काठमाडौं । दूरसञ्चार सेवा आफैंमा महत्त्वपूर्ण सेवा हो। सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक र संवेदनशिल सेवाको रुपमा लिदै आएको छ। तर, सरकारी निकायकै लापरबाही र समन्वयको अभावमा यो सेवामा पटकपटक समस्या आउने गरेको छ।
सोमबार दिउँसो एनसेलले प्रदान गर्दै आएको दूरसञ्चार सेवामा एकाएक समस्या आयो। दूरसञ्चार सेवामा समस्या आउँदा देशभरका लाखौलाख आम जनमानसहरु सेवा विहिन हुन पुगे। यसरी दूरसञ्चारका सेवाग्राही सेवा विहिन भएको यो पहिलो पटक होईन।
एनसेल, नेपाल टेलिकम तथा ईन्टरनेट सेवा प्रदायकको सेवामा पनि बेलाबेला यस्तो समस्या आउने गरेको छ। यसको एक प्रमुख कारण भनेको विभिन्न निकायले समन्वय नगरी काम गर्नु र फाइबर काटिनु हो। यद्यपि, सोमबार एनसेलले भण्डै एक घण्टा भित्रै आफ्नो सम्पूर्ण सेवाहरु पुनः संचालनमा ल्याएको बताएको छ।
एनसेलका अनुसार नेपाल विद्युत प्राधिकरणले पोल सार्ने क्रममा पोखरा दमौली जोड्ने अप्टिकल फाइबर चुडिँदा सेवामा समस्या आएको हो। विकल्पको रुपमा काम गर्ने फाइबर पनि सडकमा कलभर्ट बनाउने क्रममा चुडिएकोले सेवाहरु अवरुद्ध भएको एनसेलले जनाएको छ।
यस्तो समस्या आउनु भनेको सरकारले युटिलिटी कोरिडोरमा काम नगर्नुको नतिजा हो। सडक खन्दा, पोल सार्दा के कस्तो असर पर्छ, सडकमा कामगर्दा के गर्न हुन्छ, के हुन्न भनेर कहिले सोचिदैन। नेपाल दूरसञ्चार प्राधिकरणले पनि कुनै समन्वयकारी भुमिका खेल्न सकेको छैन।
फाइबर चुडिदा एनसेलका ग्राहकहरुले कल गर्न, डाटा सेवा चलाउन र एसएमएसपनि पठाउँन सकेका थिएनन्। बिना कुनै समन्वय गरिने सडकका कामहरु, पोल सार्ने, ढल तथा खानेपानीको पाइप बनाउने जस्ता कार्यहरुले गर्दा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा बेला बेलामा अवरुद्ध हुने गरेका छन्। यस अघि पनि एनसेल र नेपाल टेलिकमका फाइबरहरु पटक पटक काटिएर वा चुडिएर सेवा अवरुद्ध भएका थिए।