काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन्।
शनिबार ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के’को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजलाई व्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएकाले जालझेल गरेर राष्ट्रको सम्पत्ति कुनै पनि हालतमा आफ्नो नाममा नल्याउने प्रण गरेका हुन्।
आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गालीगलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने उनको भनाइ छ।
मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले त्यसतर्फ सरकारले ध्यान केन्द्रित गरिरहेको जानकारी दिए।
‘अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन्। भोका बालबालिकका र मानिसलाई खान, लाउने वातावरण दिन सकिएन भने समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ। मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ सबैले काम गर्नुपर्छ।’
सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको उनको भनाइ छ। ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ। म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’, प्रधानमन्त्री ओलीले भने।