क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ। साउन २२ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सरुवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो। यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्देशिका ल्याएर तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।
काठमाडौंबाट रसुवाको टिमुरेका लागि उडेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। साउन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको शिवपुरीडाँडामा अवस्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित हेलिकोप्टरमा सवार चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष)को मृत्यु भएको छ। सरकारले हेलिकोप्टर दुर्घटना छानबिन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ। यसअघि साउन ९ मा त्रिभुवन विमानस्थलमा सौर्य एयर विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने चालक बाच्न सफल भएका थिए।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। साउन २३ मा कतार एयरवेजको उडानबाट नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले ठूलो परिमाणको कोकिनसहित पक्राउ गरेको हो। उनीमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो साता सेयर बजार १०.७६ अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २२५५.६२ बिन्दुमा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चार कारोबार दिनमा एक दिन घटेर तीन बढ्दा १०.७६ अंकले बढेर २७६६.३८ बिन्दुमा अडिएको हो। गत साताको पाँच कारोबार दिन नेप्सेमा १८७.४९ अंकको वृद्धि भएको थियो। यो साता नेप्सेमा कुल ८२ अर्ब ६९ करोडको कारोबार भएको छ। गत साता नेप्सेमा कुल १ खर्ब १ अर्ब ५१ करोडको कारोबार भएको थियो।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह पुनः दोहोरिएका छन्। साउन २० मा प्रदेश प्रमुख नजिर मियाँले एमाले समर्थनमा शाहलाई दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त गरेका हुन्। पहिलो पटक २०७९ माघ २६ मा मुख्यमन्त्री बनेका शाहले गत वर्ष २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए। मुख्यमन्त्री शाहले साउन २१ मा ६ मन्त्रीसहित तीन राज्यमन्त्री सम्मिलित मन्त्रिपरिषद् गठन गरेका छन्। योसँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
प्रधानमन्त्री केपी ओलीले निर्माणाधीन काठमाडौं–तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्रयाक)को धेद्रे सुरुङ ब्रेक थ्रु (छिचोल्ने)को घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले साउन २१ मा मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन ब्रेक थ्रु गरेको नेपाली सेनाले बताएको हो। धेद्रे सुरुङ ब्रेक थु्रसँगै फास्ट ट्रयाकमा २ वटा सुरुङ दुवै लेनमा ब्रेक थु्र भएका छन्। धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थु्र भइसकेको छ। यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १.६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १.६३३ किलोमिटर लम्बाइमा दुई लेन ब्रेक थु्र भइसकेको छ। ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्।
लघुवित्त पीडितको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विकल्पसहितको प्रतिवेदन बुझाएको छ। साउन २२ मा अर्थमन्त्री पौडेललाई बुझाएको प्रतिवेदनमा वित्तीय संस्थाबाहेक अन्यलाई लघुवित्त कार्यक्रम चलाउन नदिने व्यवस्था गर्न सुझाइएको छ। प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ। लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० चैत २ मा ६ बुँदे सहमति भएको थियो। हाल मुलुकमा ५५ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ। साउन २४ मा बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको समिति सभापति विमला सुवेदीले बताइन्। विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला गृहमन्त्री रमेश लेखक नेतृत्वको कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साउन २३ मा बुझाइएको थियो। २०६३ मंसिर ५ को शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत संक्रमणकालीन न्यायका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइए पनि द्वन्द्वमा संलग्न नभएकालाई गरिएको हत्याका विषयमा माओवादीले विमति राख्दा हालसम्म विधेयक पारित हुन सकेको थिएन।
नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्। आगामी भदौ २४ देखि अनिवार्य अवकाशमा जान लागेका वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलले साउन २४ मा साउन २५ देखि कामु प्रधानसेनापतिको जिम्मेवारी रथी सिग्देललाई सुम्पिएका हुन्। सिग्देललाई बिहीबार प्रधानसेनापति शर्माले जंगीअड्डामा आयोजित समारोहमा प्रधानसेनापतिको कार्यभार बरबुझारथ गरेका थिए। सेनाको प्रचलित परम्पराअनुसार शर्मा शुक्रबारबाट बिदा बसेका छन्।