काठमाडौं । भदौ ११ देखि १६ सम्म आयोजना हुने यस वर्षको नाडा अटो शोमा १३० स्टलले सहभागिता जनाउने भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने जानकारी दिएको हो।
यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे, १९ दुईपांग्रे, १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन गरिने आयोजकले बताए। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन गर्नेछन्।
७ वित्तीय संस्थाले अनुकूल वित्तीय समाधान दिने शो ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।
पत्रकार सम्मेलनमा अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक रहेको नाडा अध्यक्ष करण चौधरीले बताए। व्यवसायीका रोजीरोटी र सरकारका लागि पनि कर उठाउने स्रोत भए पनि बेवास्ता गरिएको उनले गुनासो गरे।
नाडाका अनुसार आगन्तुक सुविधाका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। अग्रिम टिकट खरिदकर्ताले अगस्त २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन्।
मिडियालाई स्थान दिन प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क राखिनेछ। नेपालको सडक सुरक्षा र ट्राफिक नियमको प्रतिवद्धतालाई ध्यानमा राख्दै प्रदर्शनीमा महानगर ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क रहने नाडाले जनाएको छ।
यस वर्षको नाडा अटो शो पहिलेभन्दा प्रभावशाली हुने अपेक्षा नाडाको छ। शेमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायोजकको रुपमा रहेका छन्।