काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटले आजबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुई कम्पनी एकापसमा मर्ज भई आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
रेमिट्यान्स सेवालाई थप परिस्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिटलाई मर्जर गरेर एकीकृत कारोबार सुरु गरिएको उनले जानकारी दिए।
मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुनेछ। हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ।
मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्ब बढी हुने अनुमान छ। आइएमई देशकै बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमईले जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउँदै आएको छ।
मर्जपछि सर्वसाधारणका लागि १० प्रतिशत सेयर निष्कासन प्रक्रिया अगाडि बढाइसकिएको कम्पनीका अध्यक्ष ढकालले बताए।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ भने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि पुगिसकेको ढकालले जानकारी दिए।
दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एकआपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेका थिए। सोही प्रस्तावअनुसार आज एकीकृत कारोबार सुरु भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष एवं ग्लोबल आइएमई बैंक अध्यक्षसमेत रहेका ढकालले आइएमईलाई चाँडै पब्लिक कम्पनीमा लगिने बताए।
आइएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार घोषणा कार्यक्रममा अध्यक्ष ढकालले आइएमईमा जनतालाई मालिक बनाउने घोषणा गरेका हुन्।