काठमाडौं। कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले मन्त्रीहरूलाई यो गर्छु, त्यो गर्छु भनेर भाषण नछाँट्न र नागरिकका काममा समय दिन सुझाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले हरेक समाचारमा मन्त्रीहरूका मात्रै भाषण आउने क्रम बढेकाले कामबाहेक अन्यत्र लगाम लगाउन आग्रह गरेका हुन्।
उनले भने, ‘मन्त्रीको इच्छाशक्ति र नियत सफा भए काम हुन्छ। साउन सकिन लाग्यो। भदौ लाग्न लाग्यो। यो महिना मन्त्रीहरुले नबोल्ने लिएर जनताका काममा खटिनुपर्छ। उद्घाटन र भाषणबाजीमा रम्नु भएन।’
मन्त्रीले सञ्चार माध्यममा दैनिकजसो म यसो गर्छु, उसो गर्छु मात्रै भन्ने तर काम नहुने प्रवृत्ति बढ्दो छ। ठाउँमा भएपछि काम गर्नुपर्छ भन्ने चेतना पलाउनुपर्ने उनको धारणा छ।
संघीय सरकारमा रहेका २२ मध्ये एउटा मन्त्रीले मात्रै काम गरे पाँच गुणा प्रचार गरिदिने जिम्मा आफूले लिने सांसद थापाले दाबी गरे।
‘मन्त्रीहरूले संसद् आउने, सांसदका कुरा सुन्ने र मन्त्रालय गएर काम गर्नुपर्ने हो। बाहिर बोलेर केही हुँदैन’, उनले भने। उनले गिरिबन्धु टी–स्टेट, भुटानी शरणार्थी, विद्युत् बक्यौतालगायतका विषयबारे व्यक्त चासोलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा सांसद थापाले जोड दिए।