काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभित्रका 'बा'लाई २०४७ सालपछिका सबै काण्ड खोलेर इतहास रच्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै साहले नेटफिलिक्सको वेब सिरिजमा रमाउने आजको पुस्तालाई २०४७ पछिका सबै काण्डका दोषीलाई कारबाही गरेर नयाँ एपिसोड देखाउन आग्रह गरे। उनले ओली फिलिक्सको वेब सिरिज हेर्न टेरामक्स, टि–इस्टेट, टीकापुर, सहकारीलगायत विभिन्न फाइल खोलिदन आग्रह गरेका हुन्।
साहले सदनबाट जसले जतिसुकै विश्वासको मत पुष्टि गरे पनि जनताबाट सबै राजनीतिक दलले विश्वासको मत गुमाईसकेको बताए। सरकारको नेतृत्व जसले गरे पनि जनतामा कुनै उत्साह नदेखिएको उनको टिप्पणी छ।
उनले विदेश युवा नभइ युवा बेच्ने नेतृत्वको पलायन हुन आवश्यक रहेको आक्रोश युवामा देखिँदै आएको बताएका छन्। 'अहिले युवामा आक्रोश र जोशको आगो बलेको छ। यस्तो हुँदासमेत कसैले नचेत्ने हो बंगलादेशकी हसिना जस्तै नेपालका राजनीतिक नेतृत्वले पनि भाग्ने दिन छिट्टै आउन सक्छ,' उनले भने।
उनले अबको केही वर्षभित्र युवा दक्ष कर्मचारी हाहाकार हुनेतर्फ समेत उनले चिन्ता व्यक्त गरेका छन्। 'युवा कर्मचारी हाहाकार हुने छ। सेना-प्रहरीमा भर्ती हुनेको सङ्ख्या पुर्याउन मुस्किल पर्ने छ,' उनले भने, 'गाउँघरका क्याम्पस, कलेज रित्तिसके। विश्वविद्यालयले विद्यार्थी पाउन छाडिसके। एउटा समाज चलाउन समाजभित्र किसान चाहिन्छ, पसले चाहिन्छ, कपडा सिलाउने (टेलर) चाहिन्छ, कपाल काट्ने हजाम चाहिन्छ, विद्युतीय समान बनाउने मेकानिक चाहिन्छ, गाडी चलाउने ड्राइभर चाहिन्छ, समाजमा हामीलाई चाहिने सम्पूर्ण जनशक्ति पर्याप्त मात्रामा छन् त पक्कै छैन।'
यस्तो अवस्था सिर्जना भइसक्दा पनि नेतृत्त्व चिन्तित नबनेको उनको भनाइ छ। नेताहरूलाई केवल सरकार गठन र विघटनको मात्र चिन्ता रहेको उनले औंल्याए।