काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्ट्रेप्रेनरसिप–फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन खुलाएको छ। तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन मागेको हो।
सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षमाथिका नेपाली नागरिकले २०८१ भदौ १४ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीका लागि निःशुल्क तालिम दिनेछ।
इच्छुक व्यक्तिले बैंकको वेबसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको हो।
कार्यक्रम बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ। आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन्।
तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञको सहयोगमा व्यावहारिक चुनौती समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन्।
हालसम्म नबिल एसएसईअन्तर्गत ५६ सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११८४ रोजगारीका अवसर सिर्जना भएको बैंकले बताएको छ।
कार्यक्रममा सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको दिगो उपयोग गरी रोजगारी सिर्जनाका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउनसमेत मद्दत गरेको बैंकको भनाइ छ। हाल बैंकले २६८ शाखा र ३१६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।