कास्की। २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा आयोजना निर्माण सकिएसँगै परीक्षण सुरु प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले जानकारी दिएको छ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको हो।
‘आयोजना निर्माणतर्फका सबै काम सकिएका छन्। साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौं। त्यसपछि वेटटेस्ट (पानी भरेर परीक्षण तथा टर्बाइन घुमाउने)को काम सुरु हुन्छ,’ भिजन लुम्बिनी ऊर्जाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।
‘वेटटेस्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ। सार्दीखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईटा टर्बाइनमा खसालिनेछ। यो आयोजना नदी जल प्रवाहमा आधारित छ।
कम्पनी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्न स्थानीय तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए। स्थानीयको स–सानो लगानीले आयोजना निर्माण भएको उनको भनाइ छ।
‘जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिएका छन्। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ। पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौं, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दै छ।’
सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक स्थानीय तथा आईपीओ जारी गरेर जुटाइएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए।
सेती नदी जलविद्युत आयोीजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो। कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङको भनाइ छ।–रासस