काठमाडौं। रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकहरुबाट लिँदै आएको चर्को हवाई शुल्क तत्कालका लागि नघटने भएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि असार २७ गते गरेको बोलपत्र आब्हान तत्कालका लागि नखोल्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दिएसँगै तत्कालका लागि प्रतिस्पर्धा गर्ने बाटो बन्द भएको हो। योसँगै तत्कालका लागि रोजगारीमा जाने श्रमिकहरुले चर्को शुल्कनै तिरेर यात्रा गर्नुपर्ने बाध्यता कायम रहेको छ।
अदालतको आदेशसँगै ईपीएस कोरिया शाखा ग्वार्कोले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मको लागि बोलपत्र नखोली यथास्थितिमा राखिएको जनाएको छ। अदालतले साउन १४ गते गते आदेश सुनाएको थियो। त्यहि आदेशको आधारमा आइतबार सूचना जारी गरेसँगै यात्रुहरुले तत्कालका लागि महंगै शुल्क तिरेर हवाई यात्रा गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ।
हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई उडाउदै आएको छ। कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरेको थियो।
हाल कोरियन एयरलायन्सले ८९५ अमेरिकी डलर (१ लाख २० हजार रुपैयाँ) एकतर्फी भाडामा काठमाडौंदेखि सिओलसम्म सिधा उडानमार्फत कामदार पु¥याउँदै आएको छ। एक्लौटी रुपमा उडान हुँदा भाडामा सिण्डिकेट भएको भन्दै लामो समयदेखि विरोध भैरहेको बेला बोलपत्र आब्हान गरेपनि अदालतले रोकिदिएको कारण तत्कालका लागि प्रतिस्पर्धा हुनबाट रोकिएको छ। हाल कोरियन एयरको नेपालमा जनरल सेल्स एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्सले गर्दै आएको छ।
सिधा उडान हुँदा यात्रुलाई सहज भएपनि महंगो शुल्कको मारमा पर्दै आएका छन्। हवाई भाडा सस्तो बनाउनका लागि अहिले सरकारले विभिन्न मुलुकमा ट्रान्जिट गराएर उडान गर्ने तयारी गरिरहेको छ। ‘खुल्ला प्रतिस्पर्धा हुँदा भाडामा बोलकबोल हुने र सबैभन्दा सस्तो भाडामा उडान गर्ने एयरलाइन्सलाई उडानको जिम्मा दिने तयारी भैरहेको बेला अदालतले रोकिदिएको छ,’ एक व्यवसायीले भने, ‘सम्भवत, श्रमिकको विषयमा सम्मानित अदालतले पनि मनन गर्छ भन्ने लागेको छ र यो आदेशको पुनरावलोकन हुन्छ।’
ट्रान्जिट गरेर कामदार पठाउन नपाइने भएपछि नेपाली श्रमिकहरू एक मात्र एयरबाट कोरिया जान बाध्य छन। कोरोना महामारीपछि सिधा हवाई उडानमार्फत मात्र नेपाली कामदार लैजाने सर्त कोरियाले राखेपछि कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्दै आएको छ। जसले गर्दा भाडा महँगो हुन पुगेको थियो।