काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको विकास अगाडि बढाउन र विदेश पलायन रोक्न युवाहरुरोजगारी अवसर सिर्जना गर्ने नीति लागू गर्नुपर्ने सुझाव दिएका छन्।
राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीति आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
‘राष्ट्र विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोग वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर दिन राज्यले नै नीति बनाउनुपर्छ। यसबाट मात्रै पछिल्लो समय विदेश पलायनलाई प्राथमिकता दिँदै गरेको युवा समूहलाई रोक्न सकिन्थ्यो।’
दिनानुदिन विदेश पलायन भइरहेको युवाशक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा प्रयोग गर्ने सन्दर्भमा राज्यको स्पष्ट नीति हुनुपर्ने उनले औंल्याए। राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताए।
युवा सरोकार सम्बोधन गर्न २०५२ देखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालय स्थापना गरी संस्थागत प्रयास थालेको, नवौं पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको, २०६६ मा सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलो पटक युवा नीति, २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भएको उनको भनाइ छ। नीति र योजना जारी भए पनि युवा पलायन रोक्न नसकिएको राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेलले २०७८ को जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसंख्या कुल जनसंख्याको ४२.५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्ति प्रचुर रहेकाले ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।