काठमाडौं। इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर)मा नेपालबाट लैजान लागिएका कामदार छनोट प्रक्रियामा नक्कली कागजात पेस भएका खबर बाहिरिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
छानबिन समितिले इजरायल रोजगार छनोट प्रक्रियामा पेस भएका कागजातको आधिकारिकता छानबिन गर्नुका साथै छनोट प्रक्रियालाई पारदर्शी बनाउने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए।
नेपाल र इजरायलबीच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रिया पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उनको दाबी छ।
यसअघि साउन १६ देखि इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा स्वास्थ्य सहायक (केयरगिभर) को रूपमा कामदार पठाउन वैदेशिक रोजगार विभागले छनोट प्रक्रिया अगाडि बढाएको थियो।
विभागले गत असार ११ मा सूचना निकालेर आवेदन आह्वान गरेकामा २ हजार २०९ जना पुरुष र १ हजार ८१५ जना महिला गरी जम्मा ४ हजार २४ जनाले अनलाइन आवेदन भरेका छन्। केहीले नक्कली प्रमाणपत्र बनाएर पेस गरेको आशंकामा केही आवेदन अस्वीकृत गरिएका थिए। त्यसरी अस्वीकृत हुनेको हकमा केयरगिभरका लागि चाहिने तीनमहिने कोर्षको प्रमाणपत्र नक्कली रहेको विभागको आशंका छ।
विभागले आवेदन आह्वान गरेपछि केयरगिभरको तालिम दिने इजाजतपत्र प्राप्त तालिम प्रदायक संस्था तथा सीटीईभीटीद्वारा मान्यता प्राप्त संस्थालाई संस्था स्थापना भएदेखि हालसम्म केयरगिभरको तालिम लिएका प्रशिक्षार्थीको विवरण मागिएको थियो।
इजरायलले साउन १२ मा २ हजार स्वास्थ्य सहायक (केयरगिभर) लैजान नेपाललाई पत्राचार गरेको थियो। इजरायलको पपुलेसन एन्ड इमिग्रसशन अथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर २ हजार केयरगिभर लगिने बताएको हो।
सुरुमा ८०० केयरगिभर लैजाने निर्णयसहित पत्र पठाएको इजरायलले पछि कोटा बढाएर २००० लैजाने घोषणा गरिसकेको छ। यसअघि असार ११ मा विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो।
श्रममन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबीच साउन ७ को भेटवार्तामा ८०० को सट्टा २००० स्वास्थ्यक सहायक लैजाने सहमति भएको थियो।