काठमाडौं। सेयर बजारमा ८ अंकको करेक्सन आएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा बन्द भएको थियो। यस्तै, आइतबार पनि नेप्से ९४.४६ अंकले बढेको थियो भने गत साताको बुधबार १०८.३५ अंक र बिहीबार ६.७० अंकले बढेको थियो। पछिल्लो चार कारोबार दिन लगातार बढेको नेप्सेमा मंगलबार भने सामान्य करेक्सन देखिएको हो।
अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार नेप्सेमा कुल २१ अर्ब ३ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने २६ अर्ब ८० करोडको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घट्दा सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ७.११ प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.४५ प्रतिशतले बढ्दा फाइनान्स समूहको १.५७ प्रतिशत, लगानी समूहको ०.०८ प्रतिशत, जीवन बिमा समूहको ०.५४ प्रतिशत र कारोबार समूहको सेयर मूल्य ०.०६ प्रतिशतले बढेको छ।
आज होटल तथा पर्यटन समूहको सेयर मूल्य २.२५ प्रतिशतले घट्दा विकास बैंक समूहको सेयर मूल्य १.३६ प्रतिशत, जलविद्युत समूह ०.३५ प्रतिशत, उत्पादनमूलक समूह १.४० प्रतिशत र लघुबिमा समूहको सेयर मूल्य १.१३ प्रतिशतले घटेको छ। निर्जीवन बिमा समूहको सेयर मूल्य १.०२ प्रतिशतले घटेको छ।