तनहुँ। मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणाधीन १३ पुलमध्ये पाँच पुल निर्माण सम्पन्न भएको छ। पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमि सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन्।
पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचना निर्माण भइसकेको छ। उनका अनुसार गत वर्ष ९ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यो खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ।
उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष निर्माण कार्यले गति लिएको छ।’ यो खण्डमा चार र ६ लेनको सडक निर्माण गरिनेछ। सडकको बीच भागबाट दायाँबायाँ २५÷२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ।
त्यसअनुरुप दुई लेनमा २० किमि सडक कालोपत्रे गरिसकिएको आयोजनाले जनाएको छ। पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो। यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।
सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी छ। निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए।
उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। सडक निर्माणमा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। यो खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख रकम रहेको छ।
वर्षायामको अवधिभर कालोपत्रे कार्य रोकी नाला, पर्खाल निर्माणलगायत कार्यलाई प्राथमिकता दिइएको छ। उनले भने, ‘विद्युत्का खम्बा र खानेपानीका पाइप हटाउन समस्या भएका कारण सडक विस्तारका कार्य प्रभावित हुने गरेको छ।’–रासस