काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला दल कांग्रेस÷एमाले मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन्।शनिबार कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या देखिएकाले अब सुधारको आवश्यकता रहेको बताएका हुन्।
मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्नेमा जोड दिए।
‘केन्द्रसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ। प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्छ’, अध्यक्ष ढकालले भने।
कुल गार्हस्थ उत्पादनमा प्रदेशमध्ये छैटौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी मापन गरिएको सुदूरपश्चिममा सम्भावना भने पर्याप्त रहेको अध्यक्ष ढकालले बताए। ‘जलस्रोत, पर्यटन मात्रै नभई यहाँको जनशक्ति मिहिनेती र युवाहरु विकासको संवाहक देखिन्छन्’, उनले भने।
महासंघले जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी काम गरिरहेको अध्यक्ष ढकालले बताए।
कैलाली उद्योग वाणिज्य संघको पचासौं वार्षिक साधारणसभामा संघका अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको जानकारी दिए।
सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँचलगायत क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।