काठमाडौं । दोस्रो बजारबाट खरिद गरिएको सेयर बिक्रीमा नियामक नेपाल राष्ट्र बैंकले सीमा तोकेका कारण बैंक तथा वित्तीय संस्थाले सेयर किनबेचमा अझै रुचि देखाएका छैनन्। अहिले किनेको सेयर बिक्री गर्न एक वर्ष पर्खनुपर्ने प्रावधानका कारण बैंकहरूले जोखिम लिन नचाहँदा दोस्रो बजारमा सक्रियता नदेखाएका हुन्।
तथापि पछिल्लो समय बढेको बजारमा नाफा आधार हेरेर सेयर बेचिरहेको बैंकर बताउँछन्। खरिद गरेको एक वर्ष पुगेपछि प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने राष्ट्र बैंकको प्रावधान अनुशरण गर्नुपर्ने भएकाले बैंकले दोस्रो बजारमा सक्रियता नदेखाएका हुन्।
त्यसअघि प्राथमिक पुँजीको एक प्रतिशत मात्रै सेयर बेच्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकद्वारा जेठ १३ मा जारी परिपत्रमा भनिएको छ, ‘खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन्।’
सामान्यतया लगानीकर्ताले प्रचलित खरिद बिक्री प्रणाली (टी प्लस टु)अनुसार सेयर खरिद गरेको बढीमा ३ दिनमा बिक्री गर्न पाउँछन्। तर, बैंकहरूले खरिद गरेको सेयर एक आर्थिक वर्ष कुर्नुपर्ने बाध्यता छ, त्यो पनि सीमित मात्रै।
राष्ट्र बैंकले सेयर खरिदका लागि क्षेत्रगत सीमाबाहेक अन्य अवरोध नगरे पनि बिक्री सीमाका कारण बजारमा सक्रियता देखाउन नसकिएको बैंकरहरू नै बताउँछन्।
खरिद गरेको एक वर्ष पुगेपछि प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने राष्ट्र बैंकको प्रावधान अनुशरण गर्नुपर्ने भएकाले बैंकले दोस्रो बजारमा सक्रियता नदेखाएका हुन्। त्यसअघि प्राथमिक पुँजीको १ प्रतिशत मात्रै सेयर बेच्न पाइने व्यवस्था थियो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैंकले बिक्रीमा लगाएको ‘लकिङ पिरियड’ का कारण बैंकहरू नियमित कारोबारमा सक्रिय हुन समस्या देख्छन्। ‘१ प्रतिशतको सीमा २० प्रतिशत बनाए पनि एकवर्षे लकिङ पिरियड खारेज नगरेसम्म बैंकहरू पुँजी बजारमा सक्रिय हुन सक्दैनन्,’ सीईओ ढुंगानाले क्यापिटल नेपालसँग भने, ‘खरिद गरेको एक वर्षपछि पनि तोकिएको सीमामा मात्र बिक्री गर्न पाइने भएकाले जोखिम लिने अवस्था भएन। सेयर बजारमा तत्कालको निर्णय आवश्यक पर्छ। एक वर्षपछि अहिलेको सेयरको मूल्य कस्तो हुन्छ, बजार कता जान्छ, कसले अनुमान गर्न सक्छ?’
राष्ट्र बैंकले बैंकहरूलाई दोस्रो बजारमा कारोबार रोक्दा पुँजी बजारमा बैंकिङ क्षेत्रको ठूलो पैसा चलायमान हुनबाट वञ्चित रहेको सीईओ ढुंगानाको बुझाइ छ। ‘बैंकहरूलाई सेयर खरिद बिक्रीमा सीमा लगाउन आवश्यक छैन। हामीले एकवर्षे सीमा हटाएर कसले कति लगानी गर्छ, स्वमूल्यांकन गर्न दिनुपर्छ भनेका हौं तर भएन,’ ढुंगानाले भने।
गत आर्थिक वर्ष जेठसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न संघ–संस्थाद्वारा जारी गरिएका सार्वजनिक निष्कासनमा २ खर्ब ९६ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी गरेका छन्। त्यसमध्ये वाणिज्य बैंकले मात्रै २ खर्ब ८१ अर्ब ३९ करोड, विकास बैंकले ११ अर्ब २५ करोड र वित्त कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ सेयरमा लगानी गरेका छन्।
बैंकले खर्ब बढीको सेयर दोस्रो बजारमार्फत खरिद गर्ने तर तत्कालै बिक्री गर्न नपाउँदा सेयर खरिदका लागि ‘कन्फिडेन्ट’ नआएको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन्। ‘खरिद गर्न राष्ट्र बैंकको रोकतोक छैन तर बिक्री गर्न एक वर्ष कुरेर पनि सीमित मात्र बेच्न पाइन्छ,’ उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘नेपालको पुँजी बजारमा आउने तीव्र उतारचढावको स्थितिमा सेयर बिक्रीका लागि भएको एकवर्षे सीमाबीच बैंकहरू जोखिम लिएर कारोबार गर्न सक्दैनन्।’
राष्ट्र बैंकले २०७८ जेठ ११ मा परिपत्र जारी गर्दै बैंकहरूलाई खरिद भएको सेयर बिक्री गर्न एक वर्षको ‘लकिङ पिरियड’ लगाएको थियो। राष्ट्र बैंकले लगाएको त्यो सीमा पनि तत्कालीन समय उच्च गतिमा बढेको सेयर बजारलाई नियन्त्रण गर्ने अस्त्र बन्न पुग्यो। यद्यपि राष्ट्र बैंकले बैंकहरूलाई २०७९ असार मसान्तसम्म सेयर बिक्री गर्न एक वर्ष व्यतीत हुनु नपर्ने सहुलियत दिएका कारण करिब १३ प्रतिशतले पोर्टफोलियो घटाएका थिए।
खरिद गरेको एक वर्षपछि पनि तोकिएको सीमामा मात्र बिक्री गर्न पाइने भएकाले जोखिम लिने अवस्था भएन। सेयर बजारमा तत्कालको निर्णय आवश्यक पर्छ। एक वर्षपछि अहिलेको सेयरको मूल्य कस्तो हुन्छ, बजार कता जान्छ, कसले अनुमान गर्न सक्छ।
२०७८ असारमा बैंकहरूले २ खर्ब १४ अर्ब ३१ करोड सेयरमा लगानी गरेकामा २०७९ असारसम्म आइपुग्दा २७ अर्ब ७६ करोडले घटेर १ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ कायम भएको थियो।
२०८१ असार १७ देखि सकारात्मक दिशामा अघि बढेको सेयर बजार (नेपाल स्टक एक्सचेन्ज–नेप्से) लाई नियाल्ने हो भने त्यसयताका २८ कारोबार दिनमध्ये ६ दिन मात्र घटेको छ। कारोबार रकमसमेत बढेर पछिल्लो समय २० अर्ब माथि पुगिसकेको छ।
नेपाल स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा पछिल्लो समय बैंकहरूले सेयर खरिदको तुलनामा बिक्री बढी गरेको बताउँछन्।
‘लकिङ पिरियडले मूल्यमा आउने उतारचढावका कारण बैंकलाई सेयर खरिद गर्न समस्या भएको हुन सक्छ। तर, संस्थागत लगानीकर्ताले मूल्य जोखिम नहुने कम्पनीमा लगानी गर्नुपर्छ,’ अध्यक्ष सापकोटाले क्यापिटल नेपालसँग भने, ‘हामी सधैं पुँजी बजारमा संस्थागत लगानीकर्ता आउनु पर्छ भनिरहेका छौं तर राष्ट्र बैंकले आफ्नो नियमनमा भएका संस्थागत लगानीकर्तालाई रोकिरहेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई केही सहजीकरण गरिदिए बजारमा थप पुँजी भित्रिन्छ र चलायमान पनि बन्छ।’
बैंक तथा वित्तीय संस्थाजस्ता ठूला संस्थागत लगानीकर्ताले नियामकले लगाएको सीमा देखाएर लगानी नगर्दा समग्र पुँजीबजार प्रभावित हुने सापकोटाको भनाइ छ।