काठमाडौं। पेय ब्रान्ड कोकाकोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ। कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरणअन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो।
यो कार्यक्रमले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।
सक्षम एक्सिलिरेटर एन्ड मेन्टरसिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा महिला सहभागीबाट रोचक विचार र व्यवासायिक योजना प्राप्त भएका थिए।
कार्यक्रममा बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिल नाथले सक्षम एक्सेलेटर एन्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने कम्पनीको प्रतिबद्धतालाई निरन्तरता दिएको बताए।
कार्यक्रममार्फत छानिएका १० प्रतिस्पर्धीका योजनाले नवीन विचार र सफलताको सम्भावना बोकेको दाबी गरे।
अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (ईको रिभाइभ), श्रेया मल्ल (पाल) र श्रेया चोछे (चोछे– धुलिखेल) गरी योजनामा १० जना छनोट भएका थिए।
कार्यक्रममा नेपालमा कोकाकोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘ महिला सशक्तीकरण बलियो समुदाय निर्माणका लागि महत्त्वपूर्ण छ। सक्षम एक्सेलेटर एन्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाका लागि आशा र अवसरको ज्योति हो। छानिएका प्रतियोगी नेपालको आर्थिक र सामाजिक प्रगतिका कोसेढुंगा हुन्।’
एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कोकाकोलासँगको साझेदारीमार्फत युवा महिला उद्यमीलाई तिनको महत्त्वाकांक्षा वास्तविकतामा परिणत गर्ने अवसर सिर्जना गरिरहेको बताइन्।
कोकाकोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारी र एटेलियर प्लेटफर्मका संस्थापक गुरुङले छानिएका १० जनालाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमको निर्णायकमण्डलमा ब्लिट्ज मिडिया प्रालिका फाउन्डर एवं म्यानेजिङ डाइरेक्टर तथा स्टार्टअप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन जुना माथेमा, हर्वेद बोटानिकलकी फाउन्डर डा. प्रतिभा पाण्डे र कोकाकोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी थिए।