काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजामती कर्मचारीमाथि लाग्दै आएको सेवाग्राही अमैत्रीपूर्ण व्यवहार सुधार्नुपर्नेमा जोड दिएका छन्। उनले राष्ट्रसेवकले टाइसुटवाला र झुत्रेझाम्रे सबै सेवाग्राहीलाई समान गर्नुपर्ने धारणा व्यक्त गरे।
आज ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम समापन समारोहमा सहभागी मन्त्री पौडेलले कर्मचारीले सेवाग्राहीको पोसाकका आधारमा नभई समस्यातिर ध्यान दिएर काम गर्नुपर्ने सुझाव दिएका हुन्।
उनले भने, ‘कर्मचारी हाकिमको आदेशभन्दा पनि कानुनसम्मत, राष्ट्र र नागरिक हितसँग बाझिएबाहेकमा विषयमा डराउनुपर्ने स्थिति छैन। सेवाग्राहीलाई समान व्यवहार गर्नुपर्छ। सेवाग्राही टाइसुट लगाएर आएको होला, चस्मा, कोट लगाएर आएको होला। झुत्रे झाम्रे पोसाकमा आउलान्। सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्छ। कर्मचारीले रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति देखाउनु उचित हुँदैन।’
निजामती कर्मचारीले हाकिमको आदेश, त्योभन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आए पनि कानुनविपरीत भए त्यसलाई अस्वीकार गर्न सक्नुपर्ने उनको भनाइ छ। नागरिक सेवाबाहेकका काम कानुनसम्मत नभए जोसुकैको आदेश नमान्न उनले नवप्रवेशी अधिकृतलाई निर्देशन दिए।
सरुवा÷बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गर्दै उनले सोर्स लगाउने प्रवृत्तिले कर्मचारीको क्षमतामाथि प्रश्न उठ्ने दाबी गरे। ‘कर्मचारीले पोस्टिङजस्ता विषयमा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्क राख्न सक्नुपर्छ। तर नेता, मन्त्रीकहाँ गएर मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउनु हुँदैन। यसले तपार्ईंहरुको कार्यक्षमताथि प्रश्न उब्जिन्छ,’ उनले भने।
मन्त्री पौडेलले राजस्व परिचालन लक्ष्य पूरा गर्न अप्ठेरो परिरहेको र बेरुजु बढिरहेकामा चिन्ता व्यक्त गरे। यसका लागि लेखा प्रणाली दुरुस्त हुन आवश्यक रहेको उनको भनाइ छ।