काठमाडौं । सेयर कारोबारमा साढे २६ अर्ब बढीको नयाँ रेकर्ड बनेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार कुल २६ अर्ब ८० करोडको कारोबार हुँदै नयाँ कारोबार रकममा नयाँ रेकर्ड बनेको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा २५ अर्ब ३३ करोडको रेकर्ड बनेको भएपनि सो रेकर्डलाई ब्रेक गर्दै सोमबार नयाँ रेकर्ड बनेको हो। सेयर कारोबार रकममा एकपछि अर्को रेकर्ड बन्दै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९०० बिन्दु माथि पुगेको छ।
सोमबार नेप्से ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ। यो सूचक २०७८ माघ यताकै उच्च हो।
यसअघि पछिल्लो पटक नेप्से २०७८ माघ ६ मा २९३१ बिन्दुमा थियो। सोमबार कारोबारमा आएकामध्ये १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार सूर्यज्योति जीवन बिमा कम्पनी, हिमालय जीवन बिमा कम्पनी, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेत–गंगा हाइड्रोपावर, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। सोमबार १३ समूहमध्ये लगानी समूह र उत्पादन समूहको सेयर मूल्य घटेको छ।
जीवन बिमा समूहको सेयर मुल्य ५.८५ प्रतिशत, फाइनान्स समूहको सेयर मूल्य ४.८१ प्रतिशत, जलविद्युत समूहको सेयर मूल्य ३.४३ प्रतिशत, बैंकिङ समूहको २.९५ प्रतिशत र विकास बैंक समूहको सेयर मूल्य ३ प्रतिशतले बढेको छ।