काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरदरभन्दा बढी वर्षातका कारण यस वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य घटनामा बढोत्तरी भई ठूलो जनधनको क्षति भएको बताएका छन्।
आइतबार सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनमा भएका कामकारबाही र सिमलताल बस दुर्घटना प्रतिवेदनको निश्कर्ष तथा भावी योजनाका विषयमा जानकारी गराउँदै मन्त्री लेखकले हालसम्मको तथ्यांक अनुसार सरदर भन्दा ४८.५ प्रतिशत बढी वर्षा भएको जानकारी दिए।
मन्त्री लेखकले गत जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेयता पहिरो, बाढी र चटयाङमा परी १ सय ७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९७ जना घाइते भएको जानकारी दिए।
'पहिरोमा परी १०९ को मृत्यु ३९ जना बेपत्ता, बाढीमा ३५ जनाको मृत्यु, ६ जना बेपत्ता र चट्याङमा २४ जनाको मृत्यु भएको छ,' उनले भने, 'यो बिचमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका एक हजार २१२ घटना भएका छन्।'
त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औं बैठकले मनसुज पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा लगिएको उनले जानकारी दिए।
'जल तथा मौसम विज्ञान विभागसँगको समन्वयलाई प्रभावकारी बनाई जोखिमका सूचना निरन्तर आदान प्रदान भइरहेको छ,' मन्त्री लेखकले भने।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १८ हजार ७७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्दारमा खटिएको जानकारी दिए। आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालय गृहकार्य गरी पूर्वतयारीमा रहेको उनको भनाइ छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसँग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइगरेका क्रियाकलापको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेको अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको मन्त्री लेखकको भनाई थियो।
त्यसैगरी आगामी दिनमा यसप्रकारका घटना हुन नदिने उचित कदम चालिने भन्दै लेखकले सडक संरचना सुधार, प्रशासनिक तथा व्यवस्थापकीय सुधार, खोज तथा उद्दार कार्या लागि आधुनिक प्रविधि र सामाग्रीको व्यवस्थापन, सुचना प्रविधिको प्रयोगमा जोड, तालिम प्रशिक्षणलगायत विषय व्यवस्थापनमा जोड दिइएको बताए।