काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बिमाको उपचार रकम एक लाखबाट पढाएर ५ लाख पुर्याउन प्रस्ताव गरेका छन्।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले मन्त्रालयका कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै सरकारले एक लाख बिमा उपचर रकमलाई बढाएर ५ लाख पुर्याउन प्रस्ताव गरेका हुन्।
'सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्न सकिन्छ। आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बिमा रकमको स्रोत सुनिश्चित गर्नसक्छौं,' उनले भने।
पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन्।
स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेर संकलि सुझावका आधारमा कार्ययोजना तयार पारिएको उनले बताए। मन्त्री पौडेलले पूर्वस्वास्थ्यमन्त्रीहरू, पूर्वस्वास्थ्य सचिव, पूर्वमहानिर्देशकहरू, पूर्व महाशाखा प्रमुखहरू, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाका प्रतिनिधहरू, बहालवाला कर्मचारीहरू, अस्पताल निर्देशकहरू, सञ्चारकर्मीहरू, निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदातासँग छलफल गर्दै सुझाव संकलन गरेका थिए।
यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषय तथा कार्ययोजना तयार पारिएको जनाएका छन्।
मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्। उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रममा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।
पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।
राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गर्दै उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने बताए।