका लागि बैंक कार्यालय समय कुर्नुपर्ने बाध्यता छ।
समस्याको समाधान गर्न नेपालका केही बैंकहरुले भर्चुअल असिस्टेन्ट ‘च्याटबट’मार्फत निश्चित सेवाबारेमा जानकारी दिन्छन्। साथै, समाधानका लागि ग्राहकलाई आवश्यक निर्देशन दिने, बैंकका कर्मचारीलाई निर्देशित गर्ने गरी इमेल तथा म्यासेज छोड्ने काम भर्चुअल असिस्टेन्टले गर्छन्। यस्तो एआई फिचर नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याएका छन्।
यसबाहेक विश्वमा बैंकिङ क्षेत्रमा एआईको प्रयोग गरी भविष्य विश्लेषण र मूल्यांकन, साइबर सुरक्षा र जालसाजी पत्ता लगाउने, क्रेडिट स्कोरिङ गरी ऋण दिने निर्णयमा सहजता लिने, जोखिम प्रावधानमा सहयोग लिने, डाटा संग्रह गरी विश्लेषण गर्ने गरिन्छ।
विश्वमा एआई प्रयोग गर्ने बैंकहरुले यसको मद्दतले मार्केटिङ, प्रोडक्ट एण्ड सर्भिस निर्माण, सेल्स एण्ड रिलेसनसिप म्यानेज, अप्रेसन सिस्टम विस्तार, रिस्क मिटिगेसन एण्ड म्यानेज र पर्फमेन्स गर्छन्। एआई प्रयोगले बैंकहरुलाई ग्राहकको तत्काल आवश्यक बुझेर ग्राहक मूल्यांकन गरी सोहीअनुसारको प्रोडक्ट बनाउन मद्दत हुन्छ।
एआई प्रयोगमा हुने काममा त्रुटिसमेत कम हुने हुँदा बैंकिङ क्षेत्रले डिजिटल प्रणालीसँग यसको प्रयोग बढाउँदै लगेका छन्। एआईको प्रयोगमा दैनिक काम स्वचालित हुँदै जाँदा बैंकिङ फ्रड कम हुने मात्रै नभएर नियामकीय अनुपालन पनि शतप्रतिशत हुने देखिन्छ।
बैंकिङ क्षेत्रमा एआई प्रयोगको फाइदा मात्रै नभएर त्यसको बेफाइदा अर्थात् जोखिम पनि प्रशस्त हुन्छन्। यसको न्यूनीकरणका उपायसहित बैंकिङ क्षेत्रले एआई प्रयोग बढाउँनु पर्ने देखिन्छ। यसमा नियामक निकायले समेत सोहीअनुसारको सुरक्षा प्रणाली सुझाउनुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा एआईको प्रयोगले व्यक्तिगत तथा संस्थागत डेटाको गोपनीयता सुरक्षित नहुने, पारदर्शिता अभाव, कर्मचारी विस्थापितको जोखिम, नियामकीय निरीक्षणमा चुनौती, प्रविधिमा परनिर्भता, साइबर सुरक्षा जोखिम, नैतिक विचार अभावलगायत चुनौती छन्।