काठमाडौं । आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८६०.९१ मा रोकिएको छ। निरन्तर २८०० मा प्रतिरोध गरिरहेको नेप्से सूचक आइतबार भने उच्च अंक (९४.५३ अंक अर्थात ३.४१ प्रतिशत) र उच्च कारोबारसहित नयाँ उचाइमा पुगेको हो।
एक महिना अघिदेखि निरन्तर बढेको बजारले यसअघि पटक-पटक २८०० अंकको परीक्षण गरेको छ। तर, २८०० माथि रोकिन सकेको थिएन। ‘इन्ट्रा डे’ कारोबार छोडेर पछिल्लो ५ कारोबार दिनममध्ये ४ दिन २८०० अंक परीक्षण गरेर तलै रोकिएको नेप्से आइतबार भने २८०० माथि रोकिएको हो।
अघिल्लो बिहीबार २८०५.५७ बिन्दुमा चढेको नेप्से सोमबार २८०६.६९, मंगलबार २८१५.९४ र विहीबार २८११.१५ बिन्दुमा चढेर बजार फर्किएको छ।
२८०० माथि बजार सूचक उक्लिएर कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएपछि सूचक पुरानो उच्च अंक ३२०० लाई पछ्याएको अनुमान गरिएको छ। २९७८ भदौ २ गते नेप्से सूचक ३१९९.०३ अंकमा रोकिएको थियो। यद्यपि, त्यसदिन 'इन्ट्रा डे' कारोबारमा ३२२६ सम्म चढेको थियो।
त्यसपछि घटेको बजारले २०७९ असार १० गते १८०६.९५ अंक छोएको थियो। त्यस यता लामो समय सिथिल जस्तो देखिएको सेयर बजार २०८१ असार १७ बाट भने निरन्तर उकालो लागिरहेको छ। सँगै कारोबार रकममा पनि उच्च वृद्धि भइरहेको छ।
आइतबार ६ करोड ३ लाख २१ हजार कित्ता सेयर किनबेच भइ २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। यसअघि साउन १६ गते २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो।
बजार बढ्दा ९ कम्पनीमा सकारात्मक सर्किट लाग्दै २२५ कम्पनीको सेयर मूल्य बढेको छ। बढेको बजारमा पनि कुथेली बुखरी स्मल हाइड्रो पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै १५ कम्पनीको मूल्य घटेको छ।
आइतबार हिमालयन रिइन्सोरेन्सको १ अर्ब ५२ करोड र शिवम सिमेन्टको १ अर्ब १६ करोड ६५ लाख रुपैयाको सेयर किनबेच भएको छ।
गत बिहीबार २७६६.३८ अंकमा रोकिएको नेप्सेले आइतबार पछाडि फर्केर हेरेन। प्रि-ओपन सेसनमै बढेको सूचक नियमित कारोबारको डेढ घण्टासम्म निकै उतारचढाव झेलिरहेको थियो। तर, त्यसपछि भने बजार सूचक निरन्तर उकालो लाग्यो।यसको असर नेप्से २८५० माथि पुग्यो।