काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित सिराक्यूस विश्वविद्यालयमा मेकानिकल र एरोस्पेस इन्जिनियरिङ विधामा पीएचडी गरिरहेका अशोक थापाले असिलेटिङ हिट पाइप परीक्षण गरेका छन्। उनले आफ्नो अनुसन्धानको विधा बनाएको असिलेटिङ हिट पाइप परीक्षण गरेका हुन्।
अशोक भन्छन्, ‘उक्त ओएचपीको ताप सञ्चालन तामाको भन्दा १३.६ गुणा बढी छ। सक्रिय कुलिङको विपरीत ओएचपी प्यासिभ फेज चेन्ज कुलिङ प्रविधि हो। यसमा निरन्तर बाह्य ऊर्जा र यान्त्रिक पम्प आवश्यक पर्दैन। सोही कारण उपकरण सञ्चालन खर्च कम हुन्छ भने उपकरण पनि हलुका र छरितो बन्न जान्छ।’
भविष्यमा स्पेसक्राफ्ट थर्मल व्यवस्थापन र विमान इलेक्ट्रोनिक्समा मुख्यतः ओएचपीको कम तौल, सेल्फ–ओसिलेटिङ प्रकृति, लामो आयु र माइक्रोग्र्याभिटी वातावरणमा काम गर्ने क्षमताका कारण ठूलो सम्भावना रहेको अशोक बताउँछन्।
यो प्रविधिमार्फत ओएचपीको व्यावसायिक उत्पादन गर्दा प्रतिइकाइ पर्न आउने उत्पादन लागतसमेत हाल प्रयोगमा रहेका प्रविधिमार्फत तयार हुने उही क्षमताको कुलिङ उपकरणको भन्दा तुलनात्मक रूपमा कम हुन आउने भएकाले व्यावसायिक उत्पादक संस्थालाई प्रतिस्पर्धात्मक लाभ रहेको प्रारम्भिक अनुमान छ।
इलेक्ट्रोनिक उपकरणमा हुने अधिकांश क्षति तापक्रम बढ्ने समस्याका कारण हुने गर्छन्। पछिल्लो समय साना इलेक्ट्रोनिक उपकरण उत्पादन र प्रयोग बढ्दै गएको छ। साना इलेक्ट्रोनिक उपकरणको प्रयोगको क्रममा ताप व्यवस्थापन तथा नियन्त्रणको कार्य उक्त उपकरणको घट्दो आकार र सोही आकारमा उच्च कार्यक्षमतासमेत कायम गर्नुपर्दा त्यस्ता उपकरणमा तात्ने समस्या बढेको अशोक बताउँछन्।
सार्वजनिक प्रयोगमा आउने अधिकांश इलेक्ट्रोनिक उपकरण (ल्यापटप, स्मार्ट फोन, ट्याब्लेट र कम्प्युटर)मा वातावरणमा उपलब्ध हावाको प्रयोग गरि आवश्यक तापक्रम कायम गर्ने गरिन्छ। तर, हावाको चिस्याउने क्षमता तरल पदार्थको तुलनामा उल्लेखनीय रूपमा कम हुन्छ। हालै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भएका प्रगतिका कारण कम्प्युटिङ शक्ति माग बढ्दै गएको अशोकको ठम्याइ छ।
पिएचडी छात्रवृत्तिमा अमेरिका अध्ययनमा गएका अशोकले हालै न्यूयोर्कमा आयोजित ‘२०२४ स्प्रिङ इन्जिनियरिङ र कम्प्युटर साइन्स रिसर्च डे’ नामक प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्।
अशोकले उच्च माध्यमिक शिक्षा ट्रिनिटी इन्टरनेसनल कलेज काठमाडौं र माध्यमिक शिक्षा कल्पवृक्ष माध्यमिक विद्यालय, बरहथवा सर्लाहीबाट पूरा गरेका थिए।