काठमाडाौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ।
भेटमा मन्त्री राणाले नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुट उपलब्धताका लागि सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाइन्।
मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाइन्।
भेटमा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे मन्त्री राणाले उठाएको विषयमा धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने सहमति भएको परराष्ट्रय जनाएको छ।
त्यसैगरी मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छाड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउन सचिव मिस्रीमार्फत भारत सरकारसँग आग्रह गरिन्। यस्तै, दार्चुलाको महाकाली नदीमा निर्मित पक्की पुल उद्घाटन प्रसंग पनि राणाले उठाइन्।
मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरिन्। उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारतबाट प्राप्त सहयोगप्रति धन्यवाद दिएको परराष्ट्रले बताएको छ।