स्याङ्जा। वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ।
वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो।
सहकारीमा आबद्ध कृषक सेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी संकलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए। यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याएको तरकारी स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौं लगेर बिक्री गर्न समन्वय गर्दै आएको उनको भनाइ छ।
कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूल सहकारीको संकलन केन्द्रमा राखेर बिक्री गर्दैै आएको जानकारी दिए।
‘कृषकबाट संकलन गरिएका कृषि उपज केन्द्रमा संकलन गरी राख्छौं। स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजान्छन्’, उनले भने, ‘ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौं।’
उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताए। गत आवमा तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए।–रासस