काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकका कुनै पनि सर्ट कोड वा सेवाप्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचना आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने बताएको छ।
प्राप्त वा पठाइने सूचनाले विशेषगरी केवाईसीमा मोबाइल नम्बर चाहिने र नेपाली नागरिकलाई आफ्ना सेवा–सुविधाबारे जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायलाई महत्त्व राख्ने एनसेलले जनाएको छ।
विविध डिजिटल सेवा प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टू पर्सन (एटूपी) म्यासेजजस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने कम्पनीको भनाइ छ। यस्ता ओटीपी, एसएमएस र नोटिफिकेसन सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था र गुगल र फेसबुकजस्ता विश्वव्यापी प्लेटफर्मले पठाउने गरेको एनसेलले बताएको छ।
‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या छैन। हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले ग्राहक सधैं अन रहेको देखाउँछ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘सुरुमा ९७० रेन्जमा केही प्रारम्भिक समस्या देखिएका थिए। ती समस्या विभिन्न प्रमुख सेवाप्रदायकको समझदारीका साथ समाधान गरिसकिएका छन्। एनसेल ग्राहकले आन्तरिक राजस्व कार्यलय, विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक सञ्जालबाट ओटीपी प्राप्त गर्दै आएका छन्।’
एनसेल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइबारे स्पष्ट पार्दै कम्पनीले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएका बेला एनसेलका सबै नम्बर यस्ता जानकारी तथा सूचना प्राप्त गर्न योग्य रहेको बताएको छ। एनसेलले अन्य सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न कम्पनीले आग्रह गरेको छ।