काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बाहिरी साइटमा २१ अर्ब ५१ करोड रुपैयाँको सेयर किनबेच भएको देखियो। तर, नेप्सेको आधिकारिक रेकर्डमा भने २१ अर्ब ३ करोड रुपैयाँ मात्र कायम भएको देखिन्छ। यसरी हेर्दा कारोबार भएको करिब ४८ करोड रुपैयाँ कहाँ गयो भन्ने प्रश्न उठ्छ।
यस्तो अवस्था मंगलबारको कारोबारमा मात्रै देखिएको होइन। सोमबार पनि नेप्सेको बाहिरी साइटमा कुल कारोबार रकम २७ अर्ब २४ करोड २० लाख रुपैयाँ थियो। तर, नेप्सेको ‘डेटवाइज इन्डिकेट्स‘ अर्थात् रेकर्डेड कारोबारअनुसार भने २६ अर्ब ८० करोड रुपैयाँको मात्रै कारोबार भएको देखिन्छ। सोमबार पनि करिब ४४ करोड रुपैयाँ हराएको देखिन्छ।
त्यस्तै अवस्था आइतबारको कारोबारमा पनि देखिन्छ। बाहिर देखाएको कुल कारोबार २५ अर्ब ७७ करोड थियो। तर, रेकर्डेड कारोबारअनुसार २५ अर्ब ३३ करोडको कारोबार भएको देखाउँछ।
सञ्चार माध्यम र सेयर विश्लेषक, अर्थशास्त्रीहरुले पनि नेप्सेको अग्र साइटमा देखिने अंकलाई नै हेरेर कारोबार रकम उल्लेख गर्ने गरेको पाइन्छ। तर, दैनिक कारोबार रकमसँग तुलना गर्ने त्यसअघिको कारोबार भने रेकर्डेड कारोबारका आधारमा तुलना गर्ने गरिन्छ। त्यसो गर्दा दैनिक कारोबारमा देखिने फरक तुलनायोग्य रकमबाट हराउँछ। अर्थात्, अघिल्लो कारोबारभन्दा वर्तमान दिनको कारोबार बढी भएको देखिन्छ।
नेप्सेले दुवै तहको कारोबार रकम उल्लेख नगर्दा कतिपयले प्रस्तुत गर्ने तथ्यांकसमेत ‘मिसम्याच’ हुने गर्दछ। खासगरी बाहिरको कुल कारोबारमा ऋणपत्र (बन्ड/डिबेन्चर, सामूहिक लगानी कोष)को कारोबार रकमलाई समेत जोडेर देखाउने तर रेकर्डेड इन्डिकेटरमा भने कम्पनीहरुको सेयर कारोबारलाई मात्रै देखाउने हुँदा नेप्सेले प्रयोग गर्ने तथ्यांकमा फरक देखिने गरेको छ।
वास्तविक सेयर किनबेचको तथ्यांक भने रेकर्डमा तय भएको अंकले नै निर्धारण गर्दछ।
नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुली भित्र इन्डेक्समा सूचीकृत भएका कम्पनीको मात्रै कारोबार देखाइने भएकाले बाहिरको तुलनामा फरक पर्ने बताउँछन्।
‘भित्र देखाउने कारोबारमा नेप्से इन्डेक्समा सूचीकृत भएका कम्पनीको कारोबार मात्रै देखाइएको हुन्छ। त्यसैले बाहिरको तुलनामा त्यो कम हुन्छ,’ सूचना अधिकारी पराजुलीले भने, ‘तर, बाहिर भने इन्डेक्सभित्र नपर्ने ऋणपत्र, डिबेन्चर आदिको कारोबार पनि देखाउने गर्दछ।’
पराजुलीले सोही कारण बाहिरको कारोबार केही बढी र भित्र देखाउने कारोबार केही कम हुने गरेको बताए।