पछिल्लो केही वर्षयता विश्व दूरसञ्चार क्षेत्रको आम्दानीमा निरन्तर गिरावट आइरहेको छ। आम्दानीमा गिरावट आएसँगै दूरसञ्चार कम्पनीहरू सेवा विस्तारमा केन्द्रित छन्। खासगरी इन्टरनेट र डेटा प्रयोग बढेसँगै भ्वाइस खपत घटेको छ। भ्वाइस खपत घट्दा त्यसको प्रभाव टेलिकम कम्पनीको आम्दानीमा परेको छ। त्यसैले, दूरसञ्चार कम्पनीहरू डेटातर्फ ग्राहक आकर्षित गर्न र अन्य सेवा विस्तार गर्दै आम्दानी बढाउन केन्द्रित छन्।
निजी दूरसञ्चार कम्पनी एनसेल ग्राहकलक्षित योजनामा अगाडि छ। पछिल्लो समय ग्राहक योजनाअनुसार आफ्ना योजना अगाडि ल्याइरहेको छ। नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नका रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्री नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर, एनालिटिक्सलगायत सेवा दिँदै आएको छ।
एनसेलले केही समय अगाडि मात्रै ‘सधैं अन’ र ‘बिज सधैं अन’ ग्राहक लक्षित योजना ल्याएको छ। यसबाट नेपाली उद्योग, संघसंस्था, ठूला तथा साना व्यवसायलाई आ–आफ्नो क्षेत्रमा व्यापार, व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ। नेपालको दूरसञ्चार क्षेत्रको वर्तमान व्यावसायिक अवस्था, एनसेलको योगदान र आगामी योजनाबारे क्यापिटल नेपालका पदम भुजेलले एनसेल आजियाटाका हेड अफ बिजनेस सोलुसन्स रञ्जन शर्मालाई सोधेका ५ प्रश्नः
दूरसञ्चार क्षेत्रको पछिल्लो अवस्था कस्तो छ? ग्राहक प्रवृत्तिमा परिवर्तन पाउनुभएको छ?
हामीले २००९ अघिको समयलाई फर्केर हेर्ने हो भने त्यतिबेला डिजिटलाइजेसन धेरै भएको थिएन। इन्टरनेट प्रयोग र नयाँ–नयाँ प्रविधि प्रयोग गर्ने मानिस कम थिए। धेरै मानिस भ्वाइस सेवामा निर्भर थिए भने भ्वाइस कल तुलनात्मक रुपमा बढी थियो। २०१९ मा कारोना महामारीले विश्वव्यापी प्रभाव पारेपछि डिजिटलाइसन प्रयोग बढेर गयो। विश्व प्रविधि प्रयोगमा अगाडि बढेसँगै नेपालमा पनि इन्टरनेट सेवाको माग बढ्यो। त्यो अवस्थाबाट अहिले ग्राहक भ्वाइसमा भन्दा पनि मोबाइल डेटा प्रयोगमा बढी केन्द्रित छन्। ग्राहक डेटातर्फ जाँदा आफ्नो व्यवसाय तथा कामलाई सहज बनाउन सजिलो भएको छ।
यद्यपि, यससँगै साइबर सुरक्षा विषय पनि सँगै जोडिएर आउँछ। गोपनीयतालाई अझ बढी केन्द्रीत गरेर हेर्नुपर्ने चुनौती थपिएको छ। हाल सबैले मोबाइल चलाउँछन्। सबै बालबालिका र केटाकेटीले मोबाइल चलाउँदै गर्दा तिनका लागि ‘फिल्टर कन्टेन्ट’ भएनन् भन्ने पनि छ। यसले पनि धेरै प्रभाव पारेको छ। विश्वव्यापी रुपमै टेलिकम रेभेन्यू र आम्दानी घटिरहेको छ। दूरसञ्चार कम्पनीले दिने भ्वाइस, डेटालगायत सबैखाले सेवाशुल्क पनि अहिले कम छ। भ्वाइस र डेटा मात्रै नभएर यसभन्दा बाहिरी सेवा विस्तार गर्दै टेलिकम कम्पनी अगाडि बढ्नुपर्ने अवस्था छ।
एनसेलले उद्यमी, व्यवसायी, संघ–संस्थाका ग्राहकलाई कस्ता सेवा दिइरहेको छ? एनसेल टेल्कोबाट टेक्कोको यात्रामा छ भन्नुहुन्छ। यसलाई पुष्टि गर्ने आधार के हुन्?
एनसेलले नेपालमा २००४ बाट यात्रा सुरु गरेको थियो। पहिला एनसेलले भ्वाइस र डेटा सेवा प्रदान गर्दै आएको थियो। यसमा एसएमएस सेवा पनि थपियो। डिजिटल ट्रान्सफर्मेसन हुँदै जाँदा मोबाइल बैंकिङ, डिजिटल कारोबार बढ्दै गएको छ। आधारभूत भ्वाइस सेवा र डेटा सेवाबाहेक हामीले क्यारियर ग्रेड इन्फ्रास्क्ट्रक्चर पनि बनाएका छौं। यो पूर्वाधारबाट व्यवसायीमा पनि सेवा दिने काम गरिरहेका छौं। इन्टरनेट सेवा, अन्तर्राष्ट्रिय लिजलाइन, भिपिएन, डेटा सेन्टरलगायतबाट पनि सेवा दिँदै आएका छौं।
भ्वाइस सेवाको रुपमा टोल फ्री इन्टरप्राइजेज ग्राहकलाई क्लाउड स्टाक सेवा दिन थालेका छौं। टेल्कोले दिने गर्ने सेवा भनेको डेटा, भ्वाइस र टेलिकम सेवा हो, जसलाई हामीले टेलिकम्युनिकेसन भन्छौं। टेक्कोमा जानु भनेको टेलिकम सेवाभन्दा बाहिरका के–कस्ता सेवा दिने भन्ने विषय हो। डेटा सेन्टर, क्लाउड सेवा, सुरक्षाका तह विकास गर्ने, एडभान्स टेक्नोलोजी विकास गर्ने, अध्ययन अनुसन्धान र विकासका काम गर्ने भनेको टेल्कोबाट टेक्कोतर्फको यात्रा हो। यसमा सही बाटोमा अगाडि बढिरहेका छौं।
एनसेल फर बिजनेस (एनफरबी)अन्तर्गत नेपाली व्यवसायलाई कस्ता ‘इन्टरप्राइज सोलुसन्स’ अर्थात् सेवा दिने गरिएको छ? दूरसञ्चार क्षेत्रको आय घट्दै गएको छ। योे गिरावट इन्टरप्राइज सेगमेन्टमा पनि आएको छ?
हामीले तयार गरेको नेटवर्क पूर्वाधारलाई सहयोग गर्ने ढंगमा बैंक तथा वित्तीय संस्था, होटललगायत बिग हाउसलाई इन्टरबैंक इन्टर कनेक्सन (भिपिएन सर्भिस)सेवा दिइरहेका छौं। अन्तर्राष्ट्रिय लिजलाइन सेवा पनि दिँदै आएका छौं। विभिन्न विद्यालय, वित्तीय संस्थालाई इन्टरनेट सेवा दिने काम एनसेलले गरिरहेको छ। तर, यो सामान्य इन्टरनेट सेवाभन्दा केही फरक हुन्छ। यसलाई हामीले डेडिकेडट इन्टरनेट एक्सेस भन्ने गर्छाैं। निश्चित बैंक र अस्पतालाई क्लाउड सेवा पनि दिइँदै आएका छौं। यसबाहेक हाम्रो टोल फ्री सेवा पनि छ।
हामीले यस्ता सेवा–सुविधा अध्ययन गरेर प्रयोगकर्ता र ग्राहकका लागि फाइदा हुने गरी ल्याउने गर्दछौं। आम्दानीको कुरा गर्दा इन्टरपाइजेज क्षेत्रको आम्दानी घटेको होइन। कोरोना महामारीपछि यो केही कमजोर हुँदै गएको थियो। तर, त्यही समय इन्टरप्राइजेट सेवा थप विस्तार भए। नयाँ–नयाँ सेवा आउँदै जाँदा हामीले दिने सेवा पनि बढेर गए। हाल भ्वाइसतर्फको सेवा खस्किए पनि इन्टरप्राइज डेटा र क्लाउड पूर्वाधारतर्फको सेवा वृद्धि भएको छ। यो क्षेत्रमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भइरहेको छ।
एनसेलले नेपाली व्यवसाय र सरकारी निकायको डिजिटलाइजेसनलाई पनि सहयोग गर्ने टियर–३ एकीकृत डाटा सेन्टर (आईडीसी) निर्माण गरेको छ। यो सेवामा कस्तो प्रतिक्रिया पाउनुभएको छ? बिज सधैं अन, आईडीसी र एनसेलका अन्य सोलुसन्सले डिजिटलमा जान कत्तिको सघाउँछन्?
डेटा सेन्टर भनेको सबै तथ्यांकलाई भण्डारण गरिराख्ने ठाउँ अर्थात् सुरक्षित घर हो। हाल धेरैले एनसेलको टियर–३ डेटा सेन्टरको सेवा लिइरहेका छन्। उनीहरूलाई यसले सहज पनि बनाएको छ। डिजिटलाइजेसनका लागि आवश्यक विषय भनेको कनेक्टिभिटी हो। कनेक्टिभिटी कहाँबाट सुरक्षित हुन्छ? ग्राहकका तथ्यांक कति सुरक्षित छन्? हामीले गरेको कनेक्टिभिटी कत्तिको सुरक्षित छ? यी कुरा महत्त्वपूर्ण हुन्छन्। आज हामीले दिएको डेटा सेन्टर सेवा, भर्चुअल लाइन तथा क्लाउड सेवा सबैमा सुरक्षा विषयलाई पहिलो प्राथमिकतामा राखेका छौं।
हामीसँग १६ मिलियन बढी ग्राहकको तथ्यांक छ। अतः डेटा सुरक्षालाई नजिकबाट नियालेर काम गर्नुपर्ने अवस्था छ। ग्राहकलाई इन्टरनेटको पहुँच, व्यवसायलाई कनेक्टिभिटी सेवा र व्यवसायीलाई आफ्ना ग्राहकसँग जोडिने माध्यमका लागि काम गरिरहेका छौं। हामीले निजी क्षेत्रसँग विभिन्न सेवा उपलब्ध गराउन सहकार्य गर्दै गर्दा सरकारीतर्फ पनि विभिन्न पहल गरिरहेका छौं। डिजिटल एजुकेसन, आईसिटी डेभलपमेन्टका लागि पनि रोडम्याप बनाइरहेका छौं। हाल नेपाल विद्युत् प्राधिकरणमा पनि डिजिटल मिटर र डिजिटलाइजेसनको कुरा चलिरहेको छ। निश्चित निकायसँग सहकार्य गरेर अगाडि जाने प्रयत्न गरेका छौं।
एनसेलले हालै ल्याएको एनसेल सधैं अन र बिज सधैं अन के हो? ग्राहक प्रतिक्रिया कस्तो छ? नेपाली व्यवसायको विकासमा योगदान दिने एनसेलका अन्य योजना के छन्?
हामीले डिजिटल नेपालको कुरा गर्दै आएका छौं। डिजिटलाईजेसनको कुरा गर्दा केनेक्टिभिटीका विषय पनि आउँछन्। ग्राहकले पहिला प्याक लिएका छ। तर, प्याक सकिएको जानकारी भएन वा एसएमएस ग्राहकले नहेरे वा थाहा नपाए मेन ब्यालेन्स काटिन्थ्यो। यसलाई रोक्न हामीले सधैं अन योजना ल्यायौं। यो योजनाले प्रयोगकर्ताले लिएको डेटा प्याक वा भ्वाइस प्याक सकिए पनि मेन ब्यालेन्सको रकम काट्दैन।
यसपछि इन्टरप्राइज ग्राहकले डेटा चलाउनुपर्नेछ। कसैलाई भुक्तानी गर्नुपर्ने वा केही तथ्यांक ल्याउनुपर्नेछ भने पेजी दरलाई २० गुणाले घटाइदियौं। पहिला प्रतिएमबी १ रुपैयाँ खर्च हुने अवस्थालाई घटाएर हाल पाँच पैसा प्रतिएमबी खर्च हुने बनाएका छौं। यसले ग्राहकलाई सधंै अन बस्न सहज होस् भन्ने हो। हामीले ल्याएका यी सेवा ग्राहकले रुचाएका छन्। एनसेलका यी प्याकेजका विषयमा प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया आएको छ।
केही मुलुकमा यस्तो किसिमको अभ्यास भए पनि हाम्रो सन्दर्भमा यस्ता प्याक ल्याउनुलाई मैले एनसेलको महत्त्वपूर्ण ठान्छु। अहिले हामीले ठूला व्यवसाय लक्षित इन्टरनेट, भिपिएन, क्लाउड, डेटा सेन्टरलयायत सेवा ल्याएका छौं। डिजिटल नेपाल अवधारणामै अगाडि बढ्ने हो भने पनि स्मार्ट सिटीलगायतका विभिन्न योजनामा काम गर्न तयार छौं। हामी फाइभजीतर्फ अगाडि बढ्नुपर्छ भन्ने कुरा चलेको छ। यसतर्फ केही काम गरिरहेका छौं। आजका दिनमा हामीले ठूला इन्टरप्राइजेजमा धेरै किसिमका काम गर्दै गर्दा साना व्यवसायतर्फ धेरै गर्न सकेका छैनौं।
तर, यसमा पनि काम गर्ने योजना अगाडि बढाएका छौं। नेपालका व्यवसायलाई सहयोग गर्ने विभिन्न किसिमका योजना ल्याउने सोचमा छौं। हामीले दिने सेवाको उचित मूल्य लिन्छौं। हामीले विगतलाई फर्केर हेर्ने हो पनि हिजो ग्राहकले जति रकम खर्चिनुपथ्र्यो, आज त्यति खर्च गर्नुपर्ने अवस्था छैन। भ्याइस वा डेटाको मूल्य दर कम हुँदै गएको छ। सेवा मात्रै दिएर हुँदैन, गुणस्तरीय हुन अत्यावश्यक हुन्छ। ग्राहक सन्तुष्ट हुने ढंगमा सेवा दिँदै आएका छौं र दिनेछौं।