काठमाडौं। नामी–०१ र टाटा पन्च ईभी आगामी महिना हुने नाडा अटो शोबाट बिक्री सुरु हुने गाडी हुन्। यी दुवै गाडी नेपाल भित्रिसकेका छन्। नामी–०१ एमएडब्लु वृद्धि अटोकर्पले नेपाल ल्याएको हो भने टाटा पन्च ईभी सिप्रदी ट्रेडिङले ल्याएको हो।
ह्याचब्याक सेग्मेन्टमै आकर्षक फिचरसहित आएको प्रिमियम ह्याचब्याक नामी–०१ होङफोङको स्वामित्वमा बनेको चिनियाँ विद्युतीय गाडी हो। दुवै गाडी आगामी नाडा अटो शोबाट बिक्री हुने भएकाले कम्पनीले आधिकारिक मूल्य भने घोषणा गरेको छैन। भन्सार प्रयोजनको लागि नामी–०१ को मूल्य ३९ लाख ९० हजार रुपैयाँ उल्लेख गरेर आएको छ। यसको बिक्री मुल्य भने ३५ लाख आसपासमा रहने अनुमान गरिएको छ। तर, टाटा पन्चको भने सिप्रदीले मूल्य सार्वजनिक गरेको छैन।
यसलाई पनि कम्पनीले ३५ देखि ४० लाख रुपैयाँ भित्र मुल्य राखेर बिक्री गर्ने देखिएको छ। मूल्यका हिसाबमा टाटा पन्च र नामी–०१ बिच प्रतिस्पर्धा हुने देखिएको छ। मिडियम मूल्य रेन्जका यी दुई गाडीले मूल्यका कारण ग्राहकलाई आकर्षण गर्ने देखिएको छ। टाटा पन्च इभी अहिलेको लागि सर्ट रेन्ज (एसआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक मोडलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
ब्याट्री र मोटर क्षमता
नामी–०१ मा ३१.४ र ४२.३ किलोवाट अवारको लिथियम फस्फेट ब्याट्री प्याक छ। कम्पनीले यसमा दिएको ७० किलोवाट मोटरले अधिकतम ९९ हर्सपावर तथा १६० न्यूटन मिटर टर्क प्रदान गर्छ। कारको टप स्पीड पनि १४० किलोमिटर प्रतिघन्टा रहेको छ। टाटा पन्च ईभीको सर्ट रेन्ज मोडलमा २५ किलोवाटको ब्याट्री र लङ रेन्ज मोडलमा ३५ किलोवाट आवारको ब्याट्री प्याक दिएको छ।
पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ। यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ। त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्छ। यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा दिएको छ।
रेन्ज
यी दुई मोडलको रेन्ज पनि फरक छ। नामी–०१ नेपाल आएको भेरियन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसलाई एकपटकको फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
टाटा पन्च इभीमा भएको २५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर र ३५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ४२१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ।
चार्जिङ समय
नामी–०१ डिसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटरमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ भने टाटा पन्च इभी ५६ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ।
टाटा इभी पन्चलाई भारत एनक्याप क्यास टेस्टले सेफ्टी रेटिङमा ५ स्टार रेटिङ प्रदान गरेको छ। जसका कारण अटो शोमा यो गाडी मुख्य आकर्षण बन्नेछ।
आकार
नामी–०१ को लम्बाइ ४०३० एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएमको छ। यसमा २६६० एमएम लामो ह्वीलवेस दिइएको छ, जसले यात्रालाई आरामदायी बनाउन सहयोग गर्नेछ। टाटा पन्च ईभीको लम्बाइ ३८३० एमएम चौडाई १७४२ एमएम र उचाई १५७० एमएम रहेको छ। यसमा २४४५ एमएमको ह्वीलवेस दिइएको छ।
ग्राउन्ड क्लियरेन्स
नामी–०१ को ग्राउन्ड क्लियरेन्स १७६ एमएम छ भने टाटा पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ।
क्याबिन फिचर
नामी–०१ मा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रिन, ५ इन्चको फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, टु स्पोक मल्टी फङ्सनल स्पोर्टी स्टेरिङ ह्वील, इन्टेलीजेन्ट भोइस कन्ट्रोलजस्ता फिचर छन्।
यसमा ३२ भिन्न कलरको एम्बीयन्ट लाइट, वायलेस फोन चार्जर, वान क्लिक फ्ल्याट फ्रन्ट सिट छन्। २ वटा मात्रै एयरव्याग भएको कारमा एडास २.० फिचर पाउन सकिन्छ। साथै, ३६० डिग्री क्यामरा, पार्किङ सेन्सर लगायतका फिचर छन्।
टाटा पन्च इभीमा रिजेन लेबल कन्ट्रोल गर्न यसको स्टेरिङमा प्याडल सुविधा दिएको छ। १०.२ इन्चको इन्फोटेमेन्ट स्क्रिन, डिजिटल इन्ट्रुमेन्ट डिस्प्ले, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटर, भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर, सनरुफ, क्याबिन एयर प्युरिफायर, ६ एयर ब्याग, ६ स्पिकर हर्मन साउण्ड सिस्टमजस्ता फिचर पाउन सकिन्छ।